• मंसिर १२ २०८१, बुधबार

टेबल टेनिसमा बिनेशलाई ३ स्वर्ण

आश्विन ३१ २०७९, सोमबार

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी टेबल टेनिसमा नेपाल पुलिस क्लबका बिनेश खनियाँले तीन स्वर्ण जितेका छन् । उनले मिक्स्ड डबल, पुरुष डबल र टिम स्पर्धामा स्वर्ण जितेका हुन्।

सोमबार भएको पुरुष डबल्सतर्फ बिनेश र नेपाल नम्बर एक स्यान्टू श्रेष्ठको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीलाई ३-१ को सेटमा पराजित गरे। यो स्पर्धामा त्रिभुवन आर्मी र प्रदेश १ ले कांस्य जिते।

यसअघि आइतबार भएको स्पर्धामा पुरुष टिमतर्फ बिनेशसहित स्यान्टू, प्रदीप रोका, विपुल महर्जन र संयोग कपालीको टिमले फाइनलमा एपीएफलाई हराएर स्वर्ण जितेको थियो।

आइतबारै सम्पन्न मिक्स्ड डवल्सको फाइनलमा पुलिसका बिनेश र एलिना महर्जनको जोडीले फाइनलमा नारायण घिमिरे र स्वेच्छा नेम्वाङको जोडीलाई ३-२ को सेटमा हराएर स्वर्ण जिते। यो स्पर्धामा एनआरएनए र गण्डकी प्रदेशले कांस्य जितेका थिए ।