कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन् ।
नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पार्नुभएन तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन् । थारुले गएको असारमा काठमाडौंमा सम्पन्न ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएको भइन् ।
जयरानी नवौँको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताइन् । आफ्नो विधामा खेलमा प्रतिस्पर्धा कम हुने भएकाले समेत उनले सुधार गर्ने लक्ष्य राखेको बताइन् । उनले, “कीर्तिमान सुधार गर्दा धेरैनै खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ ।”
राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा भएकी आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाइन् । आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन् । “बुबा घरमा हुनुहुँदो रैनछ आमालाई फोनमा स्वर्ण जितेँभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौँ भनेर हौसला दिनुभयो ।” उनले भनिन्
राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । उनले भनिन्,“स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ ।” जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन् ।