• असार २० २०८१, बुधबार

राँझाकी ज्योतिष आमा !

आश्विन ३० २०७९, आईतवार

बर्दियाको बाँसगढी नगरपालिका–२ राँझाकी ७६ वर्षिया कमलादेवी केसी स्थानीय जनताको भरोसा बनेकी छिन् । उनले साधरण लेखपढ पनि गर्न पाइनन् ।

आफै कल्पना गरौं न, आजभन्दा ७६ वर्ष पहिले छोरी पढाउने चलन हुने कुरा नै भएन । सक्ने र हैसियत भएकाले पनि छोरालाई बाह्रखरीसम्म पढाउने र ज्योतिषसम्बन्धी चिना, टिप्पणी तथा पात्रो हेर्ने बनाउन सकेमा धेरै ठूलो काम गरेको मानिन्थ्यो ।

त्यसो त त्यतिबेला गाउँमा धेरै ठूलो शिक्षालय भनेको गुरूकुल प्रणालीमा आधारित शिक्षालय नै हो । गाउँमा गुरू राखेर गाउँलेहरूले पालेर आफ्ना छोराछोरी पढाउने चलन थियो ।

त्यति नै बेला सल्यान बडागाउँमा बुबा धर्मानन्द भट्टराई तथा आमा सुशीला भट्टराईको कोखबाट कमलादेवीको जन्म बि. सं. २००४ साल जेठ महिनामा भएको थियो ।

२०२१ साल मंसिरमा रूकुमको घुघुतेमा रेशम देवकोटा केसीसँग बिबाह भएपछि ज्योतिष आमा कमलाको परिवार २०२५ सालमा राँझा बसाइ सरेको थियो ।

सानोछँदा गुरूकुलमा राख्न नपाए पनि छोरीहरूलाई घरमा पढाउने र ‘आँखा देख्ने’ गराउने उद्देश्यले बुवा धर्मानन्दले कमलासहित ३ बहिनी छोरीहरूलाई घरमै दीक्षित बनाए ।

परिणामतः जेठी छोरी कमलाले अहिले ७६ वर्षको उमेरमा पनि पात्रो हेर्ने, चिना कोर्ने र ज्योतिषसम्बन्धी कामहरू सजिलैसँग गर्ने गरिरहेकी छिन् । मृदुभाषी ज्योतिष आमा गाउँकी अभिभावक पनि हुन् ।

घरमा आउने आफन्त, परपाहुना तथा गाउँले छिमेकीहरूका बारेमा कत्ति पनि झर्को नमानेर उनीहरूसँग घण्टौं गफिने र उनका विगत, वर्तमान तथा भविष्यका बारेमा आफूले देखेर जाने जतिका सबै कुरा भनिदिने गर्छिन् ।

अहिले उनीसँग १२ राशी सहितको राशीमाला, तोयानाथ पात्रो, बम्बई पुस्तक भवनले वाराणसीबाट प्रकाशित गरेको बाह्रकोठे बेलापञ्चाङ्ग, ३२ कोठा भएको शकुनौती र टिप्पणी गरिएका चिर्कटाहरू धेरै छन् ।

आफ्नो विषयसँग सम्बन्धित कुरा कसैले सोधेमा धाराप्रवाह रूपमा चित्त बुझ्ने गरी अथ्र्याइदिने उनी आफ्नै घरमा बसेर यी सारा काम गर्ने गरिरहेकी छिन् । आफ्नो विषयसँग कुरा मिल्ने प्रसँगमा उनी हाँसीहाँसी प्रसँग जोडर कुरा गर्ने गर्छिन् ।

सामान हराएमा शकुनौती हेरेर सामान लुकाइएको ठाउँ भनिदिने, राशी जन्म–नक्षत्रका आाधारमा नाम जुराइदिने, घरको जग हाल्ने साइत हेरिदिने र नयाँ घरमा सर्ने तिथिमिति हेरिदिने गर्छिन् ।

राशीमाला हेरेर राशीफल भनिदिने र यसो गर्दा स्थानीय विशिष्टतालाई पनि भरपूर सम्बोधन गरिदिने हुनाले स्थानीय सेवाग्राहीहरू निकै आभारी भएर फर्कने गर्दछन् । मानिसको शरीर पञ्चमहाभूत तत्वले बनेको हुँदा उसको चिना टिप्पणीमा पनि यसले ठूलो असर पार्ने गरेको हुन्छ ।

‘देशको ग्रहदशा सुधार गर्छौं’ भन्ने नेताहरूले देशकै विशिष्टता पहिचान तथा सम्बोधन गर्न नसक्नाले देश तथा जनताले दुःख पाइरहेका बेला बाँसगढी–२ राँझकी ज्योतिष आमाले भने सकेसम्म अरूको भलो गर्ने तर नसकेमा अरूको हानी नोक्सानी र कुभलो नचिताउने गरेकी छन् ।

आफ्नो सिप र क्षमतालाई पेसाको रूपमा अपनाउन नचाहे पनि सेवा र धर्मका लागि भने उनी अहोरात्र खट्ने गरिरहेकी छिन् । उनको यो काम सबैका लागि र सधैंका लागि सह्रानीय छ ।

अहिलेका १० कक्षा, १२ कक्षा वा बिए, एमए गरेका शिक्षितहरू पनि यो शिक्षा र विद्यासँग अछुत झैं बनेका छन् । कम्तिमा पनि ग्रह, नक्षत्र तथा पञ्चमहाभूत तत्वसँग सम्बन्धित कुराहरू विद्यालयका पाठ्क्रमहरूमा समेटिन सकेमा ज्योतिष शास्त्रबाट विमुख हुने अवस्था सिर्जना हुने थिएन ।

ज्योतिष शास्त्र खगोलशास्त्रसँग सम्बन्धित छ । यसले जीवित पृथ्वीका तरङ्ग, चुम्बकीय गुणदोष, वास्तु शास्त्र तथा जीवनपद्धतिसँग पनि सङ्गति राख्छ ।