काठमाडौं । अमेरिकी डलरको मूल्य पुनः बढेर नयाँ रेकर्ड बनाएको छ । १८ असोज शुक्रबार १ अमेरिकी डलरको विनिमय दर (बिक्री मूल्य) १३२ रुपैयाँ ६ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा पुगेको छ । २२ असोजको १ अमेरिकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ २ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४२ पैसा रहेको थियो । २५ असोजसम्म स्थिर रहेको डलरको मूल्य २६ र २७ असोजको लागि बिक्री दर १३२ रुपैयाँ १ पैसा र खरिददर १३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतीय रुपैयाँ (भारु) लगातार कमजोर बन्दै गएको छ । भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरका कारण नेपाली मुद्रा पनि हालसम्मकै कमजोर बनेको छ ।
९ असोज शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता लगातर बढ्दो क्रममा नै देखिएको छ । ९ असोज शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।
अगामी दिनमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारतसहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको जानकारहरु बताउँछन् ।
फेडल ब्याजदर बढाउँदा विशेष गरेर भारतमा रहेको अमेरीकी लगानी फिर्ता जाँदा भारु कमजोर बन्न पुगेको र जसले गर्दा नेपाली मुद्रा पनि कमजोर बनेको हो । मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।
यसका साथै रुस-युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको जानकारहरु बताउँछन् ।
डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको अर्थविदहरुको विश्लेषण छ । यसको साथै मुद्रास्फीति दाहोरो अंकमा पुग्ने विश्लेषण भइरहँदा डलरको मूल्यवृद्धिले मुऽास्फीतिमा थप चाप पर्ने पर्नेसक्ने अवस्था छ ।
डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम पनि हुने अर्थविदहरुको तर्क छ ।
यता रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने डलर महँगो हुँदा सकारात्मक प्रभाव पर्नेसक्ने जानकारहरु बताउँछन् ।