काठमाडौं । बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड तत्काल लागू नहुने भएको छ । यसअघि प्रदेशले यही असोज १ गतेदेखि नै नयाँ व्यवस्था लागू गर्ने तयारी गरिरहेको बताएको थियो ।
श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेश हेटौंडाका प्रवक्ता हरिहर पोख्रेलले असोज १ बाट बागमती प्रदेशका सबै यातायात कार्यालयहरूमा लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्ने तयारी गरिरहेको बताएका थिए ।
‘भनेजस्तो भएन । तत्कालका लागि फेरि स्थगित भएको छ । अब फेरि कहिलेदेखि लागू हुन्छ भनेर अहिल्यै भन्न सकिँदैन,’ पोख्रेलले भने । चुनावको माहोलका कारण मन्त्रीको व्यस्तता बढेकाले चुनावअघि यो व्यवस्था लागू हुने छाँटकाँट नदेखिएको उनले बताए ।
यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीणर् हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ । विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो तर कोभिड महामारीका कारण जेठदेखि लागू हुन सकेन ।
त्यसपछि मंसिरदेखि लागू हुने विभागले बताएको थियो । उक्त व्यवस्था मंसिर १६ गतेदेखि कार्यान्वयन गर्न केन्द्र सरकारले प्रदेशलाई पत्राचार गरेको थियो। तर पनि यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकेका छैनन् ।
कानुन स्पष्ट नहुँदा लामो समयसम्म अलमल भएको प्रदेश मन्त्रालयहरूले बताएका थिए । पछिल्लो समय भने गण्डकी लगायत केही प्रदेशमा यो व्यवस्था लागू भइसकेको छ । केही प्रदेश अझै अलमलमै छन् ।
ट्रायल उत्तीर्ण हुन शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था अनुसार नै कार्यालयहरूले परीक्षा सञ्चालन गरिरहेका छन् । लिखित परीक्षा पनि पुरानै प्रणाली अनुसार भइरहेको छ ।
नयाँ प्रणालीमा के व्यवस्था छ ?
निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ ।
निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क/ट), (ए/के) र वर्ग ’ख’ (बी) का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ । यो व्यवस्था अनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूणर्ाङ्कको प्रश्न सोधिनेछ । यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन् ।
लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ । सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ । निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् ।
यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो । तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ । अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ ।
ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल-स्कुटर, पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ । त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ ।
प्रयोगात्मक परीक्षा १०० पूर्णाङ्कको हुनेछ । यसको अंकभार यसप्रकार छ :
घुमाउरो आठ-२० अंक ।
साँघुरो फलेक-१० अंक ।
युटर्न-१० अंक ।
ट्राफिक संकेत-१५ अंक ।
बम्प्स (उबडखाबड)-१५ अंक । उकालो-२० अंक ।
परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन-१० अंक ।
यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः
घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ ।
एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ ।
युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ ।
ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ ।
उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ ।
एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ ।
सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ । यसो नगरे ३ अंक घट्नेछ ।
हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ ।
असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ ।
फेल हुने अवस्थाहरूः
एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा ।
एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा ।
ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा ।
सवारीको स्टार्ट बन्द भएमा ।
साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा ।
उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा ।
उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ ।