• मंसिर ११ २०८१, मंगलवार

दाँत र मुखको रक्षा

आश्विन २६ २०७९, बुधबार

दाँतको समस्याले मुख खोल्न नसक्ने, पिनास हुने, ट्युमर हुने, क्यान्सर हुने तथा दन्त अपांगता वा थोते भएको देखिन्छ । हाँस्न र बोल्नसमेत सङ्कोच हुन्छ । विश्व स्वास्थ्य संगठनको ७४औं महासभामा मुख स्वास्थ्यसम्बन्धी ऐतिहासिक सङ्कल्प पारित गरेको छ ।

सङ्कल्पमा सदस्य राष्ट्रहरूलाई मुखका रोग र अन्य नसर्ने रोगहरूका कारक तत्वहरू जस्तैः चिनीको उच्च प्रयोग, सुर्तीजन्य पदार्थको उपयोग, मध्यपानलाई कम गर्नतिर लाग्न अनुरोध गरेको छ । त्यस्तै, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिन, परम्परागत उपचारात्मक पद्धतिभन्दा रोकथामका उपायहरू अवलम्बन गर्न पैरवी गरेको छ ।

परिवार, काम गर्ने ठाउँ, विद्यालयजस्ता स्थानहरूमा मुख स्वास्थ्य प्रवद्र्धन गर्न जोड दिन, प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरूसम्म मुख स्वास्थ्यको उपचार समयमै सम्पूर्ण रूपमा गर्न समतामूलक रूपमा व्यवस्था गर्न पनि अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको अन्तर्राष्ट्रिय विज्ञप्तिअनुसार विश्वका ६.८ अर्ब जनसंख्यामध्ये ६ अर्ब दाँतको रोगबाट पीडित छन् । विश्वका अधिकांश मुलुकमा विशेषगरी स्कुल जाने उमेरका बालबालिका ९० प्रतिशत दन्तरोगी छन् ।

गाउँघरमा गिजासम्बन्धी रोग, त्यसपछि दाँत खिइने रोग, प्रमुख रूपा देखापर्छ भने सहरबजारमा दाँत किराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्र पर्छन् । दन्त सड्न, दन्त हर्षा, पाइरिया, दाँत सिरिङ सिरिङ गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र
मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र दन्त स्वास्थ्यमा देखा पर्ने प्रमुख रोगहरू हुन् ।

सामान्य रोगबाट उत्पन्न भएका जटिलता गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएको तथा दन्त अपांग वा थोते भएको पनि त्यतिकै भेटिन्छन् ।

मुख एक सानो अंग भए पनि मानव अस्तित्वका लागि मुखले ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै, शरीरको कुनै पनि अंग प्रत्यंग, कोषलाई आवश्यक पर्ने पौष्टिक तत्व, खाना वा नास्ताका रूपमा मुखबाट नै लिइने भएकोले नै मुखलाई शरीरको प्रवेशद्वार भन्ने गरिन्छ ।

मुखको समस्याको उचित निदान र उपचारले शरीरका अन्य प्रणालीका रोग, स्वास्थ्यलाई समेत निदान, निराकरण र उपचार हुने गर्छ । समयमै ध्यान नदिँदा दाँत तथा मुखका सामान्य रोगहरू तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गरी अंगभंग हुनुका साथै मृत्युवरण गर्नुपर्ने पनि हुन सक्छ । जति समय ढिलो भयो, त्यति नै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महँगो पनि पर्न जान्छ ।