• मंसिर १२ २०८१, बुधबार

नवौं राष्ट्रिय खलकुद : आइटिएफ तेक्वान्दोको प्रतियोगिता बागलुङमा

आश्विन २५ २०७९, मंगलवार

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुँदै छ। यही असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ।

गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लामा आयोजना गरिएको सो प्रतियोगिता अन्तर्गत आइटिएफ खेलको प्रतिष्पर्धा बागलुङमा गर्न थालिएको छ।

यही असोज २८ र २९ गते बागलुङ बजारको बाङ्गेचौर खेल मैदानस्थित कर्वड हलमा आयोजना गर्न थालिएको नवौं राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता बनाइएको आइटिएफका केन्द्रीय सचिव तथा बागलुङ नगर उपप्रमुख राजु खड्काले जानकारी दिए।

‘राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा पहिलो पटक हुँदैछ, त्यसमध्ये बागलुङे खेलाडीको रोजाई रहेको आइटिएफ खेल जिल्लामा हुँदैछ, हामीले प्रतियोगिताको तयारी तीव्र बनाएका छौं,’ उनले भने, ‘स्थानीय पालिका बागलुङ नगरपालिकाले स्थानीय व्यवस्थापनमा आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्दै छौं, प्रतियोगिताका लागि ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ।’

उनका अनुसार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो मुल व्यवस्थापन समिति गठन गरिएको छ। समितिले प्रतियोगितामा आएको खेलाडीको व्यवस्थापन गर्ने र उद्घाटन सत्रलाई भव्य बनाउने तयारी गरेको छ।

आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिष्पर्धा हुनेछ। प्रतियोगिता २१ स्वर्ण, २१ रजत र ५६ काश्य पदकका लागि प्रतिष्पर्धा हुने भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।