• मंसिर १७ २०८१, सोमबार

किन कराउँछ काफलपाक्यो चरी !

आश्विन २५ २०७९, मंगलवार

हामी सबैले चैत्रबैसाख महिनामा कापल पाक्यो चरी कराएको सुन्दै आएका छौं । चरीले काफल पाक्यो भनेपछि हामी काफल खान लेकतिर जानु पर्छ भन्ने मनस्थिति बनाउन थाल्छौं ।

लेकाली बस्तीका मानिस ढकियाडालामा पाकेका काफल टिपेर बेच्नका लागि बेँसीतिर झर्न थाल्छन् । माना र कचौरा तथा गिलासको नापोबाट काफल बिक्रि गर्छन् ।

काफल पाक्ने मौसममा काठमाडौं लगायतका सहरहरूमा पनि पाकेका काफल सडक किनारामा बेच्न राखेका हुन्छन् । काफल पाक्यो चरीले झैं ‘काफल खानुस्, काफल खानुस्’ भनिरहेका हुन्छन् ।

हामी मौसम अनुसारको फलफूल वर्षभरि खाइ नै रहन्छौं । तर काफल पाक्दा कराउने काफल पाक्यो चरीको कथाव्यथा भने कमैले मात्र सुन्ने र बुझ्ने गरेका छौं ।

एक पटकको कुरा हो, मानव जातिको पूर्णरूपमा विकास हुनु पूर्व हिमयुगको अन्त्य हुन लाग्दा हिमालयको मुनी रहेका पतझर बस्तीमा पनि बाक्लो हिउँ पर्न सुरू गर्‍यो । निभ्ने वत्तिको अन्तिम उज्याले भने झैं हिउँ यति बाक्लो पर्‍यो कि रूखविरूवा समेत मर्न थाले ।

चराचुरूङ्गी तथा जनावरका लागि यो वातावरण असैह्य थियो । जनावर बदलिँदो वातावरण अनुसार आफूलाई बचाउन र रूपान्तरित गर्नतिर लागे । त्यति बेला एउटा अग्लो बूढो रूखको टोड्कामा एक जोडी चरी बस्थे ।

पोथी चरी फुल पारेर भर्खरै ओथारो बसेकी थिइन् । सबैतिर हिउँ नै हिउँ भएकाले उनीहरूका लागि खानाको अभाव भयो । भाले चरो खानाको जोहो गर्न मुग्लान जानु पर्ने भयो ।

दुवैले एकआपसमा सल्लाह गरेर भाले चरोले मुग्लान जाने निधो गर्‍यो। एकाबिहानै दक्षिणतिर उड्न थाल्यो । त्यति नै बेला पोथी चरीले सोधिन्, ‘‘फुलबाट बच्चाहरू निस्किएपछि सोध्लान्, बाबा कहिले आउँछन् भनेर भनिदिने ?’’

भाले चरोले उड्दाउड्दै भन्यो, ‘‘काफल पाकेपछि ।’’ त्यसपछि ऊ भुरूरूरू उड्यो । आकाशमा कावा खाँदै दक्षिणतिर बेगियो । ओथारो बसेकी उसकी जीवन संगिनी चरीले आँखाको दृष्टि पुग्दासम्म हेरिरहिन् ।

समय बित्न के बेर ! ओथारोको समय सकियो । बच्चाहरू फुलबाट निस्किए । कोही बाबाजस्ता, कोही आमाजस्ता बच्चाहरू गुँडभरि भरिए । आमा खुशीले गदगद भइन् ।

बच्चाहरूले गुँड बाहिर आँखा तरेर हेर्न थाले । भोका बच्चाहरू कराउन थाले । केही दिनपछि हिउँ पनि पग्लिन थाल्यो । आमाले जाडो र चीसो वातावरणको वास्ता नै नगरी चारो चाहार्दै लिएर बच्चा हुर्काइन् ।

बूढो रूखमा पालुवा पलाउन थाले । दृष्टि छेकवार बन्न थाल्यो । बच्चा लुक्ने र खेल्ने गर्न थाले । उनीहरू आमासँग रमाउँदै बस्दै गर्न थाले । आमा पनि २४अ‍ैं घण्टा बच्चाको रेखदेखमा लागिन् ।

यो वर्ष कोरलिएका सबै फुलबाट बच्चा निस्किएका थिए । समय बित्दै थियो । एक दिन काग ती बच्चामाथि झम्टन आइपुग्यो । बच्चाकी आमा त्यहीँ भएकाले कागलाई चिथोरेर लखेटिन् ।

काग हारेर मुर्मुरिँदै भाग्यो । तर केही न केही समस्या अवश्य पार्नेछु भनेर बदलाभाव लिएर तिनीहरूको वरिपरि घुम्न थाल्यो काग। एकदिन आमा केही टाढा भएको मौका पारेर कागले ती बच्चालाई भन्यो, ‘‘तिमीहरूको बाबु खोइ, विनाबाबुका सन्तानहरू !’’

बच्चा अल्लमल्ल परे । आफूहरूलाई हुर्काइरहेकी आमा बाहेक बाबु पनि हुँदा रहेछन् भन्ने उनीहरूलाई ज्ञान भयो । उनीहरूमा कागले के कुरा गरेर दुख ल्याइदिँदैछ भन्ने चेत थिएन । तर उल्टो बाबु खोज्ने जिज्ञासा प्रवल बनेर आयो ।

त्यस दिन आमा फर्कने बित्तिकै बच्चाहरूले घेरेर अड्डी लिन थाले, ‘‘आमा ! हाम्रो बाबा खोइ ? कागले हामीहरूलाई दिनहुँ विना बाबाका बच्चा भनेर हेलाहोचो गरिरहन्छ । के हाम्रो बाबा हुनु हुन्न र ?’’

आमाले भारी मनका साथ भनिन्, ‘‘किन नहुनु, हुनुहुन्छ नि नानीहरू ! तर तिम्रा बाबा तिमीहरू जन्मनुभन्दा पहिले मुग्लान जानु भएको हो ।’’ आमा निकै असहज भएर बोलिन् । उनले यो कुरा बच्चालाई कहिल्यै पनि भन्न सकेकी थिइनन् ।

आज उनले यो सत्य बोल्नै पर्‍यो, उनका सन्तानका अगाडि । बच्चाहरूले फेरि जिज्ञासा राखे, ‘‘आमा उसो भए बाबा कहिले फर्कनुहुन्छ ?’’ आमाले सबै बच्चाको अनुहार नियालेर हेर्न थालिन् ।

आखिर भन्न करै लाग्यो । गहिरो स्वास तान्दै भनिन्, ‘‘काफल पाकेपछि ।’’ काफल पनि पाकिसक्यो । मानिस र अन्य चराचुरूङ्गी काफलका रूखमा पाकेका काफल खाँदै रमाउन थाले ।

तर बच्चाहरूलाई यो कुराले निकै सताउन थाल्यो । एक, दुई, तीन, चार गर्दै दिनहरू बित्न थाले । बाबा आएनन् । आमाले पनि अब त बाबा आउनुहुन्छ होला भन्न छाडेकी छैनन् । तर बच्चाहरूको बालो मन थामिएन ।

एक दिन उनीहरूले सल्लाह गरे, ‘‘शायद बाबाले काफल पाकेको खबर पाउनु भएन, हामीले जोड जोडसँग कराएर जहाँसम्म पुग्न सक्छौं, खबर गरौं ।’’ उनीहरूको सल्लाह मिल्यो ।

तर के भनेर खबर गर्ने ! उनीहरूलाई अप्ठेरो पर्‍यो । फेरि उनीहरू सबै आमाकहाँ गएर सोधे, ‘‘आमा ! बाबालाई के भनेर खबर गर्ने ? के भन्दा बाबाले मलाई नै बोलाएका हुन् भनेर थाह पाउनुहोला ?’’

आमाले खुशी मनका साथ भनिन्, ‘‘अरू के नै भन्ने र, काफल पाकेपछि आउँछु भन्नु भएको हो, ‘काफल पाक्यो’ भनेर बोलाऊ !’’ बच्चाहरू निकै खुशी भए । उनीहरूलाई लाग्यो, अब त बाबा पक्कै पनि आउनुहुन्छ होला ।

आमाको सुझावअनुसार उनीहरू कोही हिमाली भेगमा, कोही पहाडी भेगमा त कोही तराई भेगमा बाँडिएर आफ्ना बाबालाई खबर गर्न हिँडे । हिमाल, पहाड र तराईमा एउटै आवाज गुञ्जियो, ‘‘काफल पाक्यो !’’

हिमयुगको अन्त्यदेखि अहिलेसम्म हरेक वर्ष वसन्त ऋतुमा काफल पाकेको पाक्यैछ, कैयौँ युग बितिसकेको छ । तर ती चरीका पूर्खाबाबा अझैं पनि फर्किएका छैनन् ।

त्यसैले उनीहरूले हरेक वसन्तको आगमनसँगै आफ्ना हराएका बाबालाई यसो भनेर सूचित गरिरहेका हुन्छन्, ‘‘काफल पाक्यो !’’