• मंसिर २० २०८१, बिहीबार

आर्थिक अभावमा नखेल

आश्विन २४ २०७९, सोमबार

संघीय तथा प्रादेशिक प्रतिनिधिसभाका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेपछि देश अब यस वर्षको संघीय तथा प्रादेशिक आवधिक निर्वाचनमा होमिइसकेको छ ।

निर्वाचनमा भाग लिने राजनीतिक पार्टीहरू सबै जनताद्वारा गरिने मतदानको कठघरामा उभिइसकेका छन् । उनीहरूका लागि न्यायदाता न्यायाधीशका रूपमा जनताको हैसियत देखा परेको छ ।

सबै पार्टीका उम्मेदवार, नेता तथा कार्यकर्ता ‘निहुर मुन्टो’ लगाएर जनताका घरघरमा मत माग्न हिँडिरहेका छन् । घरदैलो चाहार्न थालेका पनि छन् । समय पनि छैन ।

सामाजिक सञ्जालहरू दुवैतर्फबाट रङ्गिएका छन् । उम्मेदवार र पार्टीहरूले पनि रङ्ग्याएका छन् । जनताले पनि टिकाटिप्पणी गर्दै रङ्ग्याएका छन् । जुहारी पनि चलेको देखिन्छ ।

तर कुनै पनि पार्टीका नेता, कार्यकर्ता तथा उम्मेदवार विचार र राजनीतिक विषयलाई लिएर गाउँ छिरेका छैनन् । उनीहरूसँग न त विचार छ, न त भिजन नै ! बरू पैसा लिएर जाने गरेका छन् ।

विचारको स्थान ग्लानी, कुन्ठा र आवेगले लिएको देखिन्छ भने राजनीतिको स्थान गालीगलौज र आरोप प्रत्यारोपले ! आफ्ना स्पष्ट योजना र कार्यक्रम केही पनि छैनन् ।

उता जनतामा विचार, राजनीति र नयाँ भिजनको खोजी भइरहेको छ । जनताले स्थानीय निर्वाचनमा भद्र विद्रोहको संकेत गरिसकेका छन् । स्वतन्त्र उम्मेदवारहरूले लज्जाजनक हारको नतिजा राष्ट्रिय पार्टीहरूलाई चखाइसकेका छन् ।

तथापि राजनीतिक पार्टीहरूमा आवश्यकता अनुरूप चेतको विकास हुन सकेको देखिदैन । उनीहरू बरू पैसाले राजनीति गरिने दाउँमा छन् । पैसाका लागि स्वदेशी उद्याोगपति तथा विदेशी शक्तिहरूसँग हात थापिरहेका देखिन्छन् ।

जनताले देशमा ठूलो परिवर्तन चाहेका छन् । नेताले सपना देखून् भन्ने चाहना बोकेका छन् । तर नेताहरू निर्वाचनमा जनताका भोट किन्ने पैसा हात लगाउन ‘याचक’को भूमिका निर्वाह गरिरहेका छन् ।

नेपाल र नेपाली जनताका लागि नियत र नियति दुवै मैत्री देखिदैनन् । यस्तो अवस्थामा अपेक्षाअनुरूप ठूल्ठूला सुधारका काम हुने संभावना पनि देखिदैन ।

घोषणापत्र कसैको पनि सार्वजनिक हुन सकेको छैन । यसले नेपाली राजनीति विचारशुन्य हुँदै गएको देखिदै छ । देश र जनता आर्थिक अभावमा बाँचिरहेका छन् ।

तर जनताले सपना देख्न भने छाडेका छैनन् । उता नेताहरू भने जनताका बीचमा रहेको समस्या हल गर्न भन्दा पनि त्यही अभाव र कमजोरीमा खेल्न खोजिरहेका छन् ।

अहिले पनि भोट किन्ने र बिक्रि गर्ने प्रक्रिया यो आवधिक निर्वाचनमा देखिने स्पष्ट छ । तर देश र जनताका लागि सोच्ने यदि कोही राजनीतिक नेता छ भने बुझ्नु जरूरी छ कि जनताको आर्थिक अभावमा खेल्नु राजनीति  होइन ।

राजनीतिका लागि विचार आवश्यक छ । कम्तिमा पनि पार्टीको घोषणापत्र लिएर जनताका बीचमा जाऊ !