एमाले नेता भीम रावलले यस पटक संघीय सांसद उम्मेदवारको टिकट पाएनन् । यो आवधिक निर्वाचनमा शायद उनी जनताका बीचमा जान र अनुमोदित हुनबाट बञ्चित हुन गए । त्यो पनि आफ्नै पार्टीका अध्यक्षको ‘तजविज’का कारण !
जिल्ला पार्टीले भीम रावललाई एकमतका साथ संघीय सांसद उम्मेदवारका लागि सिफरिश त गरेकै थियो । तर तजविजी अधिकारले धक्का दिएपछि उनी पछि परे । यो हालत प्रायः सबै पार्टीमा छ ।
एमालेले उम्मेदवार छनौट अरू पार्टीभन्दा पहिले नै गरेकाले भीम रावलले चर्चा पाए । यस्तोखाले हविगत माओवादी केन्द्रभित्र रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, रायमाझी, मणि थापाहरूले बेहोरिसकेका छन् । यो पुनः चर्चाको विषय बनेन ।
नेपाली कांग्रेसले गुट चल्न र चलाउन दिएको छ । त्यहाँ फरक मतलाई वैचारिक व्यवस्थापन होइन, सांगठनिक व्यवस्थापनमा थान्को लगाइएको छ । त्यसैलाई अल्पमत र बहुमतका रूपमा हेरिन्छ ।
नेपाली कांग्रेसभित्र ‘फरक मत’का रूपमा अटाएको कोइराला गुटले पनि संख्यात्मक प्रतिस्पर्धा त देखाएको छ, वैचारिक होइन । किनकि प्रजातान्त्रिक समाजवाद कसैको पनि ओंठमा छैन ।
एमालेमा भीम रावलको अवस्था त्यस्तै देखिन्छ । उनको पनि संख्यात्मक हिसाबले ‘अल्पमत’ मान्न सकिएला । तर पनि वैचारिक हिसाबले उनी एमालेमा फरक मत राख्दैनन् । यस अर्थमा उनी अल्पसंख्यामा छन् भनौ ।
उनै अल्पसंख्यामा रहेका भीम रावल आज उनकै पार्टी अध्यक्ष केपी शर्मा ओलीको तजविजी अन्यायमा परेका छन् । उनका समर्थकहरूले केही आवाज उठाए पनि त्यसको सुनुवाइ हुने देखिदैन ।
कुरा र प्रसङ्ग एमालेको उठे पनि पार्टी भनेको ‘विपरीतहरूको एकत्व’ भएकाले त्यसको भित्र ‘हेजेमोनी’ वा एक रूपता नहुने भन्ने कुरा अबका दिनमा किताबका पानामा मात्र सिमित हुने देखिएको छ ।
अलिकति पनि फरक मतको अभ्यास त कहाँ हो कहाँ, मत राख्नसम्म नदिएपछि अबको पार्टी त त्रेता युगका श्रीरामले मात्र चलाउन पाउने भए । फरक मत राख्ने सबै दैत्य भएपछि तिनको बध वा अन्त्य जरूरी हुने नै भयो ।
अबका दिनमा पार्टीभित्र फरक मत वा प्रतिपक्षको भूमिका रहेन । संसदमा एकलौटी सरकार खानका लागि ‘गठबन्धन’, पार्टीभित्र एकलौटी हाइहुकुमका लागि ‘तटबन्धन’, अर्को कुनै ‘वामदेव’ पार्टीभित्र पस्छ कि भनी लगाइने ‘बारबन्धन’ र जनता किन्नका लागि ‘गाँठबन्धन’ भए प्रजातन्त्र हुर्कने भयो ।
यो निषेधको राजनीतिले पार्टीभित्रबाटै प्रजातन्त्र सदाका लागि अन्त्य हुने अवस्था सिर्जना हुन गएको छ । पार्टीभित्र दुई लाइन संघर्षको नामोनिशान नै रहेन । यसले पार्टीमा अनावश्यक फूटको वातावरण सिर्जना गर्ने स्पष्ट देखिन्छ ।
एमालेबाट माधव नेपालको बहिर्गमन, माओवादी केन्द्रबाट बादलसहितको टिमको बहिर्गमन, कांग्रेसमा कर्ण मल्ल सहितको बहिर्गमनले पार्टीभित्रको प्रजातन्त्र निकै संकटमा परेको देखाउँछन् ।
जब पार्टीभित्रै प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यास नै छैन भने देशमा प्रजातन्त्रको कल्पना पनि कसरी गर्ने ? यसले नयाँ पुस्तालाई कान ठाडा बनाएर सोच्ने अवस्थामा धकेलेको छ ।
विचार, दर्शन, आदर्श र चिन्तन आदिजस्ता कुरा इष्र्या, बदला, कुण्ठा र हीन मनोग्रन्थीभन्दा धेरै माथि हुन्छन् । तर यी माथिमाथि रहने कुरा छुन र व्यवहारमा उतार्नका लागि मानिसमा सोच पनि माथिमाथिको हुनुपर्छ ।
नेपालमा यस्ता कुरा आदर्शमा गरिन्छ, देखाउनका लागि होइन, बरू भट्याउन, सुनाउन र फूर्ति छाँट्न गरिन्छ ! पार्टी नेताका लागि त यो एक शैली र व्यवहार नै बनिसकेको छ ।
राजनीतिज्ञ शायद नेपाली समाजका उच्चस्तरका मानिस होलान् । वा, हुनु पर्छ । तर तिनीहरू नै अहिले विचार, आदर्श र चिन्तन होइन, बरू गणेश, एकलव्य, हनुमान तथा जाम्मवन्त खोजेर हिँडिरहेका छन् ।
२१औं शताव्दीको यो कस्तो आश्चर्य ! अनि कस्तो विडम्वना !!