दशैंको रमाइलो र साथमा मिठो खानेकुरा,प्राय सबैलाई मनपर्ने गर्दछ । खानपानमा पनि मासुले दशैंको रौनक अझ बढी थप गरेको हुन्छ । दशैंमा विशेषगरी मासु खाने चलन बढ्दै गएको छ। अरु बेला पनि हाम्रो भान्सामा तरकारीको रुपमा मासु पकाउने चलन बढेर गएको छ । अरु बेलाको मासु र दशैंको मासुमा खास फरक नभएपनि दशैंमा मासुको परिकार विशेष मानिन्छ । ‘मासु नै नखाए के को दशै’ पनि भन्ने गरिन्छ । दशैं पर्वमा आफन्तजन तथा साथीहरूसँगको हुने भेटघाटमा खाइने परिकारले हाम्रो स्वास्थ्यमा असर गर्दछ । चाडपर्वका नाममा खाईने पोलेकोे र भुटेको मासु स्वास्थ्यका लागि हानिकारक हुनुका साथै यसले क्यान्सर रोग निम्त्याउने खतरासमेत रहेको चिकित्सकहरु बताउँछन् । दशैं उत्सव मनाउँदै गर्दा हामीले कस्तो खाना खाँदा स्वस्थ हुन्छौँ ? हाम्रो स्वास्थ्यको ख्याल गर्न हामीले योबारे सोच्नुपर्ने हुन्छ।
अनियन्त्रित खानपानले खासगरी मुटु, कलेजो, मिर्गाैला, फोक्सोमा समस्या देखिने सम्भावना रहन्छ । बोसोयुक्त मासु शरीरले पचाउन नसक्दा असर मिर्गौलामा पर्छ । मिर्गौला कमजोर बनाउँछ, फलस्वरुप पाचन क्षमता घट्छ । मिठाईका अप्राकृतिक रंग र फ्रूट जुसमा प्रयोग गरिने रसायनले ग्याष्ट्रिक, झाडापखाला, बान्ता र कलेजोमा एलर्जी हुनसक्छ । चाडपर्व केन्द्रित खानपानले कलेजो रोगी र मिर्गौलाका बिरामी बढाउँछ । रक्सी सेवनले शरीरमा सुगरको मात्रा घटेर हुने समस्या तथा ग्याष्ट्रिक हुनेहरूलाई त झनै समस्या हुन्छ । सुगरका बिमारीले गुलियो र चिल्लो बार्नुपर्छ । चाडपर्वमा खाइने खानेकुरामा बिरामीले विशेष ध्यान दिनुपर्दछ । बोसो धेरै भएको खानाले शरीरको तौल बढाउँछ । तारेका तथा बोसोजन्य खाना हत्तपत्त नखानु नै उत्तम हुन्छ । हरियो सलादजन्य खानेकुरा नपखाली खाँदा फूड पोइजनिङको समस्या पनि हुन्छ । रमाइलो गर्ने नाममा अत्यधिक मद्यपान र मासुले मानिसमा उत्तेजना, रिस र झर्को मान्ने जस्ता समस्या देखिन्छन् ।
सन्तुलित खानपाननै समस्याबाट बँच्ने एकमात्र उपाय हो । चिकित्सकहरू सन्तुलित भोजनलाई यसको सूत्र मान्छन् । चिल्लो मसालेदार खाना र मदिरा खाइहाले कम्तीमा तीन लिटरसम्म पानी पिउनुपर्छ । स्वास्थविदको अनुसार चाडबाडका बेला रातो मासु र मदिरा कम गर्नु नै रोगको प्रवेश रोक्नु हो । रातो मासुमा चिल्लो र बोसोको मात्रा बढी हुने हुँदा थोरै मात्र खान राम्रो हुन्छ । खाएको सबै खानेकुरा पच्छ भन्ने हुँदैन । खाना नपच्नु भनेको शरीरमा आवश्यक पोषण तत्वको अभाव भएर अस्वस्थ हुने संकेत हो । आवश्यकताभन्दा बढी मात्रामा खाना खानु, मसलायुक्त खानेुकराको सेवन तथा गलत खानपानका कारण पाचनतन्त्रले खानालाई सही तरिकाले पचाउन सक्दैन । पचाउन गाह्रो हुने खानेकुरा सेवन गर्दा हाम्रो पाचन प्रणालीनै कमजोर भइदिन्छ । जब पाचन प्रणाली कमजोर हुन्छ, सामान्य खानेकुरा पनि पचाउन गाह्रो हुने र पेट पोल्ने, ग्यास्ट्रिक हुने, पेट फुल्ने लगायतको समस्या निम्तिने गर्दछ । दशैमा खानपान गर्दा मिर्गौलाका बिरामीले पनि विशेष ध्यान दिनुपर्छ । मासुमा अत्यधिक मात्रामा हुने प्रोटिनले मिर्गौलाका बिरामीलाई फाईदा गर्दैन ।
चिकित्सकहरुका अनुसार दशैं अगाडि भन्दा पनि दशैं सकिए लगत्तै खानपानका कारण हुने उच्च रक्तचाप, हृदयघात, मुटुको धड्कन विग्रिएका विरामीहरु बढी आउने गर्दछन् । त्यसमा पनि मदिरा र मासुको अत्याधिक सेवनका कारण मुटु धड्कनमा अत्याधिक गडबढी आइ उपचारका लागि आउने विरामीको संख्या अत्याधिक हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरु चाडपर्वका बेला भान्सामा सकेसम्म मासु र चिल्लो पदार्थको प्रयोग कम गर्न सुझाव दिन्छन् । यस्ता खानाकुराले जोखिमको नजिक रहेका र लक्षण नदेखिएका रोगहरु निम्तिने सम्भावना रहने रहन्छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्क रोग, मृर्गौला रोग, मोटोपनको समस्याबाट पिडित भएका व्यक्तिले मात्र नभई स्वस्थ मानिसले पनि आफूले खाने खानपिनमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।