• असार २० २०८१, बुधबार

‘हाते भ्याकुम’का सम्राट जेम्स डाइसन

आश्विन २० २०७९, बिहीबार

बेलायतका धनी मानिस जेम्स डाइसनले आफूले गरेको आविष्कारलाई प्रवर्द्धन गरेर आफ्नो जीवनमा खुसी ल्याए । उनको आविष्कारलाई विशवभर एक आँधिमय अभियानका रूपमा लिइन्छ ।

तर उनी सुरूमा भने नामी आविष्कारक भने होइनन् । उनको स्कुलिङ पनि त्यस खालको थिएन । विद्यार्थीछँदा आर्टतिर झुकाव रहेका उनी लण्डनका रहेको रोयल कलेज अफ आर्टमा फर्निचर डिजाइन बारेमा अध्ययन गरेका थिए ।

उनले घरायसी काम पनि आफैं गर्दथे । एक दिन घरमा बढार्दा उनी वाक्क भए । कुनै धूलो बढार्ने सानो हाते मेसिन भएको भए कति सजिलो हुने थियो भनेर सोच्न थाले । यो वाक्कदिक्क र विकल्पको खोजीले उनलाई आविष्कारतिर डोर्‍यायो ।

त्यतिवेला ठूला र अजंगका भ्याकुमहरू बजारमा थिए । ती भ्याकुममा धूलो जम्मा गर्न भनेर ठूला ब्याग राखिएका हुन्थे । समाउन र बढार्नै बाह्र बजाउने खालका थिए । भ्याकुम लगाउनु भन्दा पनि भ्याकुम लगाउनु छ भनेर सोच्दा नै मानिस थाकिइसक्थ्यो ।

त्यति बेला बढार्न छाडेर डाइसनले त्यो ठूलो भ्याकुम खोलखाल पारेर पाटपूर्जा हेर्न थाले । यही सोच र व्यग्रताले डाइसनलाई नयाँ, सानो, सजिलो र ब्यागरहित हाते भ्याकुम निर्माण गर्न सहयोग पुर्‍यायो ।

यसले विश्व बजारमा हलचल मात्र ल्याएन । डाइसनको जीवनमा ठूलो उथलपुथल पनि ल्याइदियो । उनी विश्वका धनाढ्यमा गनिन थाले ।

तर यो भ्याकुम बनाउँदा उनले सजिलै बनाएका होइनन् । यसको निर्माणमा उनले निरन्तर ५ वर्ष बिताए । निर्माण गर्दा उनी ५ हजार १ सय २६ पटक बिफल भएका थिए । जब यो आविष्कार सफल भयो, उनी रातारात बजारमा विख्यात भए । उनको उत्पादनले बजार ढाक्यो ।

डाइसन आफै उत्पादक भए । उनको घर नै उत्पादन कम्पनी बन्यो । उनी संघर्षपूर्ण अभियानमा लागे । बजारमा प्रतिस्पर्धा थियो । तर यो नयाँ आविष्कार हुनुका साथै बहनीयता र सहजताका कारण हातहातै बिक्रि हुन थाल्यो ।

यो आविष्कारपछि डाइसन आफै मालिक, आफै इन्जिनियर, आफै उत्पादक, आफै बिक्रेता र प्रवर्द्धनकर्ता भएका थिए ।

यसले त अब डाइसनको विश्वमा साम्राज्य नै खडा गरिदियो । विश्वमा डाइसनको हाते भ्याकुमले बजार कब्जा गर्यो । समुद्रपार व्यापारमा डाइसन चर्चामा चुलिए ।

उनको अहिले प्याटेनट राइटबाट नै दिनमा खर्बौं डलर जम्मा भइरहन्छ । उनले अहिले भ्याकुम स्टाइलको निकै आरामदायी विद्युतीय कार पनि बजारमा ल्याएका छन् ।