• मंसिर १२ २०८१, बुधबार

यो दशैंमा टाढा बसेर म तिमीलाई सम्झिरहेछु

आश्विन १९ २०७९, बुधबार

क्यानडा । सात समुन्द्र पारी ११ हजार ८सय २२ किलोमिटर टाढा बसेर आजको दिन म तिमीलाई सम्झिरहेछु । निधारमा रातो टीका ,जमरा अनि परिवारको हरेक मान्छेको चेहेराको चमक सम्झिएर यतिखेर महसुस गरिरहेछु । तिमीमा कति शक्ति छ त्यो मलाई मात्रै थाहा छ । तिमीलाई चाहेर पनि भुल्न सकिदैन । म मनन मात्रै गर्न सक्छु ।

यो दुनियाँमा अक्सर मान्छेहरु बाध्यताले आफूलाई मन पर्ने मान्छे ,बस्तु र ठाउँबाट टाढा हुन्छन् तर मेरो कथा चाहिँ फरक छ । भनिन्छ नि कुनै पनि कुराको महत्व थाहा पाउन र बुझ्न अलि टाढा गएर बस्नु पर्ने रहेछ । जुन कुरा आफूमा हुँदैन त्यसको महत्व धेरै नै हुने रहेछ । धेरै कुराको महत्त्व बुझ्नलाई धेरै कुरा बाट टाढा बसेको छु । त्यसमा तिमी एक हौं ।

१२ तल्ले अपार्टमेन्टको आठौं तल्लाको ७२० नम्बर फ्लाइट भित्र बसेर म तिमीलाई सम्झिरहेछु । अनि तिमीसँग त्यो ठाँउ, आफ्नो मान्छेलाई पनि सम्झिरहेछु । म कमजोर त छैन तर केही क्षणको लागि आफैलाई थाहा नपाई म कमजोर महसुस गरिरहेको हुन्छु । सम्मान संस्कार र आत्मियता आफ्नासँग हुन्छ आफ्नो जस्तैसँग हुँदैन । झ्यालको पर्दा खोलेर हेर्छु । पर सिएन टावरको माथिल्लो भागमा बलेको झिलिमिलि बत्ति देखेर मलाई सधै दशैं आए जस्तो लाग्थ्यो तर आज लागेन । थाहा छैन किन आज मलाई त्यो टावरको झिलिमिलि फिका लाग्यो ।

कोठाबाट किचेनमा गएर चिया बनाउँदै गर्दा आमाले सेलराेटी हाल्न तताएको तातो तेलको बास्ना आयो । बाबाले खसीको खुट्टा आगोमा पोलेको बास्ना आयो । ति बास्ना सँगै मलाई दशैं आयो । हैन मलाई के सारो याद आएको सानो बुवाको हतार अनि आन्टीको समयमा खानेकुरा बनाउन सकिन्छ कि सकिदैन भन्ने डर । बैनीहरुलाई कोठा सजाउँदै गर्दा को हतारो । अनि टन्न मान्छेहरुको भिड किन एकाएक सबै कुरा मेरो आखाँ अगाडि नाचिरहेछ । हामीलाई विहानैदेखि कस्तो हतार हुन हुन्थ्यो भने त्यो दिनको सुरुवात नै फरक र बास्ना नै फरक आउने । धेरै पाए पनि केही नगुमाए जस्तो सबै आफ्नै जस्तो । आफैले जिते जस्तो हुने । आहा क्या रमाइलो दशैं !!

समयसँग सबै कुरा परिवर्तन हुनेत हो हैन र । हामीले सबै परिवर्तनलाई सहर्ष स्वीकार्न सक्दैनौँ । हामीलाई परिवर्तनसँगै खुसी पनि चाहिन्छ तर सबै परिवर्तनहरुमा खुसी भने पाइदैँन । खैर टाढा बसेर विगत याद गर्नुको पनि बेग्लै मज्जा हुन्छ । त्यो दिनको ति आफ्नाको महत्व पनि त थाहा हुन्छ हैन र ? मैले सपनाको शहर पाए ,मैले सपनाको शहरमा रमाउन पनि पाए तर पनि कुनै न कुनै विशेष समयमा विशेष मान्छेहरुको यादले केही पल खल्लो बनाइदिन्छ ।

हामी जित्ने प्रयास गर्दागर्दै कैयौं पटक आफैँ सँग हराइरहेका हुन्छौं । त्यो जीतको महत्त्व पनि खासै हुदोरहेनछ जुन जीतको उत्सव मनाउन तिमी आफुमात्रै हुन्छौ । मन बहकिन्छ अनि आफुलाई सम्हाल्न गाह्रो हुन्छ । खैर जीवन हो जसरी पनि जीउन पर्छ खुशी हुँदा ,खुशी बाड्न पर्छ ! दुखी हुँदा दुख काट्न पर्छ यो जीवनको रित हो । हामी टाढा छौं त्यसैले खुशी छैनौै तर हामी आत्मीय छौ त्यसैले खुशी हुनेछौ । खैर म यो भीडभाड शहरमा पनि आफूलाई किन एक्लै भेटिरहेको छु। रातो टीका र हरियो जमराको कति धेरै तलतल ! म संगत समय छैन लेख्न भने धेरै मन छ । खैर यो पटकको लागि मेरो दशै भीडभाड शहरको सुनसान कोठामा बिगतको दशै याद गर्दै मुस्कुराउदै बित्ने छ । तर, दशैले भने सबैलाई नयाँ जोस,जाँगर र उमङ्ग दिने छ भन्ने कुरामा ढुक्क छु । तपाईं सबै जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ त्यसरी दशै मनाउनु होस । तपाई सबैलाई दशैको शुभकामना ! मीठो माया अनि धेरै सम्झना ।