नयाँ उत्साह र उल्लास दिने चाड हाम्रा घर वरिपरि आइसकेको छ । १५ दिन लामो चाडको उत्कर्ष हो अष्टमी, नवमी र दशमी । नवरात्रिको विशेषपक्ष हो महाअष्टमी ! दसैंँको उत्कर्ष अष्टमीदेखि नै सुरु हुन्छ । महाअष्टमीका दिन पूजा गरिने देवी हुन् महागौरी ! यसदिन घरघरमा पशुपन्क्षीको वलि दिने चलन देखिन्छ । शक्तिपीठहरुमा रगतको आहाल नै देखिन्छ ।
अघि असुरहरुले महादेवीप्रति जाइलाग्दा महिष मार्दिनी देवीले असुर दैत्यहरुलाई मार्न लाग्दा भागी ज्यान वचाउने क्रममा पशुपन्क्षींका रुपमा रहन लागेको र तिनलाई नै भए पनि खोजी खोजी मार्ने क्रममा पशुपन्क्षी वध गरी वलि दिई देवीलाई खुसी गराउने चलन चलेको देखिन्छ । वलिदिने क्रममा दुर्गापूजापछि बोकालाई जलसेचन गरिन्छ । बोकालाई पूजा गर्दै धूप, दीप, नैवेद्य गरेर बोकाको प्रार्थना गर्दै उसलाई मोक्ष गराउने क्रममा दाहिने कानमा ३ पटक मन्त्र श्रवण गराइन्छ ।पशुपाशबाट मुक्ति प्राप्त गराउने सो मन्त्र प्रदान गर्दै खड्गपूजापछि बोकालाई पर्साउने गरिन्छ ।
छागवलीको संकल्प राजसम्मान, दीर्घायु, वल प्राप्तिका लागि हे देवी दुर्गा तिमीलाई यो बोकोवलि अर्पण गर्दछु भनी प्रतिज्ञा गरिन्छ । सात्विक पूजामा संलग्न व्यक्तिहरुले पशुवलि नदिई कुभिण्डाको अथवा वेलको फल अर्पण गर्नुपर्ने विधान रुद्रयामलमा पाइन्छ । मांसाहार नगर्नेहरुले मूला, घिँरौला , कुभिण्डो, नरिवल, वेल आदि अर्पण गरेर वलिको पूर्णता गर्न सकिन्छ ।
महाअष्टमीका दिन दसैंँ कोठामा शुद्ध आसन, पूजासामाग्री तयार गरी पायस फलफूल , बस्त्र, सौभाग्य, नैवेद्यसहित दुर्गाको ध्यान गर्दै जयन्ती, मङ्गला, काली आदि देवीका विशेष नाम उच्चरण गर्दै देवीको वन्दना गर्नुपर्छ ।अष्टमातृकाको पूजासहित, विशेष देवीमन्त्रले हवन, भैरवको पूजा आदि गरिन्छ ।
अष्टमीकै रात्रिमा कालरात्रि गर्ने चलन पनि रहेको छ । कालरात्रि गरी पूजा गर्दैै भोलिपल्ट महानवमीका दिन बिहान सयौंँ राँगाहरुको वलि दिने चलन रहेको छ । राँगालाई महिषासुरको रुप मानिन्छ । अघि महामाया देवीप्रति दानवहरु मोहित भएछन् । शुम्भ, निशुम्भ आदिले देवीप्रति बिहेको प्रस्ताव राखेछन् ।
दानवसंहारको क्रममा रहेकी देवीले यसै मौकामा युद्धमा विजय गर्नेसंग बिहे गर्ने मेरो संकल्प छ भन्ने प्रस्ताव राख्नु भएकाले सवैजसो दानवहरु युद्धमा होमिदै आफूमा अन्त्य भएछन,कोहि भाग्न लागेछन् । भाग्ने र आपूलाई वचाउने क्रममा राँगा, बोका, कुखुरा जस्ता पशुपन्क्षीको रुपमा प्रवेश गरेको वुझी नवमीका दिन देवीले यी सवैलाई खोजेर मार्न लागिछन् ।
देवीको आर्को नाम मोहिनी पनि हो सवैलाई मोहित पारी असुर वध गरेको सम्झना स्वरुप महाअष्टमी, महानवमीमा खास गरी शुभ विजय उत्सवको रुपमा मान्ने चलन चलेको देखिन्छ । महिषासुर नामक राक्षस राँगोको रुप लिई युद्ध गर्न आएको र उसलाई पनि देवीले सखाप पारिदिएको संझनामा राँगाको वलि दिने र पशुपन्क्षीको रगत देवीलाई अर्पण गर्ने गरिएको हो ।
बडादसैंँको उत्कृष्ट चाडको रुपमा घरघरको जमरा कोठामा विशेष पूजा, वलि दिने चलन अनुसार पूजा सम्पन्न गर्दैै अष्टमी, नवमीका दिन सुविधाअनुसार घर, कार्यालयमा रहेका सवारी साधनहरुको विशेष पूजा एवं वलि दिने गरिन्छ । अष्टमीको अर्को पक्ष छ तलेजुभवानीको विशेष पूजा ! भक्तपुरस्थित तलेजुमन्दिरमा यसदिन विशेष भीडभाड हुन्छ ।
दुर्गाको रुपमा पूजा गरिने यी देवीलाई ८४ प्रकारका नैवेद्य कालरात्रिमा चढाई विजयादशमीका दिन प्रसाद ग्रहण गर्ने चलन छ । महाअष्टमीकै दिन काठमाडौँको तलेजुमन्दिर पनि सवैका लागि खुल्ला हुन्छ र नवमीका दिन सयौँ राँगाको वलि दिइन्छ । वैदिकसाहित्यमा भवानीलाई भवरोगनाशिनीदेवी भनिएको छ । भय दूर गर्ने भवानीको उदय अष्टमीकै दिन भएको मानिन्छ ।
चैत्रशुक्लअष्टमीमा उत्पत्ति भएकी भवानी आश्विनशुक्लअष्टमीमा भगवतीको रुपमा उदय भएको मानिन्छिन् । सम्पूर्ण संसारको कार्यकारी शक्तिलाई हातमा लिएकी भगवती सामु कालखण्डका सम्पूर्ण देवता, सुर, असुर, जीव र जगत् एउटा खेलौना समान भनी देवीभागवतको प्रारम्भिक वन्दनामै व्याख्या गरिएको छ ।
सप्तशतीचण्डीमा देवीका ब्राह्मी, वैष्णवी, कौमारी, बाराही, महेश्वरी रुपको चर्चा भएको छ । उनका शक्ति र कार्यवारे विस्तृत चर्चा गर्न निकै कठिन छ ।
संसारको उत्पत्ति, स्थिति र प्रलय उनैबाट हुने गर्छ । प्रकृति र पुरुषरुपी यो संसारको संहारपनि उनैबाट हुन्छ । देवताहरु सामु प्रर्थनाबाट खुसी भएकी देवीले आफूमा ब्रह्मस्वरुपिणी भएकीले सर्वत्र एकछत्र शक्तिका रुपमा उनलाई हेर्न भनेकी छिन् ।
उनका २ प्रमुख स्वरुपमा सवै जीवमा चित्स्वरुप परासत्ता र सवै पदार्थमा जड्स्वरुप अपरासत्ता स्वीकार्न भनेकी छिन् । दानवहरुमाथि विजय प्राप्त गेरकी देवी देवताहरुलाई ब्रह्म सत्ताको बोध गराउँछिन् । सम्पूर्णमा तेज, ओज र वैभव दिने देवी दुष्टहरुका लागि दुवुद्र्धिका रुपमा र सज्जनहरुका लागि सुकीर्तिमा स्थापित हुन्छिन् ।
शास्त्रहरु प्रतिकात्मक हुन्छन् । सप्तशतीमा वर्णित रक्तवीज मानवमा भएको रक्तदोष हो । रक्तचाप, अनेकौँ विकार, कुण्ठा र वैमनस्याताहरु एकपछि अर्को वढ्दै जान्छन् । शुम्भ र निशुम्भ मान्छेको शंका र उपशंका हो । महिषासुर शरीरको बडप्पन, मान, पद, प्रतिष्ठाको बडप्पन हो, चण्ड र मुण्ड मानिसका आवेग, तनावहरु हुन् । धुम्रलोचन आँखाको दृष्टिभ्रम हो, अज्ञानताको पर्दामा ढाकिदा ज्ञानरुपीे दिपज्योति प्रकाशित हुन सक्दैन ।
ज्ञान, विवेक, संयम र तनावरहित जीवनबाट आवेग, क्रोध, इष्र्या, वैमनस्यताहरु हटेर जान्छन् । आसुरीप्रवृत्तिहरु हट्छन् । यी सवैको वलिदान साँचो वलिदान हो । वलिदान भन्नाले त्याग हो, आत्मसमर्पण हो । क्रोध, आवेग, तनाव, चिन्तारुपी बोको बुद्धिको वलिदान हो । दुर्वुद्धिको वलिदान हो ।
रगतका थोपाथोपा शुद्धीकरण गर्दै समाजप्रति समर्पण हुनु भनिएको हो । मानवमा भएका ती दुर्वलताहरुलाई वलिदान गरी प्रेम, सदाचार, भाइचारा स्थापित गर्नु हो । घरघरमा वा शक्तिपीठहरुमा वलिदान गर्नुपर्ने हिंँसा र क्रोध नै हो । अष्टमी, नवमीको संकेतले जीवनको असी, नव्वे वर्षको संकेत गर्छ ।
यतिवेला जीवनमा वाँकी रहेका सवै आसुरी भावको वलिदान गरी मोक्ष प्राप्तिको प्रयासका लागि देवीको उपासना भनिएको हो । अर्को कुरा महागौरीको पूजाको संकेत जीवनको ८०/९० को समयमा पुनः गौरी अर्थात् वाल्यभाव जस्तो हिर्दय कोमल हुन्छ भनिएको हो ।
कलकार्खानामा विश्वकर्मा पूजा, वाहन, मेशिन, हात्ती, घोडा आदिको पूजा गरी आवश्यकतानुसार वलिदिने कार्य प्राय नवमीका दिन गरिन्छ । कन्यापूजा पनि प्राय यसै दिन गरिन्छ ।
जमरा कोठामा भगवती सिद्धिदाताको विशेष पूजा गरी सम्पूर्ण रुपमा सिद्धि प्राप्ति होस् भन्ने प्रार्थना गर्दै भोलिपल्ट सर्वत्र विजयको शुभकामना आशीर्वाद प्रदान गर्ने शक्ति सक्षमता प्राप्त हुन्छ । नवरात्रिभरि पूजा गरेको दसैंँघरमा विजयादशमीका दिन देवी अपराजिताको विशेष पूजा गरी सप्तशतीपाठको अन्तिम अध्याय क्षमाप्रार्थनासमेत गरिन्छ ।
पूर्णपात्र, हवनादि कार्य सम्पन्न गरी विसर्जन पूजापछि आफ्ना मंगलकारी इष्टदेव, कुलदेव, पितृदेवहरुलाई रातो दही अक्षता, फूल, दुवो, जमरा अर्पण गरिन्छ । अघि भित्र्याइएको फूलपाती विसर्जनपछि गुरु, पुरोहित मान्यजनका हातबाट मूलघडाको जल अभिषेक गर्दै मंगलसूचक टिकाप्रसाद वितरण आरम्भ गरी विजयादशमीको उपासना पूरा हुन्छ । सर्वत्र शुभकामना, हर्ष, कल्याणको कामना गर्दै प्रसाद वितरण गरिन्छ ।
पुरुष जातिलाई टिका लगाउँदा अश्वत्थामाको जस्तो आयु, दशरथको जस्तो श्रीऐश्वर्य, रामचन्द्रको जस्तो शत्रुविजय, नहुषको जस्तो ऐश्वर्य, वायुकोझैँ गति, दुर्योधनकोझैँ सम्मान, भीष्मकोझैँ शुरता बलरामकोझैँ वीरता, युधीष्ठिरकोझैँ सत्यता, विदुरकोझैँ विद्धत्कला र भगवान् नारायणकोझैँ कीर्ति होस्, चिरायु रहोस् पशुवाहनादि, हात्ती घोडा वढून, धन्यधान्यले पूर्णभई भगवान्मा स्थिर भक्ति लागोस् भन्ने शुभकामना दिई प्रार्थना गरिन्छ ।
स्त्रीहरुलाई टिका करिव उस्तै हो र पनि देवी कालरात्रिका रुपमा रहेकी, जयन्ती र मङ्गला अनि भद्रकालीरुपी, दुर्गा, क्षमा, स्वाहा र स्वधादेवी तिमीलाई वन्दना गर्दछु, विजय रहोस्, सामथ्र्य प्राप्त होस् भन्दै स्तुति गरिन्छ ।
यसरी मान्यजनबाट विधानले टिकाप्रसाद लगाइने र यसरी टिकाप्रसाद दिने सामथ्र्य राख्ने दसैंँ पूजा विधानमा त्रुटि भयो भने, निश्चय नै मनोकामनाहरु पूर्ण हुँदैनन्, सिद्धि प्राप्त हुँदैन । विजयादशमीलाई टाढा रहेका आफन्तको भेटघाट र संयोगको रुपमा पनि लिने गरिन्छ ।
मुलुकको भौगोलिक बनावट, टाढारहेका आफन्तहरुकोसमेत ध्यान राखी दसैंँको जमरा, प्रसादग्रहण गर्ने समय झण्डै कोजाग्रतपूर्णिकादिनसम्म कायम राखी दसैँंलाई १५ दिने लामो समयपछि विसर्जन गर्ने गरिएको पाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि १५ दिनसम्म वडो धूमधामसहित बडादसैंँ पर्व मान्ने चलन मल्ल कालदेखि नै भएको कुरा गोपाल राजवंशावलीमा पाइन्छ ।
मल्लाराजाहरुले खड्ग स्थापना गरी देवी साधना गर्ने गरिएको इतिहास पाइन्छ । चाडहरुमा सवैभन्दा ठूलो रहेको दसँैंले सवैमा एकता, सद्भाव, स्नेह र मित्रता कायम राखी पुरानो कल्मषलाई हटाई नयाँ ऊर्जा दिने परम्परागत मान्यता नै हो ।
दसैंँको रौनक कोजाग्रत पूर्णिमासम्म रहन्छ । कोजाग्रतपूर्णिमाका दिन स्थापित जमरा सेलाई साँझ महालक्ष्मीको पूजा सम्पन्न गरेपछि दसैंँ पर्व समापन हुन्छ ।
घरघरमा को को जागाछन् र तिनलाई धनको वर्षा गराउन योग्य छ भनी स्वयँ देवी महालक्ष्मी हरेकका घरघरमा आई हेर्ने र परापूर्वकालमा गरीवका घरमा पसी धनको वर्षा गराएर गएकी र सो गरीव व्यक्ति सो दिन रातमा जागा रहेका समय परेकाले सो दिनदेखि कोजाग्रतपूर्णिमा अर्थात् को जागै छ भन्ने नामकरण हुँदै हालसम्म सो दिन विशेष धनधान्यकी प्रतिक महालक्ष्मीको पूजाआजा गर्ने चलन रहेको छ ।