• मंसिर ११ २०८१, मंगलवार

दशैंमा दुई रूपैयाँको खुशी

आश्विन १८ २०७९, मंगलवार

हिन्दुको महान चाड दशैं पर्व मनाइरहदा बाल्यकालमा मनाइएको दशैं याद आउँछ। सानो छदाँ दशैं निकै रमाइलो हुन्थ्यो । बुबाले कृषि सँगै गाउँमा कपडा पसल गर्नुहुन्थ्यो । बर्षमा कम्तीमा दुई पटक नयाँ कपडा लाउन पाईन्थ्यो। धेरै साथीहरू बर्षमा एक पटक दशैंमा मात्रै नयाँ कपडा लाउन पाउँथे । ती साथीहरू हामीलाई धनी भन्थे तर मेरो बुबा भन्दा धेरै सम्पत्ति भएका अरू थिए।

नयाँ कपडा लाएर दशैंमा गाउँमा, मामाघर र मेलामा जाँदा निकै खुशी लाग्थ्यो ।तर त्यो बेला फेन्सी कपडाको खासै चलन थिएन। काँचो कपडा बालिघरे दमाई बाजेले सिलाइ दिनुहुन्थ्यो । दमाई जातीमा कपडा सिलाउने सीप र पञ्चे बाजा बजाउने सीप निकै राम्रो हुन्छ। प्रति कपडा सिलाए बापतको ज्याला नपाएर बालिघरे प्रथाका कारण यो समुदाय आर्थिक रूपमा कमजोर देखिन्छ । बालिघरे प्रथा भनेको बर्ष दिनभरि कपडा सिलाए बापत एक दुई मुरी अन्न ज्यालाको रूपमा दिनेरलिने चलन हो ।

दशैंको पहिलो दिन घटस्थापनामा आमाले पुजापाठ पछि जमरा राखेपछि हामीलाई दशैं आएको थाहा हुन्थ्यो । दशैंमा नयाँ कपडा लाउन पाउने रहर हुन्थ्यो । हाम्रो घरका कपडा सिलाउने सल्यान मर्मकोट नजिकै कोटबारामा रने दमाई हुनुहुन्थ्यो । मर्म कोटबारामा खासगरी दमाई बस्ती छ। कहिले घरमै आएर दशैंका कपडा सिलाइ दिनु हुन्थ्यो भने कहिले कपडा लिएर आफ्नो घरमा सिलाएर ल्याइदिनु हुन्थ्यो ।

दशैंमा सबैका कपडा सिलाउने चापले होला एउटा दशैंमा मेरो नयाँ कपडा दशैंको सप्तमीसम्म पनि सिलाएर पठाइ दिनु भएन। दशैंको अष्टमीमा घरको पुजापाठ तथा बोका बलि दिई आफन्त सँगको रमाइलो छोडि नयाँ कपडा लगाउने रहरमा दमाई बाजेको घर गएको थिए। अष्टमीको दिन भरि पनि कपडा नसिलाइ दिए पछि त्यो दिन तिनै रने दमाई बाजेको घरमा बास बसे।

मेरो नयाँ कपडा लाउने रहर देखे पछि भोलि पल्ट नवामीमा १२ बजे तिर कपडा सिलाई दिनु भयो। दमाई बाज्यैले दिएको रोटी र सिमीको तरकारी खाँए।अनि दमाई बाजेको कार्य व्यस्तताले आइरन नगरेका कपडा लाएरै मर्मकोटको कालरात्री मेलामा खुसीले फुरूङ्ग हुदै गए। त्यो दिन याद निकै आउँछ ।दशैंका स्थानीय मेला मर्मकोटको कालरात्री मेला, कालागाउँको कोट मेला, सल्यानको ठुलो मेला कुमाख मेला जान खुव रमाइलो लाग्थ्यो ।

अहिले पनि जान मन लाग्छ,तर कामको शिलशिलामा बसाइँ टाढा भएर नियमित जान पाइएको छैन। साथीभाइ, दशैंको माहोल, ती पहाड डाँडापाखा, पिपल चौतारीहरू, नाचगान याद ताजै भएर मानसपटलमा आउँछ ।एकपटक गाउँको कालरात्री मेला जाँदा बुबाले मलाई दुई रूपैयाँ मेलाखर्च दिनु भयो। म साह्रै खुशी भएर उफ्रिदै मेला गएको याद छ। त्यतिबेला म चार कक्षामा पढ्थे।

साथीहरू सँग मेला जाँदा बाटोमा कसले कति पैसा ल्याएको भन्ने कुरा हुँदा मैले दुई रूपैयाँ ल्याएको भनेर साथीहरूलाई सुनाए।सबभन्दा बढी मेलाखर्च लिने म थिए।अरू साथीहरू सँग पचास पैसा मेला खर्च हुँदा म सँग दुई रूपैयाँ थियो। म सँग धेरै रूपैयाँ भएको हुदा खुशीले मेरा खुट्टा भुँइमा थिएनन। मेलामा जेरी, सुन्तला, बदाम, केरा, पिपलमेट चक्लेट,आदि खान पाइने आशमा धेरै साथीहरू मेलाभरी मेरो साथ छोडेनन्।

साथीहरू सँग बसेर खाएको खुब याद आउँछ । ती साथीहरू सँग बसेर नखाएको बर्षौं भयो।भेटन् मन छ साथीहरूलाई। त्यो बेला एक रूपैयाँ को ३२ पाना भएको एउटा कपि आउँथ्यो ।