काठमाडौं। विजया दशमी २०७९ हाम्रो घरआँगनमा भित्रिइसकेपछि सबैका माझ खुशियाली छाएको छ । यो हामी नेपालीका लागि सर्वाधिक महत्वको चाड पनि हो । यस अघिका पर्वहरू कोरोना महामारी संक्रमणका कारण खल्लो भए पनि यो वर्षको विजया दशमी सहज वातावरणमा मनाउन पाएका छौं ।
तथापि हामी भयरहित भने छैनौ । भयरहित निश्चिन्त वातावरणमा विजया दशमी मनाउने वा संत्रासमा पर्ने ? भन्ने कुरा हामी आफैँमा निर्भर रहने भएकाले यस कुरालाई हामी सबैले ख्याल राख्नुपर्छ ।
चाडवाड संन्त्रस्त बन्ने अवस्था पनि हाम्रै असावधानी र बाह्य व्यक्तिकै कारण हुन्छ । बाह्य व्यक्तिको कारण निम्तने संन्त्रास वा खतरा पूर्ण रूपमा नियन्त्रण गर्न नसकिए पनि हामी सचेत भयौँ भने यसलाई कम पार्न सक्छौँ ।
तर आफ्नै कारण उत्पन्न हुन सक्ने खतरालाई भने हामी सचेत भए नियन्त्रण गर्न सक्छौँ । सुरक्षा चुनौती अत्यन्त संवेदनशील हुन्छ, कुन बेला के हुन्छ भन्न सकिन्न । सुरक्षा चुनौती निष्क्रिय बनाउने एउटै उपाय अग्रिम सावधानी नै हो ।
कुनै प्रकारको घटना नभएसम्म शतप्रतिशत सुरक्षाको अनुभूति हुन्छ भने यस्तै शून्य समयमै सानो घटना भए शतप्रतिशतै सुरक्षा व्यवस्था फित्तलो ठानिन्छ भन्ने कुरातर्फ हामी सधैँ सचेत रहनुपर्दछ ।
विजया दशमीलाई चुनौतीरहित बनाउन व्यक्ति, परिवार, समाज र राज्य नै आआफ्नो ठाउँमा सजग बन्नुपर्दछ । यस क्रममा कसले कस्तो सावधानी अपनाउने ? भन्ने आधारभूत कुरा पनि फरक फरकै हुन्छ ।
राज्य र समुदायबाट अपनाउने सुरक्षा सावधानी सामान्यतया औपचारिकतामा आधारित हुन्छ । समस्त समाजकै चुनौतीमा आधारित रहने यो सुरक्षा व्यवस्था व्यक्तिविशेषमा भन्दा समुदायकै सुरक्षामा आधारित रहने भएकाले यसको क्षेत्र पनि व्यापक हुन्छ ।
वृहत्तर क्षेत्रभित्र सुरक्षा कायम राख्नुपर्ने भएकाले सुरक्षाकर्मीको नजरमा हरेक व्यक्ति पर्न सक्दैनन् । तोकिएको सुरक्षा मापदण्डभित्रै हरेक व्यक्तिले आफ्नो गतिविधिहरू सञ्चालन गरे मात्र यस्तो सुरक्षा व्यवस्था प्रभावकारी बन्छ ।
राज्यले प्रायः गरी क्षेत्रगत सुरक्षा चुनौतीलाई ध्यानमा राखी सुरक्षा नीति तय गर्दछ । यस क्रममा अत्यधिक चुनौतीपूर्ण क्षेत्र, चुनौतीपूर्ण क्षेत्र र सामान्य गरी तीन चरणमा अपनाउनु पर्ने सुरक्षा व्यवस्था फरक फरकै हुन्छ ।
चुनौतीपूर्ण क्षेत्रको निर्धारण पनि विविध अवस्थाको विश्लेषणबाट तय गरिएको हुन्छ । सम्बन्धित क्षेत्रको सामाजिक वातावरण, त्यहाँको अपराधको स्थिति, अपराधिक व्यक्तिको बसोबास र अखडा, विगतमा घटित अपराधको प्रकृति, तत्काल देखापरेको अपराधिक चुनौती समेतलाई ध्यानमा राखी तय गरिने यो सुरक्षा व्यवस्था व्यक्तिविशेषसम्म मात्रै केन्द्रित हुँदैन ।
किनकि, समाजमा रहने व्यक्तिहरू सबैमा समान सुरक्षा चुनौती नहुन सक्छ । व्यक्तिको पेसा, व्यवसाय, आर्थिक गतिविधि, व्यक्तिको व्यवहार र कार्यशैली तथा सामाजिक प्रतिष्ठा एवं दायित्व समेतको आधारमा कोही सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण बन्न सक्छन् भने कोही सामान्य हुन पनि सक्छन् ।
कसैलाई चुनौती नै नहुन सक्छ । सुरक्षा चुनौती हुने व्यक्ति पहिचान गरी उनीहरूलाई निम्तन सक्ने अप्रत्यसित खतराको आँकलन गरी अत्यधिक चुनौतीपूर्ण व्यक्तिको निम्ति राज्यले वैयक्तिक सुरक्षा व्यवस्था नै अपनाउनुपर्ने हुन्छ ।
प्राय गरी यस्तो चुनौती राजनैतिक निर्णय गर्ने उच्च स्तरीय पदाधिकारी, कतिपय राजनैतिक नेता, उद्योगपति, कतिपय समाजकै लब्ध प्रतिष्ठित व्यक्ति, प्रतिष्ठित उद्योगपति एवं व्यापारी र कार्य क्षेत्रमा रही राज्यको नीति निर्देशन कार्यान्वयन गर्ने अख्तियार प्राप्त उच्च प्रशासक एवं न्यायिक निकायका पदाधिकारीलाई निम्तन सक्छ ।
यसैले यस्ता व्यक्तिको सुरक्षा सामान्य सुरक्षा व्यवस्थाको भरमा नहुने भएकैले उनीहरूको निम्ति आवासदेखि कार्यालयसम्म तथा हरेक गतिविधि सञ्चालन गर्दा समेत साथमै हुने गरी सुरक्षाकर्मी खटाइएको हुन्छ । यस्तो सुरक्षा चुनौती व्यक्तिको अधिकार क्षेत्रभित्रको दायित्व सम्पादनकै क्रममा आइलाग्न सक्ने भएकोले सधैँ चुनौतीपूर्ण हुन्छ ।
यसको अलावा चुनौतीपूर्ण क्षेत्रको अपराधिक, सामाजिक एवं भौगोलिक अवस्थाको आधारमा निश्चित स्थानमा रहने गरी संवेदनशील क्षेत्रकै सुरक्षा प्रबन्ध मिलाउने उद्देश्यले कतिपय स्थानमा स्थायी वा अस्थायी सुरक्षा निकाय स्थापित गराई अटुट देखभालको व्यवस्था सरकारले मिलाएको हुन्छ ।
यो सुरक्षा व्यवस्था व्यक्तिविशेषमा केन्द्रित नभए पनि सामुदायिक हितको निम्ति प्रभावकारी हुन्छ । यस व्यवस्थामा अपराधिक प्रवृत्तिका व्यक्तिको गतिविधिलाई निगरानीमा राखिन्छ । सुरक्षाकर्मीको पिकेट, वीट, मोबाइल गस्ती, पैदल गस्ती रिर्जव र स्ट्राकिङ टोली तथा सादा पोसाकमा ठूलो संख्यामा परिचालित गराई सुरक्षा व्यवस्था मजबुद बनाइन्छ ।
समुदायबाट अपनाइने सुरक्षा व्यवस्था राज्यको सुरक्षा नीतिकै मापदण्डभित्र रहेर, सुरक्षाकर्मीकै परामर्शमा सुरक्षाकर्मी र समाजकै प्रतिनिधिको संयुक्त प्रयासमा व्यवस्थित गरिन्छ । प्रभावकारिताको हिसाबले यो सुरक्षा व्यवस्था भरपर्दो हुन सक्छ ।
किनकि यसमा स्थानीय नागरिकहरूकै तदारूकता हुने भएकोले समाजको टोल बस्तीदेखि पारिवारिक गतिविधिलाई समेत सुरक्षाको घेरामा पार्न सहज हुन्छ । समुदायको कुन व्यक्ति कस्तो हो भन्ने कुरा स्थानीय नागरिकबाटै सजिलै पहिचान हुन सक्छ ।
सम्भावित घटना र चुनौतीको बारेमा पनि भरपर्दो अग्रिम तथ्ययुक्त सूचना संकलन गर्न सकिने भएकोले चुनौती नियन्त्रण गर्न अग्रिम कार्य योजना तय गर्न सकिन्छ । स्थानीय समाजकै संलग्नता रहने भएकोले यस्तो सुरक्षा व्यवस्थामा शंकित व्यक्तिको निगरानी गर्न अलगै व्यक्ति खटाइरहनु पर्दैन ।
सर्वसाधारणकै दैनिक गतिविधिबाटै स्थानीय व्यक्तिको अपराधिक हरकत पहिचान गर्न सकिन्छ । यसैगरी व्यक्तिगत सुरक्षा सतर्कता भने सबैभन्दा महत्वपूर्ण सुरक्षा उपाय हो । व्यक्ति आफैँ सचेत बन्ने भएकोले यसमा हम्मेसी अपराधीले मौका पाउन सक्दैन ।
अपराध भैहाले पनि कसुरदार पक्राउमा पर्दछ । विजया दशमीको अवसरमा यस प्रकारको सुरक्षा चुनौती निम्तन सक्छ । यसमा के के कुरा ख्याल राख्नुपर्दछ भन्ने कुरा पनि सबैले ध्यान दिन जरूरी छ ।
व्यक्तिले अपनाउनुपर्ने सुरक्षा सावधानीको चरण पनि फरक फरकै हुन्छ । सबै चरणमा आइलाग्ने चुनौतीहरू पनि समान हुँदैनन् । विशेष गरी व्यक्तिगत एवं पारिवारिक सुरक्षाका चरणलाई यसरी वर्गीकरण गर्न सकिन्छ ।
विजया दशमीमा टाढाबाट घर फर्कने आफन्तको लहर चल्छ । सवारी प्रयोगगर्दा, सहयात्रीहरूसँग व्यवहार गर्दा, खाँदा बस्दा, आफ्नो सरसामानको सुरक्षा गर्दा, सवारी चढ्दा उत्रँदा हामीले सावधानी अपनाएनौँ भने सुरक्षा जोखिममा पर्न सकिन्छ ।
यात्रा गर्दा विशेष गरी अपरिचितसँग हामी सचेत बन्नुपर्दछ । घर कम्पाउण्डमा रहँदा बस्दा नै हामीले सुरक्षा सावधानी अपनाउनुपर्दछ । यात्राको क्रममा कोरोना र डेंगीको संन्त्रास पूर्ण रूपमा नियन्त्रण नभएकोले त्यसतर्फ विशेष सजग बन्नुपर्दछ ।
दसैँमा टिका लगाउन जाने आउने आफन्त भए पनि संक्रमणको दृष्टिले सबैलाई शंकाको नजरले हेरी सावधानी अपनाउनुपर्दछ । वृद्धवृद्धाको सम्पर्कमा जानुपर्दा उनीहरूको र आफ्नै सुरक्षामा विशेष ख्याल राख्नुपर्दछ ।
सवारीबाट यात्रा गर्नुपर्दा मादक पदार्थ बर्जित गर्नुपर्दछ । सार्वजनिक सवारी नै प्रयोग गरे पनि सवारी साधन र चालकको अवस्था ख्याल राखेर मात्र यात्रा गर्नुपर्दछ । बडा दसैँमा व्यक्तिको चहलपहल बढ्ने, भीडभाडमा जानुपर्ने हुन सक्छ ।
यस्तो अवस्थामा गरगहना र साथमा भएको नगद रकम सुरक्षित राख्न होसियारी बन्नुपर्दछ । अन्यथा पकेटमार र लुटेराको फन्दामा पर्न सकिन्छ । कतिपय आफूले विश्वास गर्दै आएकै नाता सम्बन्धका व्यक्तिबाटै हामी असुरक्षित बन्नुपर्ने अवस्था आइलाग्न सक्छ ।
रात बस्ने गरी कतै जानुपरे सकेसम्म एकलै जानु हुँदैन । साथी लिएर जानु राम्रो हुन्छ । चाडबाडलाई उल्लास र उमङ्गको अवसरमा लिइने भएकोले हानिकारक चिजवस्तुको सेवन गर्नु हुँदैन । अपरिचित व्यक्तिसँग नजिकको हेलमेल गर्नु हुँदैन ।
अपरिचितले दिएको खाद्य पदार्थ खानु हुँदैन । आफ्नो गन्तव्य कहाँसम्मको हो, फर्कने नफर्कने, बास बस्ने गरी नै जानुपरे घरपरिवारका सदस्यलाई जानकारी गराउनुपर्दछ । खानपान र मोजमस्तीमा भुलिए सावधानीको आधारभूत मापदण्ड नै बिर्सन सकिन्छ ।
दसैँ वर्ष दिनमा आउने चाड भएकोले यो बेला आफ्नो हैसियतअनुसारकै खानपान गर्ने प्रचलन छ । कतिपय विपन्न व्यक्तिहरू पनि खोजमेल गरी चाड मनाउन पछि पर्दैनन् । अत्यावश्यक पर्दा ऋणपान गरी चाडपर्व मनाउनु अस्वाभाविक होइन ।
सकेसम्म मितव्ययिता अपनाई, सुरक्षालाई उच्च महत्व दिई दसैँ मनाऔँ । अन्त्यमा समस्त नेपालीहरूमा विजया दशमी २०७९ को पुनित उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !