• मंसिर १७ २०८१, सोमबार

उत्तीस र लाली गुराँस किन भेट हुँदैनन् ?

आश्विन १५ २०७९, शनिबार

भेटघाट नभएको धेरै महिनापछि बाउन्नेलाई नियास्रो लाग्यो । बाउन्नेले मनमनै सोचे, ‘खोइ त, सोच्ने उनीहरूले हो, तै पनि सोचेनन्, सम्झेनन् ।’
बाउन्ने लुखुर लुखुर उत्तीसको बस्तीतिर लागे । सिधा बाटो सकिएपछि अलि परबाट खोचतिर झरे । सदाको भन्दा उनलाई केही समस्या भएको अनुभूति भयो ।

‘खोइ, उमेरले डाँडो काटेको त होइन, तर पनि यो वर्ष निकै गल्यो ज्यान पनि !’ बाउन्ने मनमनै कुरा गर्दै बाटो हिँडिरहे । खोचको उत्तीस बस्ती आइपुग्नै लाग्यो ।

उनले दुबै हात कम्मरमा राखेर तलतिर नियाले । बस्ती हराभरा थियो । युवा उत्तीस हलक्क बढेको देखेर बाउन्ने निकै प्रशन्न भए । ‘मैले आँटेको कुरा पुग्ने भयो’, उनी चित्तप्रशन्नका साथ बस्तीमा झरे ।

बाउन्ने सरासर मूली उत्तीसको घर पुगे । ‘घरमा को छ, खोइ घरमूली !’ बाउन्नेको आवाज मूली उत्तीसले चिनिहाले । ‘मेरो बस्ती पवित्र पारिदिनु भो पण्डित ! के सेवा गरूँ !’

‘कुरा किन लुकाउनु र, तिम्रो छोरा हलक्क बढेको देखे, यसो विवाहको जोहो गरौं भनेर ।’ बाउन्ने खिसिक्क हाँसे । मूली उत्तीस ‘छोरालाई सोध्नुपर्छ’ भन्दै घरभित्र पसे ।

‘साइत जुरेछ क्या रे ! पण्डित आएका छन् । विवाहको कुरा पो गरिरहेका छन् । के गरौं, भन्, उमेरमै घरजम गरेको राम्रो ।’ युवा बाउन्ने केही पनि बोलेन ।

मूली उत्तीस बाउन्नेकहाँ गएर भने, ‘खोइ, मुख खोल्दैन, पण्डित !’ बाउन्नेले खिसिक्क हाँसेर जवाफ दिए, ‘मौनम् स्वीकति लक्षणम् ।’ हातले संकेत गर्दै लेकतिर सिकाएर भने ‘ल, कुरा बुझियो ।’

मूली उत्तीसको घरमा विवाहको कुरा गाइँय गुइँय चल्न थाल्यो । कुटन पिसन सुरू भयो । थैलाभरि सातु, पातमा भेलीको डल्लो, एक पोका नुन र खुर्सानीको धूलो अनि चिन्नाभरि पानी बोकेर बाउन्ने र युवा उत्तीस लेकतिर ठाडै उकालो लागे ।

बाटामा झरना, खोला, खोल्सी, पहिरो, पहरो र बुट्यानहरू छल्दै र पार गर्दै बाउन्ने र युवा उत्तीस लेकतिर निस्किइरहे, ठाडै उकालो । आखिर तीन दिनको लगातार हिँडाइपछि बुकीपाटन पुगे दुवै ।

भर्खर हिउँ पग्लँदै थियो । गुराँसका रूखहरू थ्याङ्चे थुङ्चे परेर बसिरहेका थिए । भर्खरै पतझड सकिएको थियो । नयाँ पालुवा पलाएका थिएनन् । गुराँसका रूख नांगै थिए । पातले ढाकिएका थिएनन् ।

बाउन्ने हौसिदै र आवाज दिँदै गुरास बस्तीमा पुगे । पछिपछि युवा उत्तीस पनि पुग्यो । गुराँस युवतीहरू हलक्क हुर्किएको उत्तीसलाई देखेर निकै खुशी भए । मनमनै सोच्दै थिए, ‘पतझर सकियो, अब विवाह पनि जुरेछ क्या रे, बाउन्ने केटो लिएर पो आइ पुगे ।’

बाउन्ने र बूढो गुराँसका बीचमा केही बेर एकान्तमा भलाकुसारी भयो । बूढो गुराँस खुसी देखिन्थे । उनका बूढा आँखा चम्किइरहेका थिए । बाउन्ने केही कुराको ‘साउती’ गर्दै युवा उत्तीसनजिक आइपुगे ।

‘हेर केटो ! कुरा मिल्यो, मन परेकी कन्या छान्, सबै तेरो अगाडि छन् ’, बाउन्ने एक सासमै बोले । युवा उत्तीसमा कुनै पनि उमंग देखिएन । ऊ निधार चाउरी पारेर उभिइरह्यो ।

‘किन चूपचाप, बोल् केटो !’ बाउन्ने अलि राँक्किएर बोले । युवा उत्तीस पनि बाउन्नेसँग रिसाउँदै सिंगुरी खेल्न थाल्यो । बूढो गुराँसको अनुहारमा आएको चमक क्षणभरमै हरायो ।

‘यस्ता रूप न रङका गुराँसेनीहरूसँग किन विवाह गर्नु, हेर्दै थ्याङ्चे न ब्याङ्चे । कहाँ ल्याएका पण्डित तिमीले ! यस्तासँग विवाह गरेर मेरा दिन बित्लान् ? भूइँ छोड्न नसकेकाले के गरी खालान् !’ युवा उत्तीस भुतभुतायो ।

गुराँस युवतीहरू निकै अप्ठेरोमा परे । आफ्नो आङको पात पनि हिउँ र चिसोले झारिदिएको छ । चैत लाग्न केही महिना बाँकी छ । उत्तीसले आज बेइज्जत गरिरदियो । तै पनि उनीहरू बेइज्जत चुपचाप सहन गरी बसिरहे ।

बाउन्नेले बूढो गुराँससँग माफी मागे । गुराँस कन्याहरूलाई आशीर्वाद दिए, ‘तिमीहरूका लागि कुनै दिन राम्रो वर मिलोस् !’ कन्याहरूले हार्दिक अभिभवादन फर्काए बाउन्नेलाई !

त्यसपछि बाउन्ने र युवा उत्तीस खोचतिर ठाडो ओह्रालो झरे । बाउन्नेले मनमनै सोचे, ‘अबका ३ महिनभित्र तेरो सेखी नझारी छाड्दैन ।’ युवा उत्तीस बाउन्नेलाई पर्खन पनि नपर्खी अघि अघि कुद्यो ।

समय बित्न के बेर ! चैत्र महिना लागिहाल्यो । बाउन्नेले युवा उत्तीसलाई कन्या देखाउन फेरी बुकी पाटनतिर निकाले । उकालो उही, बाटो उही । उत्तीसलाई शंका लाग्यो, ‘फेरि पनि त्यहीँ लाने हो, बाहुन् !’

‘चूप लाग्, अर्कोे ठाउँ लैजाँदै छु ’, बाउन्ने आफ्नै तालमा हिँड्न थाले । युवा उत्तीसले उनको पदचाप पछ्याइरह्यो । बाटामा ती दुई बीच पहिलेको यात्रामा जस्तो कुनै पनि गफगाफ भएन ।

अहिले बुकीपाटन निकै हराभरा भइसकेको थियो । हिउँ पग्लिइसकेको थियो । पाटन आफैमा मनमोहक थियो । भूइँ फूलहरू फूलिसकेका थिए । मगमग वासना आइरहेको थियो । बाउन्नेले धेरै वर्षपछि यसको आनन्द लिइरहेका थिए भने युवा उत्तीसले जीवनमा पहिलो पटक यस्तो अनुपम अनुभूति गरिरहेको थियो ।

क्षणभरमा गुराँस बस्ती पनि देखियो । आहा ! साँच्चै यो अकल्पनीय थियो । उत्तीस आश्चर्यमा पर्‍यो । उसले गुराँस बस्ती यति राम्रो होला भन्ने सपनामा पनि चिताएको थिएन ।

अब युवा उत्तीसका हातगोडा लगलगाउन थाले । तर बाउन्नेले त्यही गुराँस बस्तीमा उत्तीसलाई पुर्‍यायो । गुराँस बस्तीमा पहिले जस्तै गरी उनीहरू दुवैको स्वागत सत्कार भयो । उत्तीस अलि सन्तुलनमा आयो ।

बाउन्नेले उत्तीसलाई मन परेकी लालीगुराँससँग विवाह प्रस्ताव राख्न भने । बूढो गुराँसले पनि अनुमति दिए । युवा उत्तीसले धरमराउँदै र लगलगाउँदै प्रस्ताव राख्यो ।

युवती लाली गुराँसले प्रस्ताव अस्वीकार गरिन् । उनले भनिन्, ‘हेर्दा, सर्लक्क र हलक्क बढेको र अग्लो अनि राम्रो भए पनि तिमी स्वार्थी छौ । तिमीले मलाई पतझरको बेलामा फेरि यस्तै धोका दिने छौ र बेइमानी गर्ने छौ । त्यसैले तिमी तिम्रो घर फर्क’ भनेर एक लात्ती उठार प्रहार गरिन् ।

युवा उत्तीस अग्लो पहराको माथि लेकबाट हररर तल खसेर उही खोचको बस्तीमा झर्न पुग्यो । त्यस बेलादेखि अहिलेसम्म उत्तीस तल खोचमा र लालीगुराँस माथि लेकमा रहिरहे । उनीहरूको भेटघाट अहिलेसम्म हुन सकेको छैन ।