यस वर्षको दसैं महामारीबाट अछुतो नरहने देखिएपछि निर्धक्क पर्व मनाउने भन्दा पनि सचेत किसिमले पर्वको बिदाइ गर्नु पर्ने अवस्था सिर्जना हुन गएको छ । पोहर सालसम्म कोरोना महामारीले चाड पर्व र भेटघाट निकै असहज र अमान्यजस्तो बनाएको मनोविज्ञानमा मह्लम लाग्न नपाउँदै यस वर्ष डेंगीले आफ्नो संक्रामक महामारीको स्वरूप र प्रभाव देखाइ सकेको छ ।
गत साउन १ गतेदेखि देशभर फैलिएको डेंगीमहामारीबाट हालसम्म २८ हजारको हाराहारीमा संक्रमित भइसकेका छन् । ३८ जनाको मृत्यु डेंगीकै कारणले हुनुले पनि यो अवस्था भयाबह बन्दै गएको देखिएको छ ।
लामखुट्टेका कारण हुने भए पनि डेंगी महामारी देशव्यापी बनिरहेकाले पनि पर्वका बेलामा आवश्यक भन्दा बढी सतर्कता जरूरी छ । पर्वका बेला आफन्तजनहरू जम्मा हुने र लापर्वाहीका साथ समय व्यतित गर्ने हुनाले पनि डेंगी महामारीले थप संक्रामक रूप लिन सक्ने देखिएको छ ।
यो महामारीको डर सबैभन्दा बढी सहरी इलाकामा हुने कुरालाई समयमै ख्याल गरिनु पर्छ । त्यसैले पनि दसैं तिहार डेंगु महारोग संक्रमणमैत्री नहोस् भनेर ख्याल गरिनु अति आवश्यक हुन आएको छ ।
यो बेलामा गरिने लापर्वाही, अनावश्यक मदिरापान, खानपान र बसाइका साथै सुत्नका लागि पनि झुलको व्यवस्था ख्याल नगरिनाले हुने समस्या आफैमा निकै सोचनीय छ । त्यसो त पर्वको बेलामा पानीको निकै खपत हुने भएकाले भाँडाहरूमा आवश्यकताभन्दा बढी पानी जम्मा गर्ने कारणले पनि डेंगी संक्रमण फैलनमा बल पुर्याउने देखिन्छ ।
काठमाडौं उपत्यकामा पानी अभाव हुन्छ भनेर टयाङ्करबाट पानी लिएर जहाँतहीँ जम्मा गर्ने चलन रहेकाले डेंगी संक्रमण बढेर जाने सहज अनुमान गर्न सकिन्छ । सफा पानी जम्मा गरिएका भाँडाहरूमा स्मार्ट लामखुट्टेले फुल पार्ने र बच्चा हुर्काउने गर्दछ ।
जहाँतहीँ खुल्ला भाँडामा हप्तौं पानी जम्मा गर्ने र ढाकछोप नगर्ने भएकाले पनि रोग भित्रने संभावना पर्वका बेला बढेर जान्छ नै । पर्वमा मानिसको थुप्रो लाग्ने, डेंगी संक्रमित लामखुट्टेले टोकेको थाह नपाइने आदि हुन्छ नै । यस्तो बेलामा संक्रमितको संख्या धेरै गुणा बढेर जाने कुरालाई नकार्न सकिदैन ।
यसै कारण पनि दशैं, तिहार तथा छठ पर्वका बेलामा डेंगी महामारी सर्न र फैलन नदिन निकै सतर्क हुनु जरूरी छ ।