• असार २२ २०८१, शुक्रबार

मगर संग्रहालय : एउटा कोठामा पूरै संस्कार देखाउने प्रयास

आश्विन १४ २०७९, शुक्रबार

दाङ, असोज १४ ।
ढोका खुल्यो, झर्लक्क सफा पहिरनका एक जोडी मगरहरु देखिए । साँच्चै ताल्चा लगाएर कसका जोडीलाई थुनेको होला ? प्रश्न जाग्यो । उनीहरु साँच्चै स्वागत गर्न बसेका जस्तै थिए ।

तिनका आकर्षक पोषाक, धप्प बलेका हँसिला मुहारले साँच्चै सत्कार गरेका हुन् भन्ने भान पार्छन् । ती जोडी भने डेमो हुन् । जसले मगर समुदायको भेषभूषा देखाउँछन् । उनीहरुलाई नियालेर हेर्नेले मगर समुदायको पहिचान दिने दृश्य भेटाउँछन् ।

शिरदेखि पाउसम्मका मगर पोषाक अध्ययन गर्न ती जोडी पर्याप्त छन् । तिनका गहनादेखि उभिने शैली पनि ठ्याक्कै मगर समुदायसँग मिलेको जस्तो लाग्छ । भित्र छिर्ने बित्तिकै तिनैलाई देख्दा बन्द कोठामा पनि को मानिस रहेछन् भनेर झसङ्ङ पार्छन् । उनीहरुको चाल चलन र संस्कार बुझ्न र्‍याकहरुमा आँखा दौडाउनु पर्छ ।

परम्परागत रुपमा चल्दै आएको मगर समुदायको मयूर नाचमा चाहिने मयुर प्वाँखका गर्रवा टंगाइएका छन् । विशेष चाड पर्व र विहे बरुमा त्यो लगाएर महिला र पुरुषहरु नाच्छन् । घोराही-१३ स्थित मगर संघको उक्त संग्रालयमा भेटिनुभएका घोराही नगर वरिष्ठ उपाध्यक्ष मित्रलाल बुढामगरका अनुसार यो प्रमुख नाच हो ।

अलि उता चेम्ना (टोपी) भेटिन्छ । यो मखमली कपडाको टोपीमा तल्लो घेरामा चाँदीले सजाइएको हुन्छ । कलात्मक देखिने यो टोपी मगर समुदायमा भात खुवाइमा लगाइदिने चलन रहेको बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई ढाई वर्ष हुँदा सम्मका छोरा छोरीलाई लगाइन्छ । रख्खे हुन्छ भनेर उहिल्यैदेखि छोरा वा छोरी दुवैलाई लगाउँदै आएको हो ।

सेतो फेटा छ । भान्जलाई वा अन्य काममा पगरी गुथाउँदा प्रयोग हुन्छ । झाँक्री बस्दा पनि यहि लगाइन्छ । पहिला टोपी हुन्नथ्यो, पुर्खाहरु यही फेटा गुथ्ने गर्थे । अझैपनि औपचारिक कार्यक्रममा अतिथिलाई सम्मानार्थ यही फेटा गुथाउने चलन छ ।

गुलेली र धनुकाँड पनि पुराना छन् । जमानामा सिकार खेल्ने र कन्दमुल खाने बेलामा हतियार यही थियो । आधुनिक हतियार उत्पादन नहुँदासम्म यसैले मगर पुर्खाले सिकारखेली जीविका चलाए । यसैको सहाराले सिकार ल्याउँथे, कन्दमुल खोज्थे र परिवार पालेका थिए ।

पञ्चेबाजा दमाह, टेम्को, नरसिंगा, सहनाई लगायत मरु बरुमा बजाउने सबै बाजाहरु छन् । अहिले पनि विभिन्न संस्कारमा पञ्चेबाजा बजाउने चलन छ । डौरी मादल, खैंजडी, प्रसिद्ध भुम्या लगायतका नाचमा प्रयोग हुने वाद्यवादन राखिएको छ । झाँक्री पनि मगर समुदायमा मुख्य मानिन्छ । मरेको घरमा चोखिएपछि हरेक जसोको घरमा अहिले पनि गौंडो फाल्न झाँक्री बसाल्छन् । झाँक्रीले पहिरिने बाखर, ढ्याङ्ग्रो लगायत सम्पूणर् हाँडाभाडा र आलमालहरु पनि संग्रहालयमा राखिएको छ ।

नेती, मदाइनी, ठेकी लगायत मही पार्न आवश्यक सबै सामग्री पनि संग्रहालयमा राखिएको छ । पुर्खाहरुले भेडाबाख्रा पाल्थे । तिनको दुधबाट दही बनाएर यसैले मथेर घिउ निकाल्थे । यसैगरी जाँड बनाउनेदेखि रक्सी पार्न चाहिने भाडाहरु पनि संग्रहालयमा सजाइएको छ । पुरानो ओदानमाथी ताँवाको रक्सीपार्ने भाँडाको सेट डोसिएको छ ।

लामो बिँड भएको ठूलो कौली छ । छानेको जाँरड त्यसैबाट उबाइन्छ र अतिथिलाई बटुकामा खन्याउने चलन छ । शुरु शुरुमा ताँवाका मात्रै हुन्थे अहिले गिल्टीका पनि पाइन्छन् । भाडा वर्तन नभएको बेला त्यसमा भएको जाँड पाइपबाट पानी झारे जस्तै पारी खान सकिन्छ । काठको नुन कुट्ने, जाँड छान्ने र खाने कटौरा छन् । जति बेला भाँडा वर्तन पहाड पर्वततिर पुगेका थिएनन् । सबै कुरा यस्तै काठका बनाउने चलन थियो ।

छोरी तानेर लैजान्थे । भान्जाले सजाय रुवरुप माइतीको आदेश मान्नुपर्ने चलन थियो । माइत जाँदा हाते हुक्का, सुरही, विशेष जालीमा बेरिएको बोत्तलमा रक्सी लग्नुपर्दथ्यो । बुढा पाकाहरु त्यही हुक्का तान्दै बसेर कुरा मिलाउँथे । भान्जाले ल्याएको रक्सी पित्तरलाई छिट्याउँदै दैदेउता शान्त पार्थे । अनि खुशीले छोरी भान्ज भित्र्याउँथे ।

यसैगरी कक्कड हाल्ने बासा, फलामको ठस्के, आगो सल्काउने ठोक्ने चारे ढुंगोपनि छ । त्यो पनि पुरानो राखिएको छ । जुनबेला सलाई र लाइटर थिएन । त्यसै ठस्केबाट आगो सल्काइन्थ्यो । अगेनाको छेउमा एउटा फलामका पोल जस्तो गाडिएको हुन्थ्यो त्यसैमा झर्को बालेर राखिन्थ्यो । त्यसले अहिलेका बिजुली बत्तिको काम गर्दथ्यो । त्यसपछि अनेक खालका टुकी आए, मट्टितेलबाट बल्ने अहिले सोलार र बिजुली छन् । संग्रहालयमा गाड्ने बिँड सहितको तावा जस्तो फलामको झर्को बसाल्ने राखिएको छ ।

आफैले बनाएको तुलामा जोखिन्थ्यो । शेयर, दशपल, बिसौली र धार्नी भनेर तौल्ने गरिन्थ्यो । मास तथा अन्य वस्तु तौलने ढुंगाको ढक तथा तुलो हुन्थ्यो । त्यही तुलो र ढुंगा पनि राखिएको छ । अहिले जस्तो डिजिटल काँटाको जमाना थिएन । नाप्ने चिज पनि फुङ्ङामा नापिन्थ्यो । कति माना कति पाथी भनेर अन्न भरिन्थ्यो । त्यो पनि छ ।
हिउँदको चिसोमा भेडा ग्वालाहरु ६ महिना चराउन औल झर्थे । हिमाल पहाडमा हिउँ पर्दथ्यो । त्यसबेला घरको सुनचाँदी पटेरामा राखेर जमिन मुनि गाड्थे । त्यो पनि संग्रहालयमा देख्न पाइन्छ । ढकनी सहितका पानी पनि नछिर्ने जस्ता धँइसो लागेका पटेराहरु छन् ।

कपाल फाल्न फलामको छुरा प्रयोग हुन्थ्यो । अहिले जस्तो विद्युतीय कपाल काट्ने मेसिन थिएनन् । अनेक थरीका जिलेट र बिलेट त्यसबेला हुँदैन्थे । खुर्पेटो, खुर्पा लगायत सामग्री छन् । मगर पात्रो पनि छ । पुराना इतिहास कलाकृति खोज्ने र पाएसम्म संग्रहालयमा ल्याउने काम भइरहेको नगर सदस्य विकास रोकाले जानकारी दिनुभयो । आगन्तुकलाई आफ्नो अनुभूति र सुझाव दिन रजिष्टर राखिएको छ ।

संग्रहालय बनाउन पूर्वअध्यक्ष सितलाल पुनका पालादेखि शुरु भयो । अहिले सामग्रीले राख्न थालिएको संघका जिल्ला अध्यक्ष खलुप्रसाद पुनको भनाई छ । उहाँका अनुसार अझै र्‍याक थप्नुछ । भित्रै एउटा घर बनाए ढिकी जाँचो राख्नु बाँकी छ । कसैले सौजन्य दिएका छन केही प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट किनेर सामग्री राखिएको हो । सबै व्यवस्थित भएपनि संग्रहालय खुला गर्ने र नियमित रेखदेख गर्ने योजना छ । त्यसका लागि सहयोगको अपेक्षा गरिएको छ ।