• मंसिर ११ २०८१, मंगलवार

व्यवसायीक कुक तालिम दिने योजनामा छौं : श्याम लामा, सिनियर सेफ

आश्विन १२ २०७९, बुधबार

(धेरै मानिसहरुलाई होटलमा कसरी खाना बनाउँछन् होला भनेर थाहा हुँदैन तर यो विषय निकै महत्वपूण विषय हो । सामान्य भाषामा होटेलमा खाना बनाउने मानिसलाई ‘कुकमेन’ भनिन्छ । तर अर्को भाषामा ‘सेफ’ पनि भनिँदै आएको छ । यसै विषयमा लामो समयदेखि काम गर्दै आएका एकजना सिनियर सेफ श्याम लामा वाङसँग यसका बारेमा छलफल गरेका छौं । प्रस्तुत छ, सोही छलफलको आधारमा तयार पारिएको अन्तरवार्ताको सारसंक्षेप : सम्पादक) ।

तपाईंको परिचय बताइदिनुस् ?
मेरो नाम श्याम लामा वाङ हो । मेरो जन्मस्थान काभे्पलाञ्चोक जिल्लाको महेन्द्रज्योति गाविस वडा नं ३ मा हो । जो अहिले बनेपा नगरपालिका वडा नं १२ मा पर्छ । मेरो बाल्यकाल त्यति नराम्रोसँग पनि बितेको होइन । पढ्नका लागि मेरो घरपरिवारको मलाई राम्रो सहयोग थियो । बुबा आमाबाट राम्रो साथ पाएकोले शिक्षाको लागि त्यति गाह्रो र झन्झट भएन ।

पढाई र जागीरको सिलसिला के कस्तो रह्यो नी ?
जब मैले २०४३ सालमा एसएलसी दिएर घरमा बसिरहेको थिएँ । त्यसपछि बुबाले नोकरी खान्छस् ? भनेर सोध्नु भयो । त्यो बेला मलाई नोकरी खाने बारेमा केही ज्ञान थिएन । हाम्रो गाउँघरमा काममा पर्म जाने चलन छ । असारको महिना भएकाले म खेत खन्न गएको थिएँ । त्यसैबेला काठमाडौँमा गएर जागिर खान जाने खबर आयो । पहिला बुबाले मलाई ‘बेल ब्वाए’मा जागीर खाने होला भनेर संकेत मात्र दिनु भएको थियो ।

त्यो भनेको कस्तो काम हो ?
त्यो भनेको होटलमा आउने पाहुनाहरुको सामानहरु ल्याउने र होटेलको कोठासम्म पुर्याइदिने काम हो । यो काम गर्नेलाई बेल ब्याए भनिँदो रहेछ । मैले ठिकै छ भनेर काममा लागेँ तर फाइभ स्टार होटलमा चाहीँ अंग्रेजीबाट बोल्नुपर्ने रहेछ । तर हाम्रो गाउँको पाठ्यक्रममा अंग्रेजी चार कक्षादेखि मात्र पढाई हुने भएकोले म अंग्रेजीमा अलि कमजोर थिएँ । त्यसकारण बेल ब्याएमा हुँदैन, कुकमा हुन्छ भन्ने कुरा आयो तर मलाई न त कुक नै थाहा थियो, न त बेल ब्याएको काम नै ।
यो कति सालको कुरा हो त ?
यो सन् १९८९ को कुरा हो । मैले एसएलसी दिएपछिको रिजल्ट आउनु भन्दा अघिको कुरा हो । म होटेल तालिमको लागि आएको थिएँ । त्यतिबेला मेरो विहे भएर पनि छोरी जन्मिसकेकी थिइन् । मेरो छोरी जन्मेको भर्खरै १५-१६ दिन भएको थियो होला । छोरी जन्मेको कारणले गाउँ घरमा लक्ष्मीको आगमनले सबै राम्रो राम्रो हुँदै गयो भन्ने धारणा राखियो । एसएलसीको रिजल्ट आएको थिएन तर पनि ‘अन्डर जब टे्निङ’मा हुन्छ भनेकोले होटेलको भान्छामा छिर्ने मौका पाएँ । जहाँ काम गर्दा कोट लाउनुपर्दो रहेछ । त्यसका साथै एकजना साक्षी पनि बस्न आवश्यक पर्दो रहेछ । जसले मेरो जिम्मा लिनुपर्ने रहेछ । यो सबै भएपछि मेरो १८ महिनाको होटेल तालिम हुने भयो । १८ महिनाको होटेल तालिमको अवधिमा मेरो एसएलसीको रिजल्ट आइसकेको थियो । १८ महिना तालिम गरेबापत होटलको कुकको पद दिने कुरा भयो । त्यसपछि १८ महिनाको तालिमको सट्टा एसएलसी पास गरेकाहरुलाई २४ महिना काम गराएर दोस्रो तहमा समावेश गर्ने घोषणा गरिएकोे थियो । हामी एसएलसी पास गरेका ५ जना सहित सातजनाको समूहले त्यसमा समर्थन जनायौँ । त्यतिबेला नेपालमा प्रजातन्त्र आइसकेको थियो । किन कि यो २०४६ साल पछिको कुरा हो । त्यतिबेला विभिन्न मजदूर संगठनहरु पनि खुलिसकेका थिए । काम सुरु गरेको २४ महिना पुगेपछि होटलमा अलि फरक वातावरण छायो । मजदूर संगठनहरुले व्यवस्थापन पक्षसँग केही मागहरु राखे । ती मागहरु पूरा नभएसम्म आन्दोलन गर्ने कुरा भयो ।
आन्दोलन कुन होटलमा भएको हो ? कहिलेसम्म चल्यो ? कसरी टुङ्गियो ?
काठमाडौंको सोल्टी होटलमा हो । मलाई १९ दिनसम्म आन्दोलन चलेको याद छ ।
आन्दोलन चलेको १९ दिनपछि कांग्रेस समर्थक संगठनका मजदूरले आन्दोलन छोडेर काम गर्न सुरु गर्ने निधो गरे । कांग्रेस समर्थकले काम गर्ने जति को-को छौ ? भनेर सोध्दा ९९ प्रतिशत कामदारले काम गर्नेमा समर्थन जनाए । किन कि काम नगरेकोले सबैमा आर्थिक संकट आइसकेको थियो । बाध्यतावस आन्दोलनकारीहरु काम गर्ने र जागिर जोगाउने पक्षमा भए । त्यसपछि हामीलाई २४ महिनामा कोमीको २ तह हासिल गर्न त परै जावस्, जागिर जोगाउनै गाह्रो पो भयो । होटलले पनि काम राम्रो भयो भने मात्र २७ महिनसम्म कोमी २ को तह प्रदान गर्ने माग राख्यो ।

भनेपछि होटलले पो मजदूरसँग माग राख्न थाल्यो ?
कामदार आफैमा बाँडिएका कारण होटलले यस्तो माग राखेको हो । आन्दोलन चल्दाचल्दै केहीले काम गर्ने निधो गरे भने केही पन्छिएकाले आन्दोलन विभाजन भयो । २४ महिनामा पाइने कोमी २, ३३ महिनापछि मात्र दिने निणर्य होटलले गर्यो । नत्र होटल छोड्दा हुन्छ भन्ने कुरा भयो ।

त्यसपछि तपाईंहरुले के गर्नु भयो त ? त्यहीँ काम गर्नुभयो कि छोड्नु भयो ?
मैले त्यहीँ काम गरें । ४२ महिनापछि मात्र कोमी ३ को तह पाएँ । मेरो सपना पूरा गर्नका निम्ति म त्यहीँ बसेँ । केही कुरामा चित्त नबुझेपनि त्यहीँ बसेँ ।

चित्त केमा बुझेको थिएन त तपाईंको ?
२४ महिनामा हासिल गर्ने तह हासिल गर्न नपाउँदा र आफ्नो हातमा आउनै लागेको फाइदा र सुविधाहरु रोकिने गरी आन्दोलन हुँदा चित्त दुखेको हो तर मेरो कुनै पार्टी र होटलप्रति गुनासो रहेन ।

अहिले पनि त्यहीँ लाइनमा कार्यरत हुनुहुन्छ ?
हजुर म यरी १४ वर्ष काम गरेपछि काम गर्न विदेश गएँ ।
विदेशमा कुन लाइनमा काम गर्न जानु भयो ?
म होटल लाइनमै गएँ । ८ वर्षको अन्तराल पछि म स्वदेश फर्किएँ ।

कुन-कुन देश जानुभयो त काम गर्न ?
मैले कतारमा मात्र काम गरेँ ।

स्वदेशमा फर्किएपछि के काममा जोडिनु भयो त ?
मैले लाजिम्पाटमा रहेको होटल शंकरमा चिफ एक्जुकेटिभको पोजिसनमा काम गरेँ र ठूलो पोष्टमा काम गर्ने मौका त्यहीँबाट प्राप्त गरेको हुँ ।

होटल शंकरमा कति समय काम गर्नु भयो ?
त्यहाँ सन् २०११ देखि २०१४ सम्म काम गरेँ । त्यतिञ्जेल म जनमानसमा एक सक्षम कुक (सेफ) को नामले परिचित हुन सफल भइसकेको थिएँ । त्यसपछि म ग्राण्ड होटलमा गएँ र त्यहाँ पनि २ वर्षसम्म काम गरेँ । मेरो कन्ट्रयाक प्रायः एक वर्ष सम्म हुन्छ, आजभोली चाहीँ ६ महिनासम्म पनि हुनसक्छ ।

कन्ट्रयाक भन्नाले के बुझिन्छ ? यो परिक्षण अवधि हो कि के हो ?
कन्ट्रयाक भनेको काम गर्ने समय अवधि हो । हाम्रो एक्जुकेटिभ तहमा चाहीँ कुनैको १ वर्ष हुन्छ । कुनैको २ वर्ष अथवा ६ महिना पनि हुनसक्छ । म चाहीँ ६ महिनाको अवधिको कन्ट्रयाक रुचाउँछु ।
होटल ग्राण्डपछि केमा आवद्ध हुनुभयो त ?
म त्यसपछि सेफ जोन अफ नेपालमा आवद्ध भएको थिएँ । अनि मेरो सबैभन्दा ठूलो पोष्ट भनेको कर्पोरेट सेफ हो, जुन फाष्टफुड रेष्टुरेन्ट काठमाडौँमा नै छ । रोयल एवर्ची ए वान फाष्टफुड रेष्टुरेण्ट हो, जसको १६ वटा शाखा नेपालभरी फैलिएका छन् । उहाँहरुको मुख्य उद्धेश्य चाहीँ १६ वटा शाखामा एउटै स्वाद र एउटै गुणस्तर कसरी दिन सकिन्छ भन्ने छ । अनि मसँग केही उपाय छ भनी मेरो कुरा त्यहाँको बैठकमा राखेँ । अनि अहिले पनि ती शाखामा ९९ प्रतिशत एउटै स्वाद र गुणस्तरको खाना दिइन्छ ।

कति महिना काम गर्नुभयो त ए वान फाष्टफुड रेष्टुरेन्टमा ?
त्यहाँ मैले ६ महिना काम गरेँ । सिद्धार्थ विद्युत रोमा पनि छिरेको थिएँ, जहाँ धेरै काम गर्ने मौका पाइनँ । त्यतिबेला म पश्चिमाञ्चलको रिजिनल सेफ थिँए । म अहिले बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको सेफ छु । जसको नेपालमा १०० भन्दा धेरै शाखाहरु छन् । नेपालमा सबैभन्दा ठूलो शाखा भनेकै बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन हाउस हो ।

त्यो बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन हाउसको शाखाहरु कहाँ कहाँ छन् त ?
बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन हाउस नेपालको अधिराज्यभरी फैलिएको छ ।

भनेपछी यो शाखाको हेड सेफ नै तपाईं हुनुहुन्छ ?
हजुर म यो सबै शाखालाई लिड गर्ने गर्छु ।

यसरी सेफ लिडरको रुपमा काम गर्न पाउँदा तपाईंको व्यक्तिगत केही अनुभव के छ ?
सेक्सन पे्रसिडेन्टकोे नोमिनेसनमा नाम दर्ता गराएँ । २०७८ को कात्तिक महिनामा पे्रसिडेन्टल इलेक्सनको घोषणा भयो । अहिलेसम्म पे्रसिडेन्टल इलेक्सन दुई पटक मात्र भएको छ ।

यो संस्थाको होकी संगठनको हो ?
यो संस्था नैै हो । यो नेपाल अधिराज्य भरीको सेफहरुको संस्था हो । जहाँ १५ सय जना सदस्यहरु छन् । सेक्सनको स्थापना २०५३ सालमा भएको हो । यहाँ देश र विदेशमा गरी १५ सय जना सदस्य छन् । जसमध्ये म ९औं प्रेसिडेन्टमा पर्दछु । यो भन्दा अगाडीको पे्रसिडेन्टले कोरोनाको कारणले केही गर्न सक्नु भएन ।

यो संस्थाको मुख्य उद्देश्य के हो ?
यो संस्थाले पहिले देखि नै पाँचवटा विकट क्षेत्रमा होमस्टे सञ्चालन गर्ने, निःशुल्क कुक तालिम प्रदान गर्ने, सरसफाईमा कसरी ध्यान दिने भन्ने बारेमा टे्रनिङ प्रदान गर्ने गर्दछ । सेन्सर अफ नेपालमा व्यक्तिगत धारणा दिनुपर्दा चाहीँ यस संस्थाको कार्यक्रममा सबैजनाको सहभागिता रहोस् भन्ने हो । चाहे यो संस्थाको सदस्य होस् या नहोस् ।

यसमा तपाईंको सिद्धान्त के छ त ?
यो कानुन विपरित पनि हुनसक्छ तर उनीहरुलाई कसरी सदस्यता दिन सकिन्छ भन्ने पक्षमा छु म । यसको सदस्यता नपाएकाले अर्को संगठनतिर भाग लिन गए । अहिले तीनवटा संस्था छन् । हामीसँग चित्त नबुझेर अर्को खोलेका पनि छन् । अब सेफ अफ नेपालको कुनै महत्व रहेन ।

यसमा आवद्ध सदस्यहरुको सरकारसँग मुख्य माग के हो त ?
सेफ जोन अफ नेपालको सदस्यता लिन ५ वर्ष काम अनिवार्य हुनुपर्ने भएकाले यो संस्था भन्दा अर्को संस्थातिर जानुपर्ने बाध्यता भयो । यसलाई समाधान गर्नुपर्दछ ।
संस्थाको वर्तमान अवस्थाबारे केही जानकारी दिनुहोस् ?
हाम्रो यस संस्थाको सदस्यता प्राप्त गर्ने १५०० सदस्यहरु मध्ये ६०० जना नेपालमा छन् भने अरु सबै विदेशमा छन् । सदस्यता नविकरण गर्न २-२ वर्षको नियम रहेको छ । हाम्रो संस्थाले जागिरको खाँचो परेकालाई जसरी पनि रोजगार प्रदान गर्ने गछौं ।

सदस्यताको केही जानकारी दिनुहोस् ?
सदस्यता प्रदान गर्नका लागि ५ वर्षसम्मको कामको अनुभव हुनुपर्छ भने १० वर्षको अनुभव भएमा आजीवन सदस्यता प्राप्त गर्न सकिन्छ ।
तपाईंको कार्यकालमा गर्नु भएको उपलब्धि बारे केही जानकारी दिनुहोस् ?
अहिले २८औँ वार्षिक उत्सवको अवसरमा सेफ जोन अफ नेपालले कुक प्रतिष्पर्धाको आयोजना गरे । यो प्रतिष्पर्धा अरु प्रतियोगिता भन्दा अलि फरक खालको थियो । सन्तोष साह जस्ता चर्चित सेफलाई निर्णायकको रुपमा राखेर सेफ अफ नेपाल र अरु सेफका अर्गनाइजेसनको संयोजकत्वमा हामीले यो कार्यक्रम सम्पन्न गरेका थियौं । हामीले सामाजिक क्षेत्रहरुको विभिन्न काम पनि गरेका छौँ । हामीले समाजमा भएका विभिन्न उत्पीडित वर्ग जस्तै अनाथ बालबालिका, असहाय, अपाङ्गलाई खाना खुवाउनका साथै सहयोग पनि गर्ने गछौं । हामी विभिन्न सेफ संस्थामा आवद्ध सेफहरुको इच्छाले सक्दो रुपमा रुपैयाँ जम्मा गरेर अनाथ आश्रममा रहेका बालबालिकाको लागि पनि उपलब्ध गराएका छौं । संकलन भएको बाँकी रकम हामीले सहयोगका लागि रामेछापको मातदुङ सिब्ले गापाको बद्री केसीलाई दियौँ । किन कि उहाँ टाउकाको अपरेसन गरेर बसिरहनु भएको छ ।

यो तपाईंको व्यक्तिगत सहयोग होकी संस्थाको तर्फबाट हो त ?
यो व्यक्तिगत भनौँ भने हामी सबै सेफको सामूहिक सहयोग रहेको छ यसमा तर संस्थागत भन्नलाई संस्थामा इन्ट्री भएको छैन ।
यसको मुख्य कारण के होला त ?
हाम्रो विशेष बोर्ड बैठक महिनावारी रुपमा हुने गर्दछ । बोर्ड बैठकमा आगामी कार्ययोजनाको कुरा त हुन्छ तर मानिसलाई अपर्झट सहयोगको आवश्यक पर्छ, जुन इन्ट्री गरिएको हुँदैन । त्यसैले यस्तो सहयोग म लगायत मेरो साथीभाईको सामूहिक सहयोग भन्दा फरक नपर्ला ।

तपाईंको आगामी योजना बारे केही जानकारी दिनुहोस् ?
हामीले आगामी दिनमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेका छौँ । जहाँ २००/३०० भन्दा धेरै सदस्यलाई सहभागी गराउने छौँ । यसको लागि एउटा क्याम्पियन गर्ने सोचेका छौँ । जहाँ हामीले हामीसँग जोडिएका २०/३० वटा कलेजहरुमा गएर २००/३०० जति विद्यार्थीको रगत संकलन गर्नेछौँ । त्यसैगरी सेफ जोन अफ नेपालमा आवद्ध ४० वर्ष कटेका सदस्य र उहाँहरुको श्रीमतीको पूरा शरीर जाँच गर्ने अभियान पनि चाँडै आयोजना गर्ने योजना बनाएका छौँ । यस्तो योजनाका लागि हामी प्रयासरत छौँ । हामीले खानामा चाहिने न्यूट्रीन ट्रान्सफर जस्ता नयाँ प्रोजेक्टहरु अगाडि बढाएका छौँ, जन पूरै नयाँ प्रयास हो । हामीले निःशुल्क खाना पकाउने तालिमको पनि आयोजना गर्ने योजना बनाएका छौँ । अब दशैं अगाडी वा पछि एकजना नसा सम्बन्धि डाक्टर आउने कुरा छ । हामीले डाक्टरमार्फत् ‘कुकहरुको नसा सम्बन्धि निःशुल्क नसा जाँच गर्ने योजना पनि बनाएका छौँ । किन कि सेफले आफ्नो हरेक काम उभिएरै गर्ने गर्दछन् ।’ हामीले सेफ जोन अफ नेपालमा आवद्ध सम्पूणर् सदस्यको इन्स्योरेन्स गर्ने योजना पनि बनाएका छौँ ।
हामीले कलेज तहको ट्रेनिङ त प्रदान गरिरहेका छौँ, तर अब आगामी दिनमा व्यवसायिक निःशुल्क तालिम पनि दिने योजना गरेका छौँ ।

तपाईंले यो संस्थालाई कसरी समय दिनुभएको छ त ?
संस्थामा लगातार काम गर्नका लागि समयको एकदमै आवश्यक पर्दछ । जुन एउटा सेफलाई दिन मुस्किल छ । त्यसैले मैले मेरो काम छोडेर वा महिनामा आउने एक-डेढ लाखको माया मारेर भएपनि समाज सेवामा आवद्ध छु । घरबाट आउने ‘घर न घाटको जस्तो भइस्’ भन्ने गुनासाहरु सहेर पनि आफ्नो कामलाई निरन्तरता दिइरहेको छु । सहयोगको लागि कसैसँग हात फैलाउने अवस्था त छैन तर सहयोगी भावना भएका साथीहरुले फेसबुक स्टाटसकै भरमा सहयोग प्रदान गर्नुहुन्छ । विशेषगरी विदेशमा बस्नुहुने साथीभाईले सहयोग प्रदान गर्नुहुन्छ । सबैमा यही मिडियामार्फत् ह्रदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।

अन्त्यमा आफ्नो केही भनाई राख्न बाँकी छ ?
तपाईंको लोकप्रिय सञ्चारमाध्यममा आफ्नो कुराहरु राख्न दिनुभएकोमा ह्रदयदेखि आभार व्यक्त गर्न चाहन्छु । हामीले आगामी दिनहरुमा पनि तपाईंहरुको साथ र सहयोग पायौं भने पक्कै पनि हाम्रा भावी योजनाहरु पनि सफल पार्ने छौं ।