• मंसिर ११ २०८१, मंगलवार

सुवास नेम्वाङप्रतिको धारणा बदलिएन………

आश्विन १२ २०७९, बुधबार

देशको संक्रमणकालिन अवस्थाको संविधान सभा चलाउनु थियो । पहिलो पटक संविधान सभाले संविधान दिँदैथियो । त्यसबेला संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले चलाएको सदन लाईभमा हेर्दा निकै सभ्य लाग्थ्यो, ‘माननी सांसदहरु’ भन्दै गरेका उहाँलाई हेरिरहुँ हुन्थ्यो । धेरैले उत्कृष्ठ सभामुख भने । मैले थाहा पाएपछिका सभामुखमध्ये सम्झनयोग्य उहाँलाई मान्छु । पहिलो पटक उहाँलाई नेपाल पत्रकार महासंघ दाङ शाखामा देखें, प्रेस चौतारी नेपालका नेता टिका बस्नेतले फोन गरेर निम्तो दिएपछि साउन २१ गतेको पत्रकार सम्मेलनमा आउने अवसर मिल्यो । जाउँ कि नजाउँ भएको थियो ।

निम्ता नभएको ठाउँमा जान कसो कसो अफ्ठेरो लाग्छ । कार्यक्रम शुरुहुनु केही समय अघि मात्रै निम्तो पाएपनि उत्साहित हुँदै त्यहाँ पुगेको थिएँ । देशकै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको उपाध्यक्ष भएका नाताले पनि उहाँ महत्वपूणर् व्यक्ति हो । अरु दल गठबन्धनको लठारोमा अल्झिएका छन् । एमाले एक्लै भएपनि लड्छौँ भनेर चुनावी प्रशिक्षण कार्यक्रममा जुटेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राजमो लगायतका दल घेराबन्दी गर्ने प्रयासमा छन् । सबै एकातिर एमाले अकातिर जस्तै दृश्य देखिएको छ । यसबेला पनि लड्ने हिम्मत गरेको छ । त्यो आँट भएका उपाध्यक्षको मुहार संकेत पढ्ने उत्सुकता जाग्यो । त्यसकारण पनि हतार हतार कार्यक्रममा सहभागि भएँ ।

‘आउन त आइयो केही बन्ने होकी होइन, बुढा बोल्ने हुन कि होइनन्’ सिंढीमा उक्लिँदै गर्दा एक जना पत्रकारले सुनाउनु भयो । तुलसीपुरबाट आएका उहाँको स्थानीयमा त समाचार बन्थ्यो नै अधिकांस पत्रकार केन्द्रका मिडियासँग जोडिएका छन् । उता स्थान पाउने जस्तो विषय उठेन भने दुःख मात्रै हुन्छ । एकजना माओवादी कार्यकर्ताले त्यो एम अधिकारी प्रकरण के हो ? सोध्नुहोला भन्नुभएको थियो । नेकपा एमालेको अर्थ विभाग सदस्य गभर्नर महाप्रसाद अधिकारी भनेर लामै विवाद भयो । कुनै राजनीतिक दलको व्यक्ति हुन मिल्दैन भन्दै आन्दोल नै गरेका थिए । मैले जस्तै धेरैले नेम्वाङको भद्रता महशुस गरेको हुनुपर्छ । पत्रकारका प्रश्नहरु त्यति सोझिएनन् । सदाझैं निशानदाजू भट्टराईले पहिलो प्रश्न राख्नुभयो ।

‘एम प्रकरणमा मिलेमतो गरेर अर्थसँग मिलाएर गएको भनिन्छ नि के-हो ? अनि नागरिकता विधेयक बाहीर विरोध गर्नुहुन्छ भित्रभित्र मिलेर पास गर्नुभयो ?’ यस्तै अर्को प्रश्न अर्का पत्रकारले सोध्नुभयो, ‘वाम गठबन्धन हो कि एक्लै फेस गर्ने हो ?’ सबैको एकमुष्ट जवाफ दिन नेम्वाङले आषण ग्रहण गरिसक्नु भएको थियो । कार्यक्रम सञ्चालकले टेबुलमै माइक लैजान खोज्दा उहाँ रोष्टमै जान रुचाउनुभयो । निकै छोटो मन्तव्य दिएका नेम्वाङले प्रश्नको जवाफ दिउँला भन्दै बस्नुभएको हो । शुरुमा दुई जना नेता मात्रै मञ्चमा हुनुहुन्थ्यो । पछि यस जिल्लाका अध्यक्ष हुकुमबहादुर बस्नेत सहित केन्द्रीय स्तरका नेताहरुपनि मञ्चमा थपिए ।

आफुलाई ठूलो नेता देखाउन चाहनेहरु त्यसरी नै अगाडि बस्छन् । एमाले, कांग्रेस, माओवादी लगायत आफूलाई क्रान्तिकारी भनेर हुक्काँ गर्ने दलको पनि मञ्चमा समान अवस्था देखिन्छ । व्यवहारबाट पढ्ने हो भने सबै दल पद र प्रतिष्ठाका भोका छन् । वक्ता मात्रै मञ्चमा जाने गरेको केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा देखेँ । त्यसलाई पुराना दलभन्दा परिवर्तन र फरक भनेको छु । अरु सबैजसो दलका नेतामा मञ्च मोह बराबर छ । हैसियत अनुसारको उपल्लो आषण चाहिने तिर्सना सबैमा उत्तिकै लाग्छ । समयमा नपुग्नेहरुले पनि ग्लानी नगरेर ठूलै आषणमा विराजमान हुन्छन् । जे गरेपनि नेताको गल्ती हुँदैन भन्ने सबै ठूला दलहरुमा देखिन्छ । थपिनेहरु दर्शकदिर्घामा बसेर शोभा बढाएपनि हुन्थ्यो ।

सबै सरहको हैसियत देखाएपनि कम्युनिष्ट पार्टीमा खेर जाँदैन्थ्यो । पछाडि बस्नु ठिक समयमा नपुग्दाको नसियत पनि हुन्थ्यो । त्यससँगै कसैको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको मात्रै फोटा चाहिन्छ । दायाँ बायाँ बस्ने आसेपासेको जरुरत पर्दैन । अझ पत्रकारलाई फोटो खिच्न र सेटिङ गर्न अफ्ठेरो पर्छ । पत्रकार सम्मेलनमा एकजना वक्ता अरु सबै स्रोता हो । जिज्ञासा राख्ने पत्रकार हुन्छन् । पत्रकारको हैसियतमा पुगेकालाई नानाथरी पदले पुकारेर मञ्चमै आषण गराउन जरुरी हुँदैन ।

‘पहिलो पटक दाङमा यस्तो कार्यक्रम गर्दैछु’ उहाँले भन्नुभयो, ‘यो दाङ उपत्यकामा भलाकुसारी हुने अवसर पाएँ । यो महत्वपूर्ण घडी हो ।’ उहाँ पहिलो पटक दाङ आएको वा यस्तो कार्यक्रममा पहिलोपटक सहभागी भएको त बुझिएन तर दाङ जिल्ला उद्योग वाणिज्य संघले अगुवाई गरेर बनाएको बहुउद्देश्यीय सभाहललाई बेस्गरी सम्झिएँ । त्यसैको कारणले एमालेले पनि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम चलायो । नेम्वाङ यहाँका पत्रकारसँग छलफलमा सहभागी हुनुभयो । केही समय अघि नेकपा विप्लवको साविक राप्ति स्तरीय प्रशिक्षण पनि त्यही भयो । नेपाल मगर संघको महाधिवेशन त्यही हलमा गरियो ।

अनि देश विदेशमा मानिसहरुलाई दाङ ल्याउन महत्वपूणर् भूमिका हलले खेलेको छ । योजनाकारलाई हार्दिक नमन गर्दछु । जनताले नै सबैकुरा छिनोफानो लगाउनुपर्छ । जनताले नै सबै मुद्धाको टुंगो लगाउनुपर्छ । त्यसका लागि पनि आवधिक निर्वाचनको झन बढि महत्व र सान्दर्भिक छ भनेर नेम्वाङले जनतालाई शिरमा राख्नुभयो । उहाँका अनुसार संसदमा उठेका प्रश्नको टुंगो लगाउने माथिल्लो अदालत जनता हो । आगामि मंसिर ४ गते चुनावको मिति घोषणा भएको छ । अहिलेको सरकार काम चलाउ भएको छ । उहाँले आफूलाई जिम्मेवार प्रतिपक्ष भनेर घोषणा गर्नुभयो । सरकार संसदबाट भागिरहेको छ । कुनै प्रश्नको जवाफ दिन्न । कुनै कुरा टुंगोमा पुग्दैन भनेर नितिगत आलोचना गर्नुभयो ।

पार्टी र व्यक्तिगत खिसिट्यूरी नगरेकोले सम्मान गर्दछु । नेकपा (एमाले) गौरवशाली पार्टी हो । जनताको बहुदलीय जनवादलाई अभ्यास गर्दै समाजवादी आन्दोलनमा छ । उसको यो विचार नागरिकबाट अनुमोदित र स्थापित भई सकेको छ । यसका नेता कार्यकर्ताले अक्षरसः पालना गर्ने र पार्टीका शिर्ष नेताले गराउने दायित्व निर्वाह गर्नुपर्छ । अबका दिनमा यो देशको शक्तिशाली पार्टी एमाले हो ।

नाम मात्रैले भएपनि वामपन्थी भनेर नेतृत्व गर्न सक्ने हैसियत एमालेसँग छ । एक्लै चुनावी मैदानमा उत्रिन आफ्नै विचार र सिद्धान्त छ । त्यहि अनुरुपको आचरण र व्यवहार देखाउन भने बेला बखत चुकेको देखिन्छ । आफूलाई मन परेन भने त्यसलाई समाप्त पार्ने र हटाउने एउटा भुल हो । माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहितको सिंगो पार्टी रहिदिएको भए के हुन्थ्यो ? उनीहरुलाई अटाउन नसक्नु नेतृत्वको कमजोरी हो र पार्टी थोरै कमजोर बन्ने कारण हो । यस्ता आपद विपदका बेलामा नेम्वाङ जस्ता शालिनहरुले नेतृत्वलाई हच्काउनुपर्छ ।

‘सत्ता पक्षका जब आफू अफ्ठेरोमा पर्नुहुन्छ, पत्रकार र नागरिक समाजको घेराबन्दीमा पर्नुहुन्छ, प्रमुख प्रतिपक्षले प्रश्न उठाउछन्, सदन सडकमा घेराबन्दीमा पर्नुहुन्छ त्यतिबेला गर्ने प्रयास भनेको त्यही हो । जसतो अहिले एम. प्रकरण आयो ।’ पत्रकारलाई यहाँले बडो कुटनीतिक जवाफ दिनुभयो । घुमाउरो पारामा आफूहरु चोखिने अस्त्र फ्याँक्नु भयो । आखिर एम. अधिकारी कोही थियो । त्यो गर्भनर महाप्रसाद अधिकारी होस् या कुनै व्यक्ति थियो र त सर्कुलर भयो । यो सुन्दा तपाईं शालिन, सभ्य व्यक्ति हुँदा हुँदैपनि फट्याँई गर्न भने पछि नपरेको जस्तो लाग्यो । जीवनको यो चरणामा, देशको विशेष अवस्थामा महत्वपूणर् भूमिका निर्वाह गरेको व्यक्ति जोगिनु पर्छ । तत्कालिन संविधान सभाको अध्यक्ष जस्तै पद अब कहिल्यै कसैले नपाउन सक्छ ।

त्यसबेलाको भूमिकाको सम्मान छ । यसलाई बचाई राख्न पार्टीको हित मात्रै हेर्नुहुन्न । मलाई लाग्छ नेकपा एमालेले कुनै किसिमको चालबाजी, झुठो आश्वासन बाँड्नु पर्दैन । कमजोरी छिपाउन शब्दजाल बुन्नु पर्ने कुनै जरुरी छैन । कमिसन बार्गेनिङ गरेको टेप प्रकरण बाहिरीयो तत्कालिन सरकारका प्रवक्ता तथा सूचना सञ्चारमन्त्री गोकुल बास्कोटाले दुनियाँको अपेक्षा भन्दा चाँडो राजीनामा दिनुभयो । विद्रोहमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी र सिके रावत शान्तिपूणर् राजनीतिमा आए । दुनियाँ त्रसित पारेका थिए उनीहरुलाई शान्ति वार्तामा ल्याउन एमाले नेतृत्वको सरकार सफल भयो । त्यसैबेला दुनियाँले वाहवाही भने । जति बटारेर कुरा मिलाउनुस् एम प्रकरणमा एमालेको जवाफले समग्र नागरिक स्पष्ट भएका छैनन् ।

तपाईंको जवाफ पनि पार्टीलाई चोखो देखाउन पर्याप्त थिएन । कांग्रेस नेतृत्वको सरकारका कैयाैँ कमजोरी छन् । एम. प्रकरण र त्यसको जवाफले एमालेलाई पनि ओभानो हुन दिएको छैन । अध्यक्ष केपी ओली अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा संसदमा समय लिएरै बोले र राजीनामा दिने हदमा पुयाईदिए । त्यो भन्दा जटिल समस्या किसानलाई रासायनिक मल र विद्यार्थीलाई समयमै पुस्तक नपाएको थियो । त्यही स्तरको गर्जन एमाले अध्यक्ष ओलीबाट सुन्ने चाहना पुरा भएन । अहिलेसम्म पनि यी दुवै समस्याहरुको उचित समाधान हुन सकेको देखिँदैन । यस विषयमा प्रमुख प्रतिपक्षले प्रभावकारी आवाज उठाउन सकेको कतै देखिएन ।

यसैगरी यती, ओम्नी जस्ता भयङ्करण भ्रष्टाचारका काण्डहरु पनि बाहिरीए । कोरोनाले दुनियाँ त्राहिमाम भएको बेला स्वास्थ्य सामग्रीमा कमिसन प्रकरण निकै घृणित एवम् निन्दनीय थियो । त्यसबेला भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्नेको अनुहार पनि हेर्दिन भनेका ओलीले गतिलो कदम चाल्नुभएन । उहाँले कार्यकर्ता ओत्ने खालको व्यवहार देखाएपछि आलोचना भयो । मलाई लाग्छ एक दुई जना गडबड गर्नेहरुलाई कार्वाही गर्दैमा एमाले जस्तो समुद्र सुक्दैन । बरु एकजना बदमासलाई सजाय दिँदा सयजना सज्जन प्रवेश गर्न सक्ने पार्टी बनेको छ । मैले समकालीन नेताहरुमा सबैभन्दा धेरै सुन्ने भाषण भनेको ओलीको हो । उहाँका शब्द शब्दमा अर्थ र विज्ञता पाउँछु । उहाँले प्रथम शहिद भनेर उच्चरण गरिएका बाकाबिरको बारेमा झण्डै ६ महिनापछि कान्तिपुर पढेर बुझेँ । यस्तै उदाहरणले उहाँमा अध्ययन र ज्ञानको भण्डार छ ।

योजना र कार्यक्रम मुखमै झुण्डिएका छन् । दुई दुई चोटी संसद विघटन गर्दा पनि त्यत्ति आपत्ति जनाइन । सबै घाँटी चपेट्न आएपछि फुत्किन गरेको उपाएका रुपमा बुझेँ । खुरुक्कै राजीनामा दिएको भए नामर्द केपी हुन्थ्यो । विघटनको अस्त्रले शक्तिशाली एमालेको अध्यक्ष बनायो । यद्यपी दुईतिहाइको कम्युनिष्ट सरकाले विश्वास गुमायो । ओलीलाई धेरै घाटा नभएको स्थानीय तह चुनावी परिणामले पुष्टि गरेको छ । बोली भाषामा निकै छुद्रता छ । समकक्षीलाई गरिने व्यवहार असहिष्णु लाग्छ ।

समकालीनहरु आसपासमा बस्नै नसक्ने बनाउनुहुन्छ । त्यस्तो पार्टीमा विपक्षीलाई घोच्दै नघोच्ने, गाली नगर्ने सभ्य नेता यहाँको महत्व छ । ओलीलाई उक्साउने होइन संयम बनाउनपर्छ । नीति सिद्धान्त ठिक भएपनि काम गर्ने ढंग र आँट जरुरी पर्दो रहेछ । बडो मिठा कुरा गरेर लठ्ठै पार्ने एमालेका कमरेडहरु सरकारका उपल्ला पदमा जानुभएको छ । काम भने कर्मचारीले भन्दा एक इञ्च बढी गर्न सक्नुहुन्न । यता गर्दापनि कानुन उता गर्दापनि कानुन भनेर झस्केको झस्केई गर्नुहुन्छ । सत्ता सुखका कारण सुरासुन्दरीमा भुलेका घटनाहरु भेटिन थालेका छन् । कानुन बनाउने र बदल्ने राजनीतिक नेतृत्वले हो । संघीय संरचना अनुसार आफै कानुन बनाउने तहमा गएका छन् ।

एमालेको सरकार प्रमुखले गरेको भनेर देखाउने केही छैन । यहाँको उठाई बसाई र हिँडाई सुस्त सुस्त देखेँ । यो भन्दा सकृय र उफ्रिने जिन्दगी आउँदैन । त्यसैले कुनै सकृय पद ओगटेर बस्ने उमेर भन्दा विज्ञ समूहमा रहने जस्तै लाग्यो । चुनावी हारजित जे भएपनि तपाईंलाई खण्डित गर्छ । सकारात्मक सोँचका धनि, संयम र सद्बुद्धि दिन सक्ने जनशक्ति हो ।

नयाँ पुस्तालाई फिल्डमा खटाएर यहाँ र यहाँ जस्तैको पुस्ताले योगदान गर्नुपर्छ । यहाँहरुले पदको लोभ त्याग्नुभयो भने अवश्य नै यो देश परिवर्तन हुन्छ भन्ने विश्वास छ । संविधान सभा अध्यक्ष हुँदाको यहाँप्रतिको सम्मानित धारणा साउन २१ गते प्रत्यक्ष भेट्दा पनि बदलिएन ।