• मंसिर १२ २०८१, बुधबार

दशैं महिमा : एक विवेचना

आश्विन ६ २०७९, बिहीबार

सनातन हिन्दू धार्मिक परम्परामा आधारित दशैं पर्व यसपाली पनि नजिकिँदै छ । हिन्दू धर्मावलम्बीहरुको मुख्य चाडकोरुपमा मनाइने गरेको यो पर्वको बहुआयामिक महत्व रहेको छ । यो पर्व शरद ऋतुको आश्विन शुक्ल पक्षमा परेवा तिथिदेखि दशमीसम्म गरी दशदिनसम्म धुमधामका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ । जुनदिन भगवती दुर्गाको आरधना गरी पूजा कोठामा भगवतीको स्थापना गरिन्छ ।

यही दिनमा माटो वा तामाको घैंटोलाई घडाकोरुपमा स्थापना गरी जमिनमा गाईको गोबरले लिपेर नदीबाट बालुवा ल्याई मकै, गहुँ, धान छरेर जमरा राखिन्छ । त्यसैदिनबाट दुर्गा पूजाकोरुपमा नौदिनसम्म ९ जना देवीहरुको आरधना र पूजा गरिन्छ ।

देवीहरुमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्धा माता, छैंठौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौंदिन महागौरी र नवौं दिन सिद्धीरात्रीको रुपमा पूजा सम्पन्न भएपछि दशौंदिनमा विजया दशमीको सम्झानामा घरको सबैभन्दा मान्यजनबाट टिका लगाइदिने परम्परा रहि आएको छ ।

दशैंको अवसरमा हिन्दू परिवारका मानिसहरु जतिसुकै महत्वका काम भएपनि छोडेर टाढाटाढाबाट आफ्नो परिवार भएकोमा पुग्ने गर्दछन् । वर्षौंसम्म भेट नभएका मानिसहरु पनि आफूभन्दा जेठा मान्यजनको हाटतबाट टिका थापेर आर्शिवाद लिने गर्दछन् । दशैंको अवसरमा परिवार र आफन्तहरुमा भएका मनमुटावहरुलाई समेत भुल्ने र सम्बन्धलाई पुनरताजकी गर्ने अवसरकोरुपमा नेपाली समाजमा स्थापित रहेको छ । दशैं एक महत्वपूर्ण साँस्कृतिक पर्वको रुपमा नेपाली समाजमा स्थापित भएको छ ।

दशैं हिन्दूहरुको पर्व भएपनि यसबाट धार्मिक, सामाजिक, आत्मिक, व्यवहारीक फाइदाहरु हुने तथ्यलाई मनन गर्नुपर्दछ । दशैंसँग जोडिएका पौराणिक कथाहरुले २ प्रवर्ग बीचको संघर्षको संकेत गर्दछ । विष्णु र मधु कैटबबीचको युद्ध तथा असुर राज महिसासुरको नेतृत्वमा स्वर्गका राजा इन्द्र लगायतका देवताहरुलाई लखेटेपछि विष्णु, ब्रह्मा महेश्वरबाट तेजको बलले उत्पन्न भएकी सिंहवाहिनी भगवतीलाई शक्तिशाली बनाउन सबै देवताले प्रदान गरेको शस्त्र-अस्त्रको प्रहारले महिसासुरलाई वध गर्न सफल भएको कथाले युद्धमा संयुक्त मोर्चाको सिद्धान्त स्थापित गरेको देखिन्छ ।

पार्वती देवीको क्रोधबाट उत्पन्न कौसिकी देवीले शुम्भ र निशुम्भ दैत्यहरुको अत्याचारबाट देवगणहरुको रक्षा गरेको मानिएको छ । यस कथाको संकेत पनि दुई वर्गको बीचको संघर्ष नै हो । तत्कालीन समाजमा रहने गरेका विविध प्रकारमा घटना तथा परिघटनाहरुलाई नियन्त्रण गर्न नारी शक्तिलाई उपयोग गर्ने गरिएको सत्य यस दशैं पर्वको सन्दर्भमा जोडिएको कथाहरुले उद्घाटन गरेको छ ।

यही दशैं पर्वसँग सम्बन्धित कथा रामायणका राजा रामसित पनि जोडिएको पाइन्छ । लङ्काका राजा रावणले सीतालाई अपहरण गरेपछि रावणबाट सीतालाई छुटाउन नवौंदिनसम्म नवदुर्गाको पूजा आरधना गरेपछि दशौं दिनको लडाईंमा रामले रावणलाई युद्धमा पराजीत गरी सीतालाई फर्काउन सफल भएको दिनको सम्झानामा विजया दशमीको हर्षबढाई गरी सिन्दुर जात्राको रुपमा टिका लगाउने चलन सुरु भएको उल्लेख गरिएको छ ।

वास्तवमा रावणलाई जित्नु भनेको कुनै एक व्यक्तिमाथीको विजय मात्र थिएन । किन कि पौराणिक कथामा रावणलाई दशवटा टाउको भएको व्यक्तिको रुपमा परिकल्पना गरिएको छ । यो दश टाउको भएको मानिसलाई नियन्त्रण र निर्देशित गर्ने दश प्रकारको प्रवृत्तिको संकेत स्वरूप मनिएको हो । त्यसैले मानिसको जीवनलाई सकारात्मक र नकारात्मक प्रवृत्तिले नियन्त्रित र निर्देशित गर्दछ । त्यस्तै दश प्रकारमा नकारात्मक प्रवृत्तिहरुहरु रावणमा थिए । उनी आफै त पुलत्स्य ऋषिका नाती थिए । उनका परिवारमा सबै विद्वान थिए ।

वास्तवमा उनको परिवारमा बौद्धिक र बाहुबली व्यक्तिहरुको कमी थिएन । उनी आफै विद्वान र वैज्ञानिक थिए । तर उनमा १० प्रकारमा नकारात्मक प्रवृत्तिहरु थिए । ती दशवटा नकारात्मक पक्षहरु यसप्रकार थिए । १) कामवासना २) क्रोध ३) मोह ४) लोभ ५) मद ६) मात्सर्य ७) स्वार्थ ८) अन्याय ९) अमानवता १०) अहंकार । यिनै नकारात्मक सोंच र प्रवृतिका कारण रावण पतनको दिशामा हिँडेका थिए । यसकारण रावणको वध गर्नु भनेको रावणसँग भएका दश प्रकारका मानवता विरोधी नकारात्मक चिन्तन र प्रवृत्तिहरुको समेत वध गर्नु थियो ।

रावणमा भएका यस प्रकारका नकारात्मकताहरुको अन्त्य गर्न मानव समाजको कल्याण गरेका थिए । यसकारण राजा राम मानव जगतका लागि प्रिय पात्र र भगवानको रुपमा स्थापित हुन सफल भएका थिए । हाम्रो समाजमा दशैं मनाउने नाममा खसी, बोका, कुखुरा, हाँस जस्ता प्राणीको बली दिने गरिन्छ । मिठो खाने, राम्रो लगाउने पर्वको रुपमा दशैं मनाउने गरिन्छ ।

ती अवोध पशुको बली दिएर दशैंमा रमाउने गर्नुभन्दा आफुूसँग भएका मानव विरोधी, समाजमा शान्ति विरोधी गलत चिन्तनहरुको बली दिएर एउटा अनुकरणीय व्यक्तिको रुपमा समाजमा आफूलाई स्थापित गर्ने पर्वको रुपमा दशैंलाई उपयोग गर्न सकेमा मानव समाजलाई एउटा अमूल्य योगदान दिन सकिने थियो । सनातन धार्मिक परम्परा र संस्कारहरु भित्र विद्यमान मानवता विरोधी विचार र व्यवहारहरुलाई वर्तमान समयमा सामयिक र सापेक्ष रुपमा सदुपयोग गरे वर्तमान मानव समाजलाई पनि जनउत्तरदायी बनाउन योगदान पुग्ने कुरामा दुईमत नहोला ।

विश्वमा भौतिकवादी दर्शन प्रादुर्भाव हुनुभन्दा पहिला विश्व मानव समाज रहश्यमयी तरिकाले आलौकिक शक्तिमाथीको विश्वासमा अडिएको थियो । मानिसको जन्म, मृत्यु, सुख, दुःख, प्राकृतिक विपत्ति र उत्पादन यी सबै कुरा अलौकिक शक्तिद्धारा नै निर्देशित छन् भन्ने विश्वास थियो । यसैको आधारमा मानव समाज चलायमान थियो । धार्मिक नियमहरुमा आधारित भएर नै शासकहरु राज्न्यसत्ता चलाउने गर्दथे ।

जबसम्म आधुनिक उत्पादनको प्रारम्भ भएको थिएन तबसम्म इश्वरवादी चिन्तनले बसिभूत गरिरहेको थियो । विश्वमा रहेको सामन्तवादी सत्ताहरुले यस्तै भ्रमहरुलाई प्रयोग गरेर जनतामाथी दमनको डण्डा चलाइरहेका थिए । विश्वमा औद्योगिक क्रान्तिको प्रारम्भ भएदेखि त्यसप्रकारको धार्मिक प्रकारको चिन्तन प्रणालीमा विस्तारै क्षयिकरणको सुरुवात भएको थियो । पुरानो सामन्तवादी उत्पादन प्रणालीलाई नयाँ पूँजीवादी उत्पादन प्रणालीले विस्थापित गरेर नयाँ र आधुनिक युगको प्रारम्भ भएपछि समाजमा नयाँ मान्यताहरुको पनि उदय हुन पुग्यो ।

उत्पादन प्रणालीलाई आधुनिकीकरण गर्नेक्रममा वाष्प इञ्जिनको आविष्कारपछि आएको उत्पादनको तिब्रताले ल्याएको चेतनाको वृद्धिले पनि सामन्तवादी चिन्तन प्रणालीमा ह्रास ल्याउने काम गर्यो । जस्का कारण अलौकिक शक्तिको विश्वासमा गरिने धार्मिक कर्मकाण्डहरुमा उल्लेख्य रुपमा परम्परागत पर्वहरु हराएर गइसकेको छ भने केही पर्वहरु बाँकी रहेका छन् ।

नेपाली हिन्दू धर्मालम्बीहरुले मनाउँदै आएको दशैं पर्व पनि यस्तै पर्वमा पर्दछ । नेपालमा दशैं पर्वजस्तै कतिपय पर्वहरुले मानव समाजलाई उपयोगी योगदान गरेको देखिन्छ । माघी, लोहछार, उभौली, उद्यौली, इदउल फित्र, छठ पर्व जस्ता पर्वहरु मनाउँदा मानव स्वास्थ्यलाई सकारात्मक योगदान पुर्याउने विज्ञहरुको मात रहेको छ । दशैं पनि मानव जीवनमा एक बहुआयामिक प्रभाव पार्ने पर्व मान्न सकिन्छ । यसपर्वका मानिएका नौ दुर्गाहरु फरकफरक विषयका प्रतिनिधिमूलक पात्रको रुपमा उभ्याइएका छन् ।

ती नवैजना देवीहरुले फरकफरक समयका विषयगत चिनारीको प्रतिनिधित्व गर्दछन् । समाजमा विद्यमान मानव हित विपरीतका चिन्तन र प्रवृत्तिको दमन गर्न उदय भएका ती देवीहरु मातृ सत्ताकालीन नेतृहरु थिए । जतिबेला आफ्ना गणको सुरक्षा गर्ने जिम्मा उनीहरुमा थियो । आफ्नो गणमा आपद विपद पर्दा विपदलाई परास्त गर्न विभिन्न उपाय गरी आफ्नो गणको रक्षा गर्न सकेकै कारण आजको समयसम्म पनि उनीहरुको वीरगाथाले महत्व पाउन सफल भएको हो ।

दशैंमा प्रयोग हुने जमराकै कुरा गर्ने हो भने पनि जौ अत्यन्त महत्वपूर्ण अन्न हो भन्ने कुरा मानिसको स्वास्थ्यको हिसावले अत्यन्त फलदायी मानिन्छ । यसको महत्व यसको जमराको रसको व्यापारले सावित गरिदिएको छ । पूजा गर्ने स्थानलाई गाईको गोबरले लिपेर शुद्ध बनाउने विषय स्वास्थ्यका हिसावले अत्यन्त लाभदायक छ । गाईको गोबरले किटाणुहरुलाई नष्ट गर्ने हुनाले मानव स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने कुरा प्रमाणित भएको छ ।

नवदुर्गाको क्रममा शक्तिको प्रतीक काली, धनको प्रतिक लक्ष्मी र ज्ञानको प्रतिक सरस्वती समेतको पूजा हुने भएकोले यो विषयगत रुपमा पनि बहुआयामिक रहेको छ । अन्याय, अत्याचार, शोसण, दमन जस्ता आसुरी प्रवृत्ति विरुद्धका संघर्षमा न्याय र सदाचारको विजय स्वरुप मनाइने दशैं पर्व मनाउँदा देखिने नकारात्मक पक्षहरुलाई बहिष्कार गर्ने इच्छाशक्ति अहिलेको मानव समाजले देखाउन जरुरी छ । दशैं पर्वले दिएको मानव हित अनुकूलका सन्देशहरुलाई मनन नगरी आडम्बर मात्रै दशैं पर्वको औचित्य सावित नहुने कुरा आत्मसाथ गर्नु पर्दछ । ऋण गरेर दशैं मनाउने र दशैंलाई खर्चालु बनाउने प्रवृत्तिलाई सही मान्न सकिन्न ।

दशैं पर्वको ऐतिहासिक महत्वको शिक्षालाई सार्थक बनाउन यसको सारतत्वलाई बुझ्न जरुरी छ । रजगुण, तमगुण र सतोगुण । यी तिनै गुणबाट अभिप्रेरित यस पर्वले दिने अन्याय विरुद्ध संघर्ष गर्ने उत्प्रेरणालाई आत्मसाथ गर्दै वर्तमान समाजमा विद्यमान साम्राज्यवादी साँस्कृतिक हस्तक्षेपबाट उत्पन्न उत्तरआधुनिकतावादी छाडातन्त्र र पूँजीवादी विकृतिले जन्माएको व्यक्तिवादी अमानवतावादी प्रवृत्तिहरुलाई नोकरशाही दलाल पूँजीवादको चाकडी गरेर जीवनयापन गर्ने मानिसकतालाई प्रगतिशील साँस्कृतिक अवधारणले धुन आवश्यक छ ।

नेपालको ऐतिहासिक सम्पदा र संस्कृतिको संरक्षण गर्दै कौलिकवादी साँस्कृतिक अभियानद्वारा प्रशिक्षित गर्दै वर्तमान पुस्तालाई देशको स्वाधिनता रक्षाको यात्रामा लामवद्ध गर्नु वर्तमान समयको माग हो भन्ने सन्देश सहित यसपालीको दशैं मनाउँदा दशैं पर्वको सार्थकता अझ उजागर हुनेछ । देशभित्रका जनविरोधी प्रतिकृयावादी तथा वैदेशिक तावेदारीवादी शक्तिहरु र नेपालको राष्ट्रिय स्वाधीनतामाथी धावा बोल्ने साम्राज्यवादी, क्षेत्रीय प्रभुत्ववादी शक्तिहरुविरुद्ध संघर्ष गर्ने प्रेरणा प्राप्त गर्ने ढाँचाबाट यसपालीको दशैंलाई सदुपयोग गर्नुपर्दछ । यो वर्तमान समयको आवश्यकता हो ।

दशैंको महिमाले एउटा सैद्धान्तिक मान्यता प्रदान गरेको छ । एउटी आसुरी निसाचर पासविक चिन्तनधारा विरुद्ध संगठित प्रतिरोधको चरित्र निर्माण गरेको छ । प्रतिरोधीहरुको एकताले अन्यायलाई परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको छ । हामीले दशैंभित्र खुसी र उल्लास मात्र देख्यौं र बुझ्यौं भने त्यसभित्र अन्तरनीहित प्रतिरोधी चिन्तनलाई देख्न सकेनौं भने र त्यसभित्र भएको राजनैतिक प्रतिद्वन्दिताको सारतत्वलाई ठम्याउन सकेनौं । हाम्रो समाजमा विद्यमान विपरीत विचारहरुको दृष्टिले एकथरीले धार्मिक कट्टरतावादी भावधाराबाट अवलम्बन गर्यौं ।

अर्को पक्षले पूणर्रुपमा निषेधको दृष्किोणबाट इन्कार गर्यौं । यसकारण दशैं पर्वले समाजलाई दिन खोजेको अग्रगामी सन्देश ओझोलमा पर्यो । यो पर्व एउटा समाजिक प्रतिष्ठाको विषय मात्र बन्यो । यसबाट हुने वर्गीय शिक्षाबाट समाज बञ्चित रह्यो । तत्कालिन समाजमा रहेका दमनकारी अत्याचारी पासविक चरित्रका प्रतिनिधिहरु मधु र कैटव, सुम्भ, निसुम्भ र महिषाशुर जस्ता रक्तपिपासुहरु विरुद्ध तत्कालीन गणनायकहरुले शान्ति सुरक्षा र न्यायका लागि गरेको प्रतिरोधी युद्धको विजयलाई मानकको रुपमा स्थापित गर्न यो दशैं पर्व मनाउने परम्परा बसालेका थिए भन्ने यथार्थलाई बुझाउनु पर्ने वर्तमान समयको कार्यभारलाई पूरा गर्न को अघि बढ्ने ? यो प्रश्न अनुत्तरित रहनु हुँदैन ।