काठमाडौं । धनगढीमा अनशनरत डा. गोविन्द केसी उपचारका लागि काठमाडौं आएका छन् ।
स्वास्थ्य सेवामा सुधारको माग गर्दै अनशन बसेको आज १० औं दिन केसीको स्वास्थ्यमा समस्या आएपछि उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् ।
काठमाडौं आएका उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ भने केसी सिकिस्त हुँदा पनि अनशन तोड्न मानेका छैनन् । उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् ।
सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो ।