• फाल्गुन २६ २०८२, मंगलवार

रुसले युक्रेनमा थप सेना पठाउँदै

आश्विन ५ २०७९, बुधबार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा युद्धका लागि आंशिक लामबन्दीको घोषणा गरेका छन् । यसको अर्थ रुसले युक्रेनको युद्धमा थप स्रोत साधन र सेना परिचालन गर्नेछ । पुटिनले देशलाई सम्बोधन गरेको टेलिभिजन सम्बोधनमा भने, ‘रुसको क्षेत्रीय अखण्डता कायम राख्न यो महत्वपूणर् कदम हो ।’
उनले भने, ‘पश्चिमी संसारले सोभियत संघको जस्तै रुसको अन्त्य चाहेको थियो । ’
भाषणमा अरु के भने ?
-पुटिनले युक्रेनमा जारी सैन्य संघर्षमा थप सेना पठाउने घोषणा गरेका छन् । यसको मतलब रूसी सेनामा सेवा गरिसकेका मानिसहरूलाई फिर्ता बोलाइनेछ ।
-यी सेनाको प्रस्थान आजबाट सुरु हुनेछ ।
-रुसलाई आणविक हमलाको नाममा पश्चिमा राष्ट्रहरुले ब्ल्याकमेल गरेको पुटिनले आरोप लगाएका छन् ।
-पुटिनले आफूसँग पश्चिमी देशहरूको धम्कीको जवाफ दिन पर्याप्त हतियार रहेको बताएका छन् ।
-उनले डोनबासमा ‘आफ्ना’ को सुरक्षाका लागि सम्भावित सबै उपाय परिचालन गरिने बताए ।
-उनले रुसमा हतियारको उत्पादन बढाउनका लागि रकम उपलब्ध गराउन आदेश दिएका छन् । रुसी संसद डुमाका सदस्य येभगेनी पोपोभले बीबीसीलाई भने, ‘मैले बुझेअनुसार केही अनुभवी सैनिकहरू खटाइने र सेनाबाट भर्खरै अवकाश लिएकाहरूलाई बोलाइनेछ । आम जनतालाई युद्धको मैदानमा पठाउने कुरा होइन ।’