• मंसिर १५ २०८१, शनिबार

नुवाकोट र रसुवामा पूर्वाधारका ४ सय ५६ योजनालाई दुई अर्ब

आश्विन ३ २०७९, सोमबार

नुवाकोट । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले दुई जिल्लामा चार सय ५६ योजना कार्यान्वयन गर्ने भएको छ।

त्यसका लागि चालु आर्थिक वर्षमा करिब दुई अर्ब बजेट प्राप्त भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार ब्रजाचार्यले जानकारी दिए। उनका अनुसार सडक र पुल निर्माणको कार्यान्वयनमा रहेका १३ वटा बहुवर्षीयसहित थप आएका चार सय ५६ योजनालाई दुई अर्ब ९५ करोड बजेट प्राप्त भएको हो।

प्राप्त भएको बजेट, योजना तथा कार्यक्रमअनुसार बहुवर्षीयअन्तर्गत नौ योजनामा ५७ करोड, सहरी तथा स्थानीय सडकको तीन सय ४८ योजनामा ८८ करोड १० लाख, सडक मर्मत सम्भार र सुरक्षा तथा अन्य पूर्वाधारका २२ योजनामा तीन करोड ८० लाख, सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १५ वटा योजनामा चार करोड १४ लाख प्राप्त भएको छ।

सम्भावित प्रादेशिक सडक चार योजनालाई छ करोड, प्रादेशिक सडक एवं झोलुङ्गे पुलको ४० योजनालाई १८ करोड ११ लाख, सम्भावित रणनीतिक सडक तीन योजनालाई चार करोड ५० लाख र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको १७ योजनालाई ११ करोड बजेट प्राप्त भएको छ।

संघीय सरकारबाट आएको सशर्त योजना र प्रदेश सरकारबाट नियमित कार्यक्रमअन्तर्गत प्राप्त भएका योजनाको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले ५० लाखभन्दा ठूलालाई निर्माण व्यवसायीमार्फत् र सोभन्दा कमका योजना उपभोक्ता समितिमार्फत् कार्यान्वयन गरिने कार्यालय प्रमुख ब्रजाचार्यले जानकारी दिए।

उनका अनुसार उपभोक्ता समितिमार्फत् गर्ने कामलाई सम्बन्धित पालिकाको सिफारिसमा सम्झौता गरेर काम सुरु गर्न योजना सम्बन्धित पालिकामा पठाइएको छ।