काठमाडौं। राजस्व अनुसन्धान विभागले शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग घरजग्गा कारोबारको विवरण मागेको छ । घरजग्गाको मूल्य बढी भएको तर पुँजीगत लाभकर छली भएको आशंकाले विभागले शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग कारोबारको सम्पूर्ण विवरण मागेको हो ।
घरजग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको उजुरी समेत परेपछि विभागले यस्तो विवरण मागेको हो । केही कारोबारमा पुँजीगत लाभकर छलिएकै पाइएपछि थप विवरण माग गरिएको विभागका महानिर्देशक झलकराम अधिकारीले बताए ।
‘ठूला कारोबार र उच्च मूल्यका शहरी क्षेत्रका कारोबारमा पुँजीगत लाभकर छलिएको उजुरी आएको छ, शंकास्पद कारोबार पनि भएको देखिएको छ, यसैले हामीले देशभरका प्रमुख मालपोत कार्यालयहरुबाट विवरण माग गरिरहेका छौं,’ महानिर्देशक अधिकारीले भने ।
विभागले सिमराको एउटा कारोबारको विषयमा भने अनुसन्धान सुरु नै गरेको छ । सिमराको १८ विगाहाको जग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको आशंका गर्दै विभागले अनुसन्धान सुरु गरेको हो । सो कारोबारमा पुँजीगत लाभकर छल्ने उद्देश्यले कारोबार रकम निकै नै कम देखाइएको पाइएको छ ।
घरजग्गाको मूल्य अत्यधिक बढेको समयमा जग्गा किन्दै बेच्दै गर्नेहरुले प्रशस्त आम्दानी गरेका थिए । तर, यसरी आम्दानी गरेर बेच्दा पनि सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरी राजस्व चुहावट गरेको उजुरी परेपछि विभागले विवरण नै माग गरेर अनुसन्धान थालेको हो ।
अहिले आफूले किनेपछि ५ वर्ष वा सोभन्दा बढी समय आफैले राखेर बेच्दा जति फाइदा हुन्छ त्यसको २।५ प्रतिशत र ५ वर्षभन्दा कम समयमा विक्री गर्दा जति फाइदा हुन्छ त्यसको ५ प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्छ । विभागले अहिले यही करको अनुसन्धान थालेको हो ।
विभागले काठमाडौं उपत्यका र मूल्य धेरै भएका शहरी क्षेत्रमा मालपोत कार्यालयहरूबाट विवरण मागेको जनाएको छ । यसरी विवरण माग्दा कति समयसम्मको विवरण मागिएको छ भन्ने विषयमा भने विभागले केही खुलाएन ।
‘हामीले काठमाडौं उपत्यका र मूल्य धेरै भएका शहरी क्षेत्रका मालपोत कार्यालयहरुबाट घरजग्गा कारोबारको विवरण मागेका छौं, केही मालपोत कार्यालयहरुबाट विवरण आउन पनि थालेको छ,’ विभाग स्रोतले भन्यो ।
सरकारले गत साउन महिनामा घरजग्गा कारोबारबाट ७४ करोड ७२ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ भने भदौ महिनामा १ अर्ब ५ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ । २०७८ साउन महिनामा भने सरकारले २ अर्ब ४ करोड रुपैयाँ पुँजीगत लाभकर घरजग्गा कारोबारबाट प्राप्त गरेको थियो ।