यो वर्ष मुस्ताङ जिल्लामा लगभग ३९ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । त्यसमध्ये एक हजार ५६६ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेको भन्ने समाचार आएका छन् । जुन हाम्रा लागि धेरे खुसीको कुरो हो । माथिल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक निश्चय नै केही गुणस्तरीय र खर्चिलो हुने गर्छन् ।
तापनि भर्खरै माथिल्लो मुस्ताङमा जाने पर्यटकहरुको दिन छोटिएको र खर्च पनि घटेको भन्ने सम्बन्धमा पोखरामा छलफल भएको भन्ने समाचार आएको छ । सो छलफलमा स्थानीय व्यवसायीहरुले दिन घट्न नहुने र खर्च पनि कम हुन नहुने विचार राखेका थिए । जुन सही विचार हो । त्यसो त माथिल्लो मुस्ताङ भ्रमणका लागि विदेशी पर्यटकले नेपाल सरकारलाई सलामी दस्तुर मात्रै एकजना बराबर पाँच सय (५००) अमेरिकी डलर तिर्नुपर्छ । यो १० दिनका लागि हो ।
त्यो भन्दा बढी दिन बस्नु परेमा कारण खुलाएर अरु दुई दिनको थप सलामी दस्तुर तिरेर विदेशी पर्यटकहरु माथिल्लो मुस्ताङमा बस्न सक्छन् । यसरी कुनै पनि विदेशी पर्यटक १२ दिनभन्दा बढी माथिल्लो मुस्ताङमा बस्न, घुम्न पाउँदैन ।
जे होस्, नोभेल कोरोना भाइरस (कोभिड-१९) ले ल्याएको महामारीले गर्दा विश्व पर्यटन नै धरमरमा रहेको बेला माथिल्लो मुस्ताङमा एक हजार ५६६ जना विदेशी पर्यटक भ्रमणमा जानु भनेको साँच्चै सकारात्मक संकेत हो ।
यसले गर्दा स्थानीय वासिन्दाहरुको आम्दानीमा पनि केही न केही भरथेग हुन्छ । नेपाली गाईड र भरियाले रोजगारी पाउने भए । साथै सरकारले सलामी पाउने त छँदैछ । त्यसैले हाल अलि बढी नै संख्यामा पैmलिरहेको कोभिड-१९ को चौथो लहर यत्तिमै चाँडै, रोकिएमा हामीले आगामी वर्ष सजिलैसँग २३, २४ सय विदेशी पर्यटक माथिल्लो मुस्ताङ भ्रमण गराउन सक्थ्यौं । तर, नोभेलकोरोना भाइरस (कोभिड-१९) को पैmलावट रोक्न सक्ने तागत हामीसँग नभएकोले गर्दा कामीले कामना गर्ने, चाहने गर्ने मात्रै हो ।
हुन त लगभग १२, १३ वर्षअघि फ्रान्सको राजधानी पेरिसमा मुख्यालय रहेको ‘विश्व सम्पदा सम्बन्धी काम गर्ने युनेस्कोले माथिल्लो मुस्ताङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भनी समाचार आएको थियो । तर, अनेक कारणले गर्दा हालसम्म पनि माथिल्लो मुस्ताङलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सकेको छैन, गरेको छैन ।
त्यसबारेमा पछिल्लो अवस्था के छ ? हालसम्म कसैलाई अत्तोपत्तो छैन, चासो पनि छैन ! निश्चय नै विश्व सम्पदा सूचीमा माथिल्लो मुस्ताङ पनि सूचीकृत भएमा माथिल्लो मुस्ताङ मात्रै नभएर नेपालकै महत्व अरु बढेर जाने छ, नेपालको अर्को एक सम्पदा विश्व सम्पदा सूचीमा थपिने छ । त्यसो भएपछि माथिल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या र खोज-अुनसन्धानकर्ताहरुको जिज्ञासा पनि अरु बढ्ने छ । साथै खोज-अुनसन्धानकर्ताहरु माथिल्लो मुस्ताङ आउने आशा गर्न सकिन्छ ।
जे होस्, स्थानीय भाषामा ‘ल्हो मन्थाङ’ भनिने माथिल्लो मुस्ताङलाई अंग्रेजी भाषामा फोरबिड्डन किङ्डोम, हिड्डेन किङडोम, मडसिटी, लस्ट किङ्डोम, अपर मुस्ताङ आदि नामले चिनिन्छ ।
स्मरणीय छ, २०४६ सालअघि त्यहाँ कानुनीरुपमा विदेशीहरुका लागि प्रवेश निषेध थियो । २०४६ सालको राजनैतिक परिवर्तनसँगै माथिल्लो मुस्ताङ अर्थात् अपर मुस्ताङमा विदेशीहरुले भ्रमण गर्न पाउने व्यवस्था गरियो । तर अमेरिकी नागरिक स्टान आर्मिङटङद्घारा लिखित र लन्ली प्लानेटद्घारा प्रकाशित ‘द हिमालय किङ्डोम’ नामक किताबमा लेखिए अनुसार विदेशीहरुका लागि प्रवेश निषेध भनिए तापनि २०४६ सालअघि पनि तत्कालीन शाही पाहुनाहरु भने सुटुक्क माथिल्लो मुस्ताङ जान्थे ।
त्यस्तै गुगलमा सर्च गरेर हेर्दा भने सन् १९५२ मा स्वीस नागरिक टोनी हेगनले पहिलो विदेशीको रुपमा ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ भने दोस्रो व्यक्तिको रुपमा सन् १९६४ मा फ्रेन्च नागरिक माइकल पिसेलले ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ ।
जे होस्, २०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित सर्तहरुसहित माथिल्लो मुस्ताङ अर्थात् अपर मुस्ताङमा विदेशीहरुले पर्यटकीय उद्धेश्यले भ्रमण गर्न पाउने गरी खुल्ला गर्यो ।
जस्तै माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने पर्यटकहरु कम्तिमा २ जना हुनैपर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत् मात्रै जान पाउने, एकजना सरकारी सम्पर्क अधिकृत अनिवार्य रुपमा लानै पर्ने (हाल खारेज भैसकेको छ ।), १० दिनमा ट्रेकिङ सक्नै पर्ने (आधार खुलाएर थप २ दिन थप्न सकिने), एकजना पर्यटक बराबर ७० डलर सरकारलाई राजस्व तिर्नुपर्ने, वर्षमा एक हजार भन्दा बढी पर्यटक जान नपाउने, कुनै पनि पर्यटकले स्थानीय समुदायलाई सिधै आर्थिक सहयोग लगायत अन्य सहयोग दिन नपाउने, दिनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनुपर्ने आदि सर्तहरुसहित विदेशी पर्यटकलाई भ्रमण गर्न खुल्ला गरिएको थियो ।
नेपालका अन्य केही हिमाली क्षेत्रझैं निषेध गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकहरुका लागि खुल्ला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) चारसय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए ।
त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकहरुको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । अर्थात् उक्त वर्ष १,०६६ जना विदेशी पर्यटकहरुले माथिल्लो मुस्ताङको भ्रमण गरे । तर दुर्भाग्य, यो क्रम लामो समयसम्म जारी रहन सकेन । सन् १९९९ मा १,०५७ जनाले भ्रमण गरे । त्यसपछि देशमा चलेको हिंसा प्रतिहिंसा (सरकार-तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकहरुको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुन माथिल्लो मुस्ताङ जाने पर्यटकहरुको संख्या तीन अंकमा झर्यो । यो क्रम सन् २००६ सम्म जारी रह्यो ।
२०६२/२०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १,१५७ जना विदेशी पर्यटकहरुले माथिल्लो मुस्ताङको भ्रमण गरे ।
सन् २००८ मा त स्थानीयवासीहरु नै आश्चार्य चकित हुने गरी विदेशी पर्यटकहरु माथिल्लो मुस्ताङको भ्रमणमा आए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २,१९४ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरे । भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै उस्तै छ । त्यतिमात्रै होइन, उनीहरुबीच धर्म, भाषा, भेषभुषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालन जस्तै घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका उही, खेती गर्ने तरिका उही ।
अझ माथिल्लो मुस्ताङको तिब्बतभन्दा पृथक पहिचान के छ भने, माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्राचीन गुफाहरु प्रशस्तै छन् । जहाँ प्राचीन समयमा मानव बस्ती रहेको भनी विभिन्न अनुसन्धानहरुबाट पत्ता लागेको छ । जुन पर्यटकहरुका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय वासिन्दा एवम् देशकै लागि पनि गर्व गर्न लायक कुरा हो ।
हाल नेपालकाे तर्फबाट माथिल्लो मुस्ताङ भ्रमणमा जान चाहने विदेशी पर्यटकका लागि पाँच सय अमेरिकी डलर सलामी दस्तुर (रोयल्टी) तोकिएको भए तापनि त्यसअघि माथिल्लो मुस्ताङ भ्रमण गरेवापत विदेशी पर्यटकले तिर्नुपर्ने सलामी दस्तुर ७ सय अमेरिकी डलर थियो । साह्रै महँगो भयो भन्ने गुनासो र घटाउने आग्रह धअधिकांश पर्यटकको रहने गरेको थियो । त्यसैले पछि नेपाल सरकारले १० दिनको भ्रमणमा लाग्ने सात सय अमेरिकी डलरलाई घटाएर पाँच सयमा झारेको हो ।
हुन त माथिल्लो मुस्ताङ जस्तो ऐतिहासिक, पुरातात्विक र प्राचीन बस्ती (सहर) मा जताभावी फोहर-मैला फाल्ने, दिसापिसाब गर्ने, वातावरण बिनास गर्ने, संस्कृति नष्ट गर्ने, मगन्ते व्यवहार देखाउने, अनुशासनमा नबस्ने ‘वेस्ट टुरिष्ट’ अर्थात् ‘ब्याक प्याकर’, नेपाली पर्यटन क्षेत्रमा चलेको भाषामा भन्ने हो भने ‘झोले’ पर्यटकलाई लर्को लगाउनु भन्दा संख्या थोरै भए पनि गुणस्तरीय, खर्च गर्न धक नमान्ने र गुनिलो पर्यटकलाई मात्रै प्रवेश गर्ने नीति पछिसम्मै लिनुपर्ने देखिन्छ, नेपाल सरकारले ।
थप जानकारी चाहिए : ९८४९९८५९९७, ९८६२४३६०४९ ।