• असार २० २०८१, बुधबार

सफलताबाट प्राप्त धन बाँड्नु पर्छ

आश्विन १ २०७९, शनिबार

सन् १९४९ क्यानडाको सेगुनेमा जन्मिएका सफल उद्योगी सर्ज गोडिन असफलताको गहिरो जगबाट स्थापित भएका हुन् । सम्पत्ति पूरै आगलागी भएर खरानीको जगबाट उठेका हुन् उनी !

क्यानडेली धनाढ्य गोडिन घरबारविहीन भए पनि सपनाविहीन भने कहिल्यै भएनन् । उनी १७ वर्षको छँदा आफ्ना बुवाले सञ्चालन गरेको काठ मिल आगलागी भएपछि अलपत्र परेको गोडिन परिवार निकै कठिनाइका बीचबाट उठ्न सफल भयो ।

क्यानडा नेपालभन्दा धेरै विकसित छ । त्यहाँ गोडिनको बुवाको पालामा उनको क्यानडास्थित काठ मिलमा सन् १९६६ मा आगालागी आगलागी हुँदा क्षतिपूर्तिको व्यवस्था त थियो, तर उनको सःमिलको बिमा थिएन ।

यसै कारण परिवारले सर्वस्व गुमाउनु पर्यो । त्यति बेला पनि अरूहरूले बिमा कम्पनीहरुबाट क्षतिपूर्ति रकम लिएर आफ्ना व्यवसाय पुनः सञ्चालन गरिरहेका थिए । तर गोडिन परिवार पुरानो व्यवसाय पुनः सञ्चालन गर्नसक्ने अवस्थामा थिएन ।

यस कारण पनि गोडिनका बुवा घरखर्च चलाउन जागीर खान थाले । अब गोडिनलाई स्कुलको फि तिर्न र कापी कलम किन्न निकै हम्मेहम्मे पर्न थाल्यो । उनी आफैले यो खर्च जुटाउनु पर्ने भयो ।

फलतः स्कुल बिदा भएपछिको समयमा साँझपख गोडिनले सुपरमार्केटमा काम गर्न थाले । शनिबार पनि उनले घरमा आराम गर्न पाएनन् ।
उनको बुवाको सःमिलमा आगो लागेपछि आराम र चैनले उनीहरूबाट केही समयका लागि विदा लिएर टाढैको यात्रामा निस्किइसकेको थियो । भएको सम्पत्ति सबै गुमेपछि उनीहरू एउटा सानो घरमा सिमित हुन पुगेका थिए ।

सुपर मार्केटको काम बाहेक गोडिनले बिदाको दिनमा ड्राइ क्लिनर्समा काम गर्न थाले । व्यवसायी बन्ने उनको इच्छा कहिल्यै मरेन ।
यसका लागि उनले २० वर्षको उमेरदेखि कमाएको रकमको केही हिस्सा अनिवार्य बचत गर्न थाले । २६ वर्षमा पुग्दा नपुग्दै उनले ‘सीजीआई कम्पनी’ स्थापना गरे । यो कम्पनी अहिले विश्वचर्चित आईटी कम्पनी बनिसकेको छ ।

गोडनको जीवनमा सबैभन्दा तीतो अनुभव भनेको उनको सम्पत्तिहीन विगत नै हो । उनी सम्झन्छन्, ‘म फेरि त्यो पुरानो कुरा सोच्न पनि चाहन्न, जतिबेला सर्वस्व गुमेर म सीजीआई स्थापनाका लागि छट्पटिँदै व्यग्रताका साथ दिन काटिरहेको थिए ।’

क्यानडाको लाभल विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेपछि २ वटा कम्पनीमा काम गरे । सन् १९७६ मा आएर मात्र गोडिनले आफ्नै कम्पनी सीजीआई स्थापना गरेका थिए ।

त्यतिबेला क्यानडामा कम्प्युटर व्यवसायको लहर नै चलेको थियो । सुरूमा ग्यारेजमा कार्यालय खोलेर व्यवसाय सुरु गरेका उनले पहिलो वर्षमा नै १ लाख ३८ हजार क्यानेडियन डलर आम्दानी गरेका थिए । यो आम्दानी आफैमा निकै बढी थियो ।

समयक्रमसँगै गोडिनले सन् २०१२ मा युरोपियन कम्पनी लोजिका किने । अब सीजीआईमा कामदारको संख्या दोब्बर भयो । सीजीआई कम्पनीमा काम गर्ने ३१ हजार कामदारमा अब थप भएर कामदारको संख्या ६८ हजार पुगेको थियो ।

विश्वभरका ३ हजारभन्दा बढी सरकारी कार्यालयदेखि विश्वका २५ वटा ठूला बैंक पनि सीजीआईका ग्राहक बनिसकेका छन् । टायर उत्पादक कम्पनी मिचेलिन, विमान कम्पनी एयर फ्रान्स र लन्डनको हिथ्रो विमानस्थल पनि उनका ग्राहक छन् ।

गोडिन अहिले केही बढी सन्तुष्ट छन् । तर उनले कम्पनी अझै ठूलो बनाउने सपना देख्न छाडेका छैनन् । अहिले उनले आफ्ना कर्मचारीलाई आफ्नो कम्पनीको सेयरधनी बन्न आग्रह गरिरहेका छन् ।

उनी भन्छन्, ‘मुनाफा कमाउने मात्र होइन, यो बाँड्नु पनि पर्छ ।’ सन् २००० मा उनले क्यानडाका गरिब परिवारमा जन्मेका बालबालिको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले युथ लाइफ नामक संस्था खोलेर जनसेवा गरिरहेका छन् ।

गोडिन सबैलाई भन्दै हिँड्छन्, ‘यदि तिमीले व्यवसायमा सफलता हासिल गर्ने अवसर पायौ भने त्यसबाट आएको आम्दानी अरू मानिसलाई पनि बाँड !’