घरमाथीको चौपारीमा
घाँसको भारी बिसाई मनका पोका खोल्ने
दिदी-बहिनी थोरै हुन्छन् रे आजभोली
विहे र पूजामा छमछमी नाच्ने साँहिलीहरु
किन किन भेटिँदैनन् रे गाउँमा ।
असारको रोपाइँमा युवाहरु हुँदैनन् रे खेतमा
सकी नसकी खेत रोप्दैछन् रे बुढा बाआमा
उमेर ढल्केकाले रोप्दा मुरी होइन पाथी मात्रै आयो अरे धान
युवा जति विदेश छन् धन कमाउने लालसामा
गाउँमा कान्छा बा र कान्छी आमा मात्रै छन् अरे आजभोली
बच्चा पढाउने बहानामा शहर पसिन् अरे बुहारी
लाहुरेले नै पठाउँछ अरे बुहारीलाई कोठा भाडा
‘नजाउ’ भन्दा आमाले बुहारीले ‘भो जान्छु’ भनिन् अरे
सुख काट्न गएकी रे शहरमा बुहारी
घरगृहस्थी नचाइने झैं गरिन् अरे ।
के देख्न पर्यो यी आँखाले
के सुन्न पर्यो खै यी कानले
घरमा पैसा पठाउनै छोड्यो रे
पल्लो गाउँको शेरेले
शेरे त उतै खाडीतिर अर्कैसित लागेको छ रे
शहर पसेकी सुन्तलीको शहरमै बेहाल छ रे
चाडपर्वमा पनि खासै रमाइलो हुँदैन रे
चाडहरु त आजभोली आडम्बर देखाउने माध्यम भाछन् रे
झ्याउरे भाका पनि हराउँदै गयो रे मेरो
बज्न छाडे रे गाउँमा मादल र बाँसुरी
र्याप र पपले खायो रे नेपाली कला र संगीत ।
पल्ला गाउँले वीरेको लास आयो रे बाकसमा
यो घटनाले शोकमग्न छ रे बस्ती
तल्लाघरे कान्छाको हात लग्यो मेसिनले अरबमा
‘नआउनु रैछ दुःख पाएँ भन्थ्यो अरे’ ।
ऊ… माथिको रनेको छोरोले फोनमा बाबालाई
‘छिटो आउनु आमा त हुनुहुन्न घरमा’ भन्थ्यो रे
परदेशले सिध्याएछ बरै नेपालीको भावना त
छोराको कुरा सुन्दा रनेको मन कस्तो भए होला ?’
छोराको मायाले उसको मन छियाछिया भए होला ।
उद्यम गर्छु भन्दा ऋण पाउनै गाह्रो छ रे नेपालमा
आफन्त भन्दा पैसा भन्दा प्यारो मान्छन् अरे समाजमा
नातावाल र चाकडीवालले देशको ढुकुटी लुटिराछन् रे नेपालमा
गनाएर भ्रष्टाचारले नाक थुनेर हिँड्नु पर्छ रे
च्याप्नै लाग्यो अरे महँगीले घाँटी
विदेशीले पठाएको पैसाले खर्च धान्नै मुस्किल छ रे
विकास भन्नु त डोजरले बाटो खन्नु मात्रै छ रे
त्यो पनि खेती गर्ने खेतबारी नै मासेर
त्यो डोजर पनि ठालुहरुकै आफन्तको हो रे
प्रगतिको बासना भन्दा दुर्गतीको दुर्गन्ध छ रे धेरै ।
त्यसैले भन्छु
हे युवा देशको माया चटक्कै नमार
पैसाको लागि धेरै नबस विदेश
विदेशमा सिकेको सीप लिएर जाऊ
नेपालमै केही गर
चाह्यौ भने पक्कै केही गर्न सक्छौ
बरु बुहारीहरु शहर छिर्नुको कारण खोज्नु पर्छ
युवा विदेशीने बाध्यताको खोजी गर्नै पर्छ
आफ्नै माटोमा केही गर्नु नै छ
सबैले आफ्ना लागि गर्दा देशकै लागि गरेको ठहर्छ ।
पराईले आँखा लगाएको भूमिलाई
हामी आफैले जोगाउनु पर्छ
दुर्दसामा जान लागेको देशको मुहार
हामीले नै हँसाउनु पर्छ
देश हाँसे पो आमा हाँस्छिन्
आमा हाँसे पो देश हाँस्छ
अनि पो पूर्खाले आर्जेको स्वाभिमान बाँच्छ ।