असोज १ गतेलाई विश्वकर्मा पूजा तथा वास्तुशास्त्रका प्रणेता विश्वकर्माको सम्झना भनौँ वास्तु दिवस मनाउने परम्परा रहेको छ । भवन निर्माणसँग प्रत्यक्ष सरोकार रहने यो दिवस सेरोफेरोमा काठमाडौँ महानगरको नयाँ नेतृत्वले डोजर लगाउने पनि काम गरेको छ ।
खुसीको कुरो त के भने नेताका नाम भजाउँदै निर्माण भएका बानेश्वरका अवैध संरचनाहरु पनि भत्केका छन् भने जय नेपाल हलभित्र रहेको टुकुचाको दर्शन गर्न पाइएको छ । अब यो क्रम जारी रहने भनिएको छ । मानिसले प्रशस्त आर्थिक विकास चाहेको हुन्छ, तर नदी, सार्वजनिक स्थलहरुको मुहार नबिग्रने गरी विकास भनौँ निर्माण कार्य गरिनुपर्छ ।
मानिस धेरै, भूगोल सानो भएकाले यसो हुन गएको होला तर सार्वजनिक स्थलहरु नहुँदा भूकम्पमा सास फेर्न नपाएका पुस्ता पनि हामी नै हौँ । सडक पेटी लगायत सार्वजनिक स्थलहरुको निर्माणको क्रमा कसैलाई क्षति भयो भने नगरपालिकाले सरी भन्दा बाहेक के भन्ने होला र । बन्नका लागि केही बिग्रन्छ नै ।
न्यूनतम आवश्यकतादेखि सम्पन्नता र विलासिताको जीवनशैलीसम्म मानव जीवनमा अर्थको धेरै महत्व हुन्छ । अर्थ, अर्थोपार्जन र अर्थको उपयोगदेखि उपभोगसम्मको अध्ययन र विश्लेषण अथर्व वेदले गर्दछ । अथर्व वेदभित्र रहेको वास्तुशास्त्रले वस्तुको ज्ञान र विज्ञानको उपयोगितालाई महत्व दिन्छ र संरचनाको, सभ्यताको कुरा पनि गर्छ ।
धन, वैभव, उत्पादन र वितरण, रोजगारीको सिर्जना, आर्थिक लगानी, त्यसको प्रतिफल, आर्थिक वृद्धिदर, पदार्थको अत्यधिक प्रयोग, घर, भवनहरूको सजावटमा विभिन्न धातुहरूको प्रयोग र तिनको व्यवस्थिति, फलाम-काठ-सिसा-माटो-ढुंगा आदिको प्रयोगको अध्ययनदेखि तिनको गुणस्तर, भूमिशोधन, भूमिको शल्यक्रियासम्म र त्यसको समय मापनसम्मको अध्ययन कार्य वास्तुशास्त्रले गर्दछ ।
औद्योगिक क्षेत्रको लागि सुहाउँदो वातावरण, त्यसको अनुकूलको भवन निर्माण, आवासीय प्रबन्ध, विद्युतीकरण, अन्य इलेक्ट्रोनिक्स विषयको व्यवस्थापन, एयर कन्डिसन, रेफ्रिजरेटर, व्यापारिक कार्यक्षेत्र, उद्यमशिलताको वातावरण, रोजगारीको सिर्जना, पर्यटन प्रवद्र्धनदेखि ताल तलैयाको व्यवस्थिति र मठमन्दिर-प्राचीन स्मारकहरूको अनुसन्धान, शिल्पी कार्यसम्म र ती सबै वस्तुहरूको रखाई, सजावट पद्धति, विधान र प्रक्रिया समेतलाई ब्यवस्थित गराउन प्रेरित गर्छ ।
बैंकिङ्ग सेक्टरहरूका लागि सेवा दिने भवनहरू, सेवाग्राहीहरूले सेवा लिन सक्ने वातावरणको पहिचान, आधुनिक पाठशालाहरूको निर्माण, प्रयोगशालादेखि सभागृह, कक्षाकोठा तिनको सजावटका विषयदेखि घर, महलहरूमा हुने आधुनिक शौचालय तिनको आकार प्रकारसम्मको अध्ययन वास्तुशास्त्रले गराउँछ ।
ग्राम, नगर, नगरोन्मुख स्थितिदेखि आधुनिक सरसफाईसम्म र उच्च राजमार्गहरूको लागि आवश्यक पूर्व तयारी समेतको सजगता यस शास्त्रले अपनाउँछ । आधुनिक ढल, पानी प्रशोधनको विषय, विकासको लहर, समानुपातिक वितरणसम्मको कार्यक्षेत्र अङ्गालेको अथर्व वेदलाई बिर्सेर हामीले आर्थिक कल्याण गर्न सक्तैनाैं । आर्थिक विकास नहुँदा, आर्थिकस्तर बृद्धि नहुँदा समग्र राष्ट्रविकास र निर्माण कार्य नै पछि पर्न जान्छ ।
अथर्व वेद अन्तर्गतको स्थापत्य वेद वास्तुशास्त्रझैं मानवजीवनमा सामवेदको पनि उत्तिकै महत्व छ । सर्वप्रथम वास्तु अध्ययन र यसको पद्धतिमा रहेर व्यक्तिले जीवन सञ्चालन गर्ने क्रममा उसलाई मनोविनोद पनि आवश्यक हुन्छ, क्रीडा, समयको परिपालन, उत्साह, नवीन ऊर्जा, उत्साह, श्रीवृद्धिका साथमा सङ्गीत, कला, साहित्य, इन्द्रिय भोगको चिन्तन, विषय भोगको चिन्तन, प्यारो वस्तुको परिकल्पना, गतिशील सोचाई, ठाउँ, परिवेश र समय अनुसारको इच्छा र आकांक्षाहरूको पूर्ति, यी सम्पूणर् कार्यक्षेत्र सामवदेका हुन् ।
अथर्व वदेको विश्वासले सामवेद प्रयोगस्थल-पूजाकोठा, अथर्ववेदको प्रयोगस्थल-बैठक कोठा र भान्छा कोठा, ठीक र व्यवस्थित नभए घरभित्र र घरबाहिरको वातावरण ठीक हुँदैन । घर सजावटमा ब्यक्तिको आफ्नै चाहना भए पनि पद्धति र परम्परा अनि प्रक्रिया ब्यवस्थित नभए सोचे जति ज्ञान र विज्ञानको सदुपयोग हुन सक्तैन ।
मानवजीनमा पुरुषार्थ आवश्यक हुन्छ । शुरता, वीरता, रक्षा, शान्ति र सद्भाव, भाइचारा, स्नेह, दया, करुणा, आत्मवल, पराक्रम, परिपक्वता जीवनका अपरिहार्य आधारहरू हुन् । नेतृत्वको चयन, सक्षमता, कुशल नेतृत्व, मान, पदवी, प्रतिष्ठा सारा गौरव यजुर्वेदका कायक्षेत्रहरू हुन् । आत्मशान्ति, धर्मको भावनात्मक पक्ष, कर्तव्य परायणता, उपकारीभावले व्यक्ति, समूह, समुदाय र राष्ट्रसेवामा समर्पित हुनु राष्ट्र निर्माण र पुनःनिर्माणमा समर्पित हुनु ऋग्वेदका गुणहरू हुन् ।
यसरी हाम्रा पूर्वज वेदका ज्ञाता पैल, वैशम्पायन, जैमिनि, सुमन्तु आदि मन्त्र द्रष्टा ऋषिहरूको समष्टिी वेद र वेदले स्थापना गरेकोे वास्तुपद्धति आजको शताब्दीमा झन् बढी महत्वपूर्ण बनेको छ ।
शयन कक्षको अवस्था सुताइको समुचित व्यवस्थामा पनि ध्यान दिन जरुरी छ । पूर्व दिशाको सिरानीले ज्ञान, विज्ञानमा सम्पन्न हुन सकिने, विद्या, स्मरणशक्ति वृद्धि हुने, दक्षिण दिशाको सिरानीले माथि बताइएका भौतिक सुख, सुविधामा वृद्धि हुने, पश्चिम दिशा सिरानी गरेमा मानसिक दुर्बलता, चिन्ता बढ्न जाने र उत्तर दिशा सिरानी गरे मन मस्तिष्कलाई गहिरो र निको नहुने, चोट पर्न सक्ने हुन्छ ।
त्यसर्थ आर्थिक विकास तिनको पूर्वाधार र तिनको सदुपयोगदेखि शारीरिक, मानसिक र आत्मबल, प्रतिष्ठा समेतका उपायहरू बताउने वास्तुविधान आजको जीवन शैलीसँग गाँसिन सके व्यक्ति, समूह र समुदाय सबैलाई कल्याण नै हुन्छ ।
औद्योगिक भवन, कल-कारखाना, व्यापारिक स्थल सकेसम्म पूर्व, उत्तर वा ईशान कोणतर्फ फर्केको हुनु लाभप्रद छ । औद्योगिक स्थलहरूको वायव्य तर्फको ढोकाबाट तयारी सामान निश्कासन गर्न सके उत्पादित सामानहरूको वितरण छिटो छिटो हुन्छ ।
औद्योगिक उत्पादन स्थल भन्दा कार्यालय भवन उत्तर या पूर्वदिशामा राख्नुपर्छ । कारखानाको आकार वा उचाई भन्दा प्रशासनिक कार्यालयको आकार उचाई ठूलो वा अग्लो हुनुहुन्न । आफ्ना सेवाग्राही वा ग्राहकसँग व्यापारिक वा आर्थिक कुराकानी गर्दा उत्तर या उत्तर पूर्व या पूर्व मुख फर्की गर्नुपर्छ । यसो गर्दा बढी लाभ हुन्छ ।
औद्योगिक कारखानाका मेशिन, उपकरणहरू कारखानाको नैऋत्य, पश्चिम या दक्षिणतर्फ राख्नु पर्छ । कच्चा पदार्थ लगायत सबै गह्रौँ सर सामग्रीहरू दक्षिण या पश्चिम दक्षिणतिर राख्नु पर्छ । उत्पादित तयारी सामान भने वायव्यतिर राख्नु पर्छ ।
बिजुलीका सरसामान, जेनेरेटर, ब्वाइलर, मिटर, ऊर्जा सम्बन्धी सरसामान अग्निको दिशा आग्नेयतर्फ राख्नुपर्छ । कुलर भने पश्चिम वायव्यतिर राख्नु पर्छ । चिम्नी भट्टीहरूको व्यवस्था भने आग्नेयतिर गर्नुपर्छ । यसो गर्दा पूर्व आग्नेय अग्लो हुने स्थिति निराकरणका लागि चिम्नीभन्दा अग्लो कुनै सामान पानी ट्यांकी वा लट्ठा नैऋत्यतर्फ राख्दा वास्तुदोष कम हुन्छ ।
घर, कार्यालय, व्यापारिक महल वा सार्वजनिक निर्माण कार्य गर्दा पूर्व, उत्तरतर्फ सकेसम्म बढी खुल्ला गर्नुपर्छ । पानी ट्यांकी, धारा, जमिनमुनिको पानी आपूर्तिस्थिति आदि पूर्व उत्तर क्षेत्रमा नै राख्नु पर्छ । बरण्डाहरू पूर्व वा पूर्व उत्तर बढी हुनुपर्छ । तल्लापिच्छे पिउने पानीको प्रबन्ध उत्तर पूर्वतर्फ नै गर्नुपर्छ । पूजा कोठा पनि पूर्व उत्तर नै गर्नुपर्छ ।
अण्डर ग्राउण्ड भवनहरू बनाउँदा पनि पूर्व, उत्तर, ईशानतर्फ नै फर्काउने कोशिस गर्नुपर्छ । सवारी पार्किङ्ग पनि पूर्व उत्तर नै राम्रो हुन्छ । अण्डर ग्राउण्डमा पनि दक्षिण पश्चिम क्षेत्र अग्लो नै हुनुपर्छ । पश्चिम दक्षिण दिशातर्फ अग्लाई बढी, खुल्लाक्षेत्र कम र पूर्व उत्तरतर्फ होचाई बढी र खुल्लाक्षेत्र पनि बढी नै हुनुपर्छ ।
भवनका सिँढीहरू, लिफ्ट दक्षिण वा दक्षिण पश्चिमतिर नै हुनुपर्छ । व्यापारिक पसलहरूमा सरसामान सजाउँदा दक्षिण पश्चिमतिर अग्ला र गह्रौँ सामानहरू राख्नुपर्छ । उत्तर पूर्वतिर होचा र हलुका सामान राख्नुपर्छ ।
पसलमा देवदेवीको मूर्ति राख्दा ईशान दिशामा राख्नुपर्छ । मूर्तिका पीठभाग पूर्व र मुखभाग पश्चिमतिर फर्केको हुनुपर्छ । सटरहरू धेरै भए पूर्व उत्तर मुख फर्केको सटरलाई बढी समय खुल्ला राख्नुपर्छ । पसलको भुइँ पनि उत्तर, ईशान वा पूर्वतिर केही होचो हुनुपर्छ ।
प्रवन्धक, मालिक वा औद्योगिक, व्यापारिक भवनका मुख्य व्यक्ति निर्देशकको कोठा दक्षिण पश्चिमतिर हुनु पर्छ र मुख भने पूर्व उत्तरतिर फर्कने गरी बस्ने प्रबन्ध मिलाउनुपर्छ । कोठाका ढोकाहरू पनि पूर्व उत्तरतर्फ नै बढी हुनुपर्छ ।