• असार २२ २०८१, शुक्रबार

अनि घोराहीका कैदी-बन्दीले विपश्यना ध्यानमार्फत् थुनिनु पर्दाको पीडा भुले………

भाद्र ३१ २०७९, शुक्रबार

घोराही ३१, भदौ । दाङको सदुमुकाम घोराहीको जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुले विपश्यना ध्यान गरेका छन् । एकाग्र, एक चित्त भएर भएर आफ्नो सासलाई मात्रै ध्यान दिने विपश्यना ध्यान विधिमा ४० बढी सहभागी भए । उनीहरुले बाहिरका मानिस गएर कारागार भित्र ध्यान गराउँदा नौलो र अनौठो महशुस गरे ।

ध्यान गराउने टोली कारागार भित्र पुग्नेबेला पलेटी मारेर तयारी अवस्थामा बसेका थिए उनीहरु । उनीहरुलाई नयाँ भवनको लाम्चो हलमा राखिएको थियो । आ-आफ्ना गुन्द्री ल्याएर आपसमा नछोइने गरी बसेका थिए । उनीहरु सैन्य फर्मेसनमा जस्तै गरी अनुशासन र लामबद्ध थिए ।

त्यहाँ आनापान ध्यान गराउने टोली पुग्दा कैदी-बन्दीले मुस्कुराउँदै पाहुनालाई स्वागत गरे । बाहिरका दुईवटा मुख्य गेट पासपछि सैन्य फर्मेसन मै लामबद्ध कैदी-बन्दीले झुकेर नमस्कार गर्थे । तिनको आतिथ्यता एवम् स्वागतले अतिथिहरुलाई निकै उत्साहित बनाउँथ्यो । कारागारमा अपराधीहरु मात्रै बस्छन् भन्ने धारणा बनाउनेहरुको मन तुरुन्तै बदल्ने वातावरण थियो ।

कार्यक्रमको औपचारिकता बिना नै विपश्यना ध्यान केन्द्र घोराही-१३ सेवारका साधक टोपेन्द्र केसीले शुरु गर्नुभयो । जेलर बासुदेव खनाल, शसस्त्र प्रहरीका डिएसपी होमराज न्यौपाने सहित कारागारभित्र रहेका कैदी-बन्दीहरुले उहाँकै भनाई अनुसार गर्नुभयो । साधकको आदेश बाहेक अन्य तर्फ कसैको पनि ध्यान र गतिविधि देखिँदैन्थ्यो ।

ल्यापटपबाट रेकर्डेड गुरुका प्रवचन १८ मिनेट सुनाइयो । त्यसबेला पनि पलेटी मारेर बसेका कैदी-बन्दीहरुले पुरै ध्यानकेन्द्रित गरेर सुने । प्रवचन आवाजमा मात्रै थियो भिडियो थिएन । ‘सास आइरहेको छ, गइरहेको छ, एउटै नाकबाट, दुईटै नाकबाट । जसरी आइरहेको आउन दिनुस् । जसरी गइरहेको छ जान दिनुस् । तपाईं आएको र गएको मात्रै जानकारी राख्नुस् ।’

साउन्ड बक्समा कनेक्ट गरिएको माइकबाट भनिरहेको थियो । त्यसै अनुसार कैदी-बन्दीले आफ्नो शरीरलाई मिलाउँदै थिए । चस्मा फुकाल्नुस् हेर्नु नपर्ने भएकाले काम छैन । आँखा बन्द गर्नुस् देख्यो भने मन अन्तै उडाउँछ । कम्मर, ढाड र गर्धन सिधा बनाउनुस् । मन भाग्यो भने तुरुन्तै ल्याउनुस् र सासको जानकारी लिन लगाउनुस् ।

सासलाई लामो छोटो बनाउन लाग्ने होइन । त्यसो गरेमा अरुकुरा तिर गइन्छ । सास जस्तो गरी चलेकोछ, त्यस्तै थाहा पाउने मात्रै हो । त्यसमा कुनै किसिमको परिवर्तन गर्नु पर्दैन । यो प्रणायाम होइन भनेर सिकाए ।

यसपछि १० मिनेटको ध्यान गराउन थाल्नुभयो । यस बेलासम्म सबै कैदी-बन्दी ध्यान मग्न भई सक्नुभएको थियो । सास फेरे नफेरेको हलभरी कुनै किसिमको आवाज बाहिर आएन । एक दुई जनालाई भने बसाईले अलि अखट्टे बनाएको जस्तो हल्का तन्किने र खुम्चिने गरेको देखिन्थ्यो । त्यसबाहेक धेरैजना सजिलो गरी बस्नुभयो । कैदी-बन्दीको अघिल्तिर जेलर खनाल अझ मेहनतका साथ ध्यान मग्न हुनुहुन्थ्यो ।

लगतै माइकबाट विश्राम लिनुस् भन्ने भनाई आयो । साधक केसीले १० मिनेटको सबैभन्दा छोटो आनापान ध्यान सकिएको जानकारी दिनुभयो । सबैले आँखा खोल्नुभयो । आँखा खोलेर आपसमा हेराहेर गर्दा धेरै जना मुसुक्क मुस्कुराउनु भएको थियो । अधिकांशका चेहरा चमक्कै चम्किने उज्याला देखिन्थे । उनीहरुले थकाइ मेटेको जस्तो महशुस गरे । चेतना, चिन्तन, सोंच एवम् चिन्ताबाट विश्राम लिएका थिए ।

घर परिवार, आफूलाई लागेको आरोप, जेल बस्दाको अनुभव सबै भुलेर आफ्नो सास गएको र आएको मात्रै ख्याल गरेका थिए । ‘हामीलाई धेरै खुशी लाग्यो राम्रो छ, अलि लामो भएपनि हुन्थ्यो, अर्कोदिन पनि गराए हुन्थ्यो’ सामूहिक प्रतिकृया थियो ।

यसरी १८ मिनेट प्रवचन र १० मिनेट विधि सम्मत ध्यान सहित करीव आधा घण्टासम्म आफ्ना सबै समस्याहरु भुलेर ध्यानमग्न भए । चिरनिद्रामा सुख मिले जस्तै आफू कुन कसुरबाट किन कारागार पुग्नु परेको ? भन्ने बिर्सिए । खाली सासको मात्रै याद गरे । ध्यान सकिएको घोषणा पछि उनीहरुले खुुशी व्यक्त गरे, आराम महशुस भएको बताए ।

केही मुसुक मुसुक हाँसेका थिए । लौ सकियो भन्दा पनि कोही उठेनन् । एक दुईजनाले खुट्टा तन्काए, आङ मर्काए । धेरै जना सालिन भएर बसे । सकिनै लागेको बेला विपश्यना ध्यानका गुरु मोतिलाल खनाल, विपश्यना ध्यान केन्द्र धम्म परागका संस्थापक नारायणप्रसाद शर्मा अवलोकन गर्न पुग्नुभयो । उहाँहरुले एकदमै अनुशासित, शान्त र प्रभावकारी भनेर टिप्पणी गर्नुभयो ।

ध्यानमा गएको नन्द शर्मा सहितको टोली उठेर विदा माग्दै हिंड्यो । ध्यान बसेका कैदी-बन्दीको समूह भने उसै आसनमा बसिरहेको थियो । उनीहरुलाई उठेर हिंड्न भन्दा अझै बस्न आनन्द थियो । टोली जेलरको कार्यालयमा आएर प्रतिकृया लियो । त्यहाँ पनि धेरै छोटो भयो भन्ने प्रतिकृया आयो । आफूहरुको समय प्रशस्तै भएकाले जहिले आएपनि तयार रहेको जवाफ पाए । पहिलो पटक कैदी-बन्दीहरुले ध्यानको मौका पाए ।