• मंसिर २० २०८१, बिहीबार

बोलेका कुरा व्यवहारमा लागू गर

भाद्र ३१ २०७९, शुक्रबार

नेपाली राजनीतिक नेताहरू विश्वमा नै अविश्वसनीय नेताका रूपमा गणना हुन थालेका छन् । हालसालै मात्र युरोपका धेरै विश्वविख्यात पत्रपत्रिकाहरूमा नेपाली नेताहरूको ‘दहिचिउरे’ चरित्र चित्रण गरिएको पाइएको छ ।

देश र जनताका लागि अविश्वसनीय हुँदै गएको पनि उल्लेख गरिएको छ । विदेशीहरूले नेपाली नेताहरूलाई प्रहसन पात्रका रूपमा चित्रित गर्ने गरिरहेका छन् । हुन पनि नेपाली नेताहरूको कामधन्दा नेपाली जनताको आँखामा छारो कसरी हाल्ने, कसरी भुलभुलैयामा पार्ने र विदेशी शकितको चाकडी कसरी गर्ने भन्नेमै केन्द्रित हुन गएको छ ।

यो नेपाल र नेपालीका लागि दुखद् कुरा हो । युरोपमा मात्र होइन, अन्यत्र पनि नेपाली नेता हास्पात्र बनिरहेका छन् । हाम्रा दुई छिमेकीहरूले पनि विशवास गर्न छाडिसकेका छन् । पिँध नभएका लोटा झैं जता पल्ट्यायो, उतै पल्टने प्रवृत्तिले सिंगो नेपाली जगत आक्रान्त पनि हुँदै आएको छ ।

आजभन्दा दुईदिन अघिमात्र नेपालमा रहेको चिनियाँ भ्रमण टोली प्रमुख तथा चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सुले नेपाली शासक तथा शीर्ष नेताहरूसँग क्षणभरको बसाइमा बारम्बार ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धता चाहेपछि यसले नेपाली नेताहरूको अविशवनीयतालाई साह्रै नराम्रो गरी उजागर गरिदिएको छ ।

आपतकाल, युद्ध, आन्दोलन, आर्थिक तथा प्राकृतिक विपद्, सत्ता ‘कु’ तथा हिंसा र साम्प्रदायिक दंगा भएका बखत बाहेक कुनै पनि देशले आफ्ना छिमेकीलाई यसरी बारम्बार प्रतिबद्धताको चाहना राख्दैन ।

उत्तरको छिमेकी देश चीन र दक्षिणको छिमेकी देश भारतले नेपालसँग बारम्बार प्रतिवद्धता चाहेपछि नेपाली नेताहरूको दौड कतातिर भइरहेको छ भन्ने कुराले चिन्ताजनक अवस्थामा पुर्‍याएको छ ।

त्यसो त नेपाल सरकारको कमजोर कुटनीतिक क्षमता र अदक्षताका कारण विदेशी शक्तिकेन्द्रहरूको खेलमैदानमा परिणत हुँदै गएको छ । सार्वभौमसत्ता र राष्ट्रियताका प्रश्न जनतस्तरसम्म उब्जन पुगेका छन् ।

देशभित्र मित्रााष्ट्र अमेरिकाको गतिविधिमा तीब्रता आइरहेको छ । घोषित वा अघोषित रूपमा उत्तरी तथा दक्षिणी छिमेकीहरू आत्तिने गरिरहेका छन् । आफूहरूप्रति नेपालको प्रतिबद्धता चाहिरहेका छन् । ती देशको सुरक्षाका लागि नेपालबाट उत्पन्न हुन सक्ने खतरा के हो ?

यस बारेमा नेपाली नेताहरू स्पष्ट रूपमा बोलेको देखिदैन । तिनीहरूले यस्ता सूचना जनतासँग पनि लुकाउने र सूचनाको हकबाट बञ्चित गर्ने गरिरहेका छन् । यसले पनि यी नेताहरूमा अन्तर्राष्ट्रिय कुटनीतिक सुझबुझ र क्षमताको अनिकाल भएको देखाउँछ ।

बरू नेपाली जनताले नेपाल र नेपालीलाई चाहिएको जस्तो कुटनीतिक चालबाजी शीर्ष नृता तथा शासकहरूले अपनाउन नसक्दा देश विदेशी महाशक्तिहरूको गम्भीर रणनीतिक चलखेलको मैदानमा परिणत भएको महसुस गरिरहेका छन् ।

नेताहरूको बोली र व्यवहारको ठेगान नै छैन । दुवै छिमेकी देशहरूबाट नेपालमा आयात गरिने सामानमा क्रमशः चेकजाँच र अघोषित नाकाबन्दी सुरू भएको छ । यो कुन चासोलाई लएर भएको हो त्यसबारेमा नेपालका नेताहरूले छिमेकीलाई आश्वस्त पार्न सकिरहेका छैनन् ।

नेपाली नेताहरूले बारम्बार एक चीन नीतिका बारेमा प्रष्टता जाहेर गरिरहेकै छन् । तर चीनले उक्त प्रतिबद्धता बारम्बार मागिरहेको र दोहर्याउन लगाइरहेकै छ । यसले पनि नेपाली नेताहरू आफ्नो वचनमा प्रतिबद्ध छैनन् र तिनीहरू दहचिउरे प्रवृत्तिका छन् भन्ने बुझाउँछ ।

नेपालको संसदबाट एमसीसी पारित गरिसकेपछि नेपाल अमेरिकाको ‘अलाइ नेसन’ मा परिणत भइसकेको आशंकाले ठूलो समस्या निम्त्याएको छ । नेताहरू यस बारेमा केही पनि बोल्न चाहिरहेका छैनन् । सरकार र सरकारका प्रमुख प्रधानमन्त्रीले यसबारेमा देश र जनतालाई सम्बोधन पनि गर्न सकिरहेका छैनन् ।

चीन तथा भारत निकै सतर्क रहेको अवस्थामा नेपाली नेताहरूले परिपक्व कुटनीतिक वचन र व्यवहार प्रदर्शन गर्नसक्नै पर्छ । ‘जे पर्ला, उही टर्ला’ को नीतिले देश अब रहन सक्ने अवस्थामा छैन ।