काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसंगको वार्तापछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
दशैँको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दवाव दिँदै आन्दोलन थालेकामा मन्त्रालयसंग तीन बुँदे भएपछि सो आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।
सहमति अनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने भएको छ ।
यस्तै नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधिसहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी शिघ्र उचित सम्बोधन गर्ने सहमति भएको छ ।
सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ ।