काठमाडौं । संक्रमण पुष्टि भएको झन्डै दुई महिना पुग्दा देशका ७५ जिल्लामा डेंगु फैलिएको छ । आज ९बुधबार० ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार ७ वटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।
सार्वजनिक तथ्यांकअनुसार प्रदेश १ मा ३ सय ४७, मधेश प्रदेशमा १ सय ९८, बागमतीमा ८ हजार ३ सय ९०, गण्डकी प्रदेशमा २ सय २४, लुम्बिनी प्रदेशमा १ हजार ४ सय २१, कर्णाली प्रदेशमा १ सय ६२ र सुदूरपश्चिममा ३ सय २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । आजसम्म देशभर डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता डा।संजय कुमार ठाकुरले बताए ।
नेपालमा डेंगु संक्रमण पुष्टि भएको १८ वर्ष पुगेको छ । यो रोग सर्वप्रथम २०६१ सालमा देखा परेको थियो । त्यतिबेला १८ वर्षीय एक जना विरामी मात्रै संक्रममित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै मन्त्रालयको तथ्यांकअनुसार यतिबेला बागमती प्रदेशमा डेंगु संक्रमणको अत्याधिक चाप बढेको छ । यो चाप अझै केही महिना रहने स्वास्थ्य विज्ञहरूले औँल्याउँदै आएका छन् । तथापि यसबारेमा सरकारले आजसम्म कुनै पनि समाधानको उपाय निकाल्न सकेको छैन । संक्रमण फैलिएको झन्डै दुई महिना पुगिसक्दा पनि सरकारको उदासिनताले डेंगु संक्रमण महामारीको रूपमा परिणत हुने जनस्वास्थ्यविद् डा।रवीन्द्र समीर बताउँछन् ।
यद्यपि सरकारले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, लामखुट्टे भगाउने धूप बाल्ने, झुल राखेर सुत्नका लागि निर्देशन दिने बाहेक जनस्वास्थ्यलाई केन्द्रित हुने कुनै पनि कार्यक्रम तय गरेको छैन । हिजो ९मंगलबार०को तथ्यांकअनुसार जनघनत्व र बाक्लो शहरी बस्ती रहेको नेपालको संघीय राजधानी समेत रहेको बागमाती प्रदेशमा मात्रै ७ हजार ४ सय ४० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । उनीहरूको नियमति उपचार भइरहेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । उनीहरूको पनि उपचार भइरहेको छ । प्रदेश–१ मा ३ सय २० जना सक्रिय संक्रमित थिए । सुदूरपश्चिममा २ सय ७१ जना, गण्डकी प्रदेशमा २ सय २ जना, मधेश प्रदेशमा १ सय ८० जना र कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डेंगु संक्रमणका विरामीहरू दिनानुदिन बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले पुष्टि गर्दछ । नेपालमा सन् २००४ मा १ जनामा संक्रमण पुष्टि भएको डेंगु सन् २००५ सम्म आइपुग्दा भने कोही कसैमाथि नदेखिएको तथ्यांकमा छ । त्यसपछिका दिनमा क्रमशः बढ्दै गएको पाइएको थियो ।
सन् २०१९ मा जस्तै यो वर्ष पनि डेंगु संक्रमणको महामारी फैलिन सक्ने सम्भावना रहेको विज्ञहरूले दाबी गर्दै आएका छन् । तर, सरकारले भने आम नागरिकको स्वास्थ्य सुरक्षामा खासै ध्यान दिन नसकेको गुनासो बढेको छ । डेंगु संक्रमणका विरामीहरूको अत्याधिक चाम अस्पतालले थेग्नै गाह्रो भएको टेकु अस्पतालका एक उच्च अधिकारी बताउँछन् । उनका अनुसार गत वर्षहरूको तुलनामा यो वर्ष तापक्रम उत्तिकै बढेकोले कोभिड–१९ संक्रमणको पनि चाप छ । डेंगुका विरामी प्रतिदिन थपिँदा आईसियू बेड लगायत स्वास्थ्य जनशक्ति पर्याप्त नहुँदा काम गर्न मुस्किल छ ।
डेंगु संक्रमित भएर अस्पताल पुगेका प्रायः विरामीलाई सेतो रगतको कमी, आईसियू नै चाहिने अवस्था रहेको वीर अस्पतालका एक उच्च अधिकारीले बताए । उनी भन्छन्, ‘विरामीको अथाह पीडा सहन नसकेर हामी डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरू मन भारी पार्दै सकेजति उपचार, सेवा र सुविधा दिन कोसिस गरिरहेका छौँ ।’
सरकारले आवश्यकता अनुसारको जनशक्ति, उपकरण र आईसियू बेड व्यवस्थापनमा ढिलाइ गर्दा समस्या थप जटिल बन्दै गएको छ । वीर अस्पताल व्यवस्थापनले सरकारलाई पटक–पटक यो विषयमा जानकारी गराउँदा पनि उसले समयमा डाक्टरहरूको दरबन्दी पूरा गर्न नसक्दा समस्यामा समस्या थपिएको छ । उता स्वास्थ्य मन्त्रालयले भने डेंगु रोकथाम तथा नियन्त्रणका लागि प्रयास गरिरहेको भन्दै आफ्नो जिम्मेवारीबाट पछि हट्दै गएको छ ।