सबैभन्दा शक्तिशाली बन्दुक भोक हो
कति हो यो देशको लम्बाई ?
कति हो क्षेत्रफल ?
थाहा पाउनुपर्छ भन्ने लाग्छ तपाईंलाई ?
तपाईंको आमासयको क्षेत्रफल कति हो ?
तपाईंको भोको आन्द्राको लम्बाई कति हो ?
के तपाईंलाई
तपाईंको आमासयको क्षेत्रफल भन्दा ठूलो
यो देशको क्षेत्रफल हो भन्ने लाग्छ ?
के तपाईंलाई
तपाईंको आन्द्राको लम्बाई भन्दा लामो
यो देशको लम्बाई हो भन्ने लाग्छ ?
के तपाईंलाई
तपाईंको पेटले अघाउन्जेल खाएको कुनै छाक याद छ ?
के तपाईंलाई
तपाईंको आन्द्रा भरिएर तन्किएको कुनै दिन सम्झना छ ?
तपाईं आफ्नो पेट खोक्रो राखेर
कसरी नाप्नु सक्नुहुन्छ यो देशको क्षेत्रफल ?
तपाईं आफ्नो आन्द्रा चाउरी पारेर
कसरी नाप्नु हुन्छ यो देशको लम्बाई ?
तपाईंको एकटुक्रो जमिनको लम्बाई नाप्न
हरेक बिहान
मिटर बोकेर आइपुग्छ साहुको ताँती
तपाईंको छाप्रोको क्षेत्रफल नाप्न
भर्खरै मिटर भिरेर आइपुगेका छन् सुदखोरहरु ।
लिलामीमा परेको छ तपाईंको जमिन
बन्दकीमा बसेको छ तपाईंको छाप्रो
तपाईं सबैतिरबाट मिटरको फित्तामा बेरिनुभएको छ ।
नाप्दै जाने हो भने देश
तन्काउँदै जानेको हो भने तपाईंको आँसुको मिटर
पोत्दै जाने हो भने तपाईंको रगतले
हजार फन्को नाप्न सकिन्थ्यो देश
हजार पटक पोत्न सकिन्थ्यो देश ।
तपाईंको आँसुमाथि ब्यापार थाप्छ
तपाईंको रगतमाथि मट्टितेल खन्याउँछ
तपाईंको पसिनामाथि तेजाब घोल्छ
तपाईंको सपनाको जांघ च्यातेर घोप्टिएको छ ।
खोई कहाँ छ देश ?
तपाईं देश खोज्दै
सिंहदरबारको ढोकासम्म पुग्नुभो
तपाईं देश चाहियो भन्दै
माइतीघरको सडकमा धर्ना लगाइराख्नु भएको छ
तपाईं जोडजोडले चिच्याई राख्नुभएको छ-
“देश आऊ र हाम्रो दुःखको मिटर छिनाली देऊ ।“
खै कहाँ आयो देश ?
राइफलको कुन्दा आयो
निरंकुश बुट आयो
हिंस्रक लाठी आयो
पानीको निस्सासिँदो फोहोरा आयो
रबरको गोली आयो
देश आएन, निरंकुश सत्ता आयो
देश आएन, बर्बर दमन आयो ।
तपाईंले खोज्नुभएको देश
सुदखोरहरुको मिटरमा बेरिएर
उहिल्यै लम्पसार परिसकेको हो ।
तपाईंले डाक्नुभएको देश
तस्करहरुको मिटरमा झुन्डिएर
उहिल्यै घोप्टिसकेको हो ।
तपाईंको देशले
सत्ताको पासोमा झुन्डिएर आत्महत्या गरिसकेको छ ।
तपाईं अब देश नखोज्नुस्
तपाईं अब आफ्नै देश उभ्याउनुस् ।
सबैभन्दा शक्तिशाली बन्दुक भोक हो ।
तपाईंसँग दुनियाँका कुनै मिटरले नाप्न नसकेको भोक छ ।
(मिटर ब्याजी पीडितमाथी काठमाडौंमा प्रहरीले लाठीचार्ज गरेको विरोधमा लेखिएको कविता)