काठमाडौं । रमिला बुढामगर रोल्पाको सुनछहरी गाउँपालिका-३ बाहिरीगाम पाङ्बाङ निवासी बुवा खोटु बुढामगर र आमा केश्माला बुढामगरको कोखबाट जन्म लिएकी हुन् । उनी घरको माइली छोरी हुन् ।
घरको आर्थिक अवस्था कमजोर भएको र अर्काको घरमा जाने जात भएकोले छोरीले धेरै पढ्न हुन्न भन्ने समाजमा हुर्केकी उनी कक्षा ६ देखि विद्यालयमा हुने कार्यक्रमहरुमा गीत गाएर, नाचेर आउने पुरस्कार रकम तथा अरुको काम गरेर आएको पैसाले कक्षा १० सम्म गाउँकै विद्यालयमा पढिन् ।
रमिला उच्च शिक्षा हासिल गर्दै कलाकार बन्ने सपना बोकेर २०७५ मा काठमाडौ छिरेकी हुन् । हाल रमिला दोहोरी साँझमा काम गर्दै दुःख सुख गरेर बि.ए पहिलो वर्षको परिक्षा दिने तयारीमा छिन् । भर्खर सार्वजनिक भएको ‘झ्यालमा ऐना छ’ नामक गिती एल्बम उनको चौथो एल्बम हो ।
यस भन्दा पहिला पनि उनले ‘यो दसैंमा’, ‘किन लाग्छ मायाँ’, ‘यो तीजमा कोरोना आयो’, ‘मैले तिम्लाई भुल्न सकेन’ जस्ता लोकगीतमा उनले स्वर दिई सकेकी छिन् ।
उनको बुझाईमा पहिला रेकर्ड भएका गीत भन्दा यो गीत बढी सम्भावना बोकेको गीत हो । उता रमिलाका बुवाको भर्खरै मात्र निधन भएको छ । बुवा बितेको १ महिना नहुँदै उनलाई गीत बजारमा ल्याउन कुनै रहर थिएन तर गीतको सम्पूणर् तयारी पूरा भइसकेको र समयमै गीतलाई बजारमा लैजानु पर्ने भएकोले पितृशोकको अवस्थामा पनि उनले गीतलाई युटुबमार्फत् बजारमा पठाएकी छिन् ।
उनी भन्छिन्,‘यो मितिमा युटुबमा राख्ने भनी गीतको म्यूजिक भिडियो पनि तयार भैसकेकोले बुवाको निधनको दःखको समयमा पनि मलाई यसको काम सक्नै पर्ने बाध्यता थियो ।’
आफ्नो व्यस्ताको बीचमा बुवाको निधन भएको बारेमा उनी दुःख पोख्दै भन्छिन्, ‘लाखौं खर्च गरेर गीतको भिडियो बनाउनु भन्दा बरु त्यो पैसाले बुवालाई उपचार गरेको भए बचाउन सकिन्थ्यो होला’ ।
सो गीतमा मौलिक गायक प्रसाद खप्तरीमगर र रमिला बुढामगरले स्वर दिएका छन् । सो गीतमा रमेश परियारका शब्दहरु रहेका भने संगीतका लागि महेन्द्र भण्डारीले धेरै मेहनत गरेका छन् ।
मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियो निर्देशन काजीस श्रेष्ठले गरेका हुन् । मोडल विजय पुन, राजकुमार अधिकारी, नारायणी खत्री र सचिता बोलाखेको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् ।
दीपकले भिष्टाको भिडियो सम्पादन रहेको सो गीत रमेश परियारको युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक गरिएको छ ।