• मंसिर १३ २०८१, बिहीबार

उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक : राष्ट्रपति भण्डारी

भाद्र २८ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताएका छन् ।

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् ।

“यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु”, राष्ट्रपति भण्डारीले भनिन् ।

उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिइन् ।

एनएनएनका अध्यक्ष अरिएल्ले डोलेगुइले विश्वबाट उपेक्षित उष्ण प्रदेशीय रोगको उन्मूलन गर्ने साझा लक्ष्य हासिल गर्न यस क्षेत्रमा अनुसन्धान, कार्यान्वयन, नीति र वकालतलाई उच्च महत्व दिन सम्मेलनको आयोजना गरिएको प्रष्ट पारे ।