काठमाडौं । चितवनमा नेपाली कांग्रेसको विद्रोही समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी गरेको छ ।
चितवनको विद्रोही कांग्रेस समूहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको प्रतिनिधिसभातर्फको ३ र प्रदेशसभाको ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।
विद्रोही कांग्रेसका नेतृत्वकर्ता जगन्नाथ पौडेलका अनुसार आगामी निर्वाचनमा चितवनको प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी भएको छ ।
सो समूह निर्वाचन क्षेत्र चितवन–३ मा उम्मेदवारी दिन रणनीति निर्माणको तयारीमा जुटेको छ । आफ्नो संघर्ष सत्ता गठबन्धनविरुद्ध भएको भन्दै पौडेलले आगामी निर्वाचनमा चितवनको सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर कांग्रेस जोगाउने अभियानलाई जारी राख्ने बताए ।
मुख्यतः चितवनको निर्वाचन क्षेत्र नम्बर–३ लाई केन्द्रमा राखेर सो समूहले चुनावी अभियान सुरु गर्ने र त्यसलाई विस्तार गर्दै कांग्रेस शुद्धीकरण गर्ने उनको भनाइ छ ।
गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसमा विद्रोह गरेर सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका पौडेलले आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मलन गर्दै आगामी निर्वाचनमा पनि उम्मेदवार खडा गर्ने घोषणा गरिसकेका छन् ।
विद्रोही समूहका नेतृत्वकर्ता पौडेल चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विरुद्धमा चुनाव लड्ने तयारीमा जुटेका छन् । उनीसँगै कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा पनि दाहालका विरुद्धमा सो समूहबाट उम्मेदवारी दिने घोषणा गरेका छन् तर, शारीरिक रुपमा कमजोर भएका सापकोटाले आफूभन्दा बलियो उम्मेदवार पाएको खण्डमा सहयोग गर्न तयार रहेको बताउँदै आएका छन् ।