• फाल्गुन २६ २०८२, मंगलवार

अजरबैजानी सेनाको आक्रमणमा अर्मेनियाका ४९ सैनिक मारिए, यस्तो छ कारण !

भाद्र २८ २०७९, मंगलवार

काठमाडौं । छिमेकी अजरबैजानको आक्रमणमा परी अर्मेनियाका ४९ जना सैनिकको मृत्यु भएको छ । अर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयानले मंगलबार संसदलाई अजरबैजानले सोमबार राती गरेको आक्रमणमा आफ्ना सैनिकहरू मारिएको जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ ।

ब्ल्याक सी र क्यास्पियन सीको बीचमा पर्ने सोभियत युनियनका पूर्वसदस्य राष्ट्रहरू अजरबैजान र अर्मेनिया नागोर्नो काराबाख क्षेत्रका विषयमा दशकौंदेखि विवादमा छन् ।

अजरबैजानमा पर्ने उक्त क्षेत्रको केही भू–भाग अर्मेनिया समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छ ।

दुई वर्षअघि सन् २०२० मा ६ सातासम्म चलेको युद्धमा अजरबैजानले नागोर्नो काराबाख क्षेत्रको केही भू–भागमा कब्जा जमाएको थियो । त्यो बेला ६ हजार ६ सय मानिस मारिएका थिए । अर्मेनियाका प्रधानमन्त्री पासिनयानले सोमबार राती आधा दर्जन स्थानमा अजरबैजानी सेनाले आक्रमण गरेको बताए ।

दुबै देशले सोमबारको तनाव चुलिनुमा एकले अर्कालाई दोष लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।