• मंसिर ११ २०८१, मंगलवार

समाज सेवामा लाग्दाका अनुभूतीहरु

भाद्र २७ २०७९, सोमबार

काठमाडौंको विष्णुमति खोला नजिकैको बस्ती गोंगबुुँ उतिबेला गाउँ नै थियो । यहाँ न खानेपानीको व्यवस्था थियो, न त विजुली बत्ती नै । लुगा धुन, नुहाउन, पिउने पानीको स्रोत थियो विष्णुमति । विजुली नभएकोले टुकी बत्तीको उज्यालोमा पढ्नु पर्दथ्यो । बाटो पनि कच्ची थियो । साँझ पर्नासाथ गोंगबुँ बस्ती वरपर स्यालहरु कराउन थाल्थे । यहाँका विद्यार्थीलाई ५ कक्षा उतीर्ण भएपछि अन्यत्रैको विद्यालयमा अध्ययनका लागि जानु पर्ने बाध्यता थियो ।

प्रवेश परिक्षा दिई क्षेत्रपाटीस्थित जुद्दाेदय  पब्लिक हाइस्कूलमा कक्षा ६ मा अध्ययन गर्न थालें । अध्ययनको बेला स्काउट, खेलकुद जस्ता अतिरिक्त कृयाकलापहरुमा संलग्न हुन्थें । यसैकारणले  सामाजिक  उत्तरदायित्व र सचेतना विकास भइ सामाजिक कार्यमा रुची बढ्दै जान थाल्यो । सामाजिक कार्यहरुमा लाग्नु, यही लगावले गर्दा नै होला  प्राय  सामाजिक कार्यमा संलग्न  हुन्थें । प्रत्येक वर्ष गोंगबुँस्थित मनोहर तिर्थमा दशैंको फूलपातीको अघिल्लो रात काठमाडौंका १२ टोलका नेवार समुदायका विभन्नि धर्मावलम्विहरू (धिमे, बाँसुरी) जस्ता बाजासहित नवरात्री मान्न आउँथे । सो चलन अहिले पनि जारी नै छ । बाटो कच्ची, यसमा पनि इटा ओसार्ने लहरीले खाल्डाखुल्डी पार्ने गर्थ्यो ।

सो रातमा धर्मावलम्बीहरुलाई हुने असुविधालाई मनन गरेर स्थानीय युवा समूह मिलेर खाल्डाखुल्डी पुर्ने, विजुली बत्ती भएको स्थानदेखि बाँसको खम्बा गाडेर तार झुण्ड्याई सो तिर्थस्थलसम्म लैजाने बाटो भरी बत्तीको व्यवस्था गर्ने र मट्टीतेलबाट बालिने मेन्टुल बालेर सेवाकार्यका लागि जुट्ने गरिन्थ्यो । गाउँटोलमा हुने भजन कृतनमा पनि सहभागी हुने गर्थें । यो संलग्नतामा मलाई मेरो दिवंगत आमा प्राणमाया मानन्धरले उत्प्रेरित गर्नुहुन्थ्यो । यसरी म उहाँको प्रेरणामा सामाजिक र धार्मिक कार्यमा निरन्तर लागि नै रहें । अतः यसको श्रेय उहाँलाई दिन चाहन्छु । यस्तै त्यो बेलामा विद्यालयमा नैतिक शिक्षा पढाई अनिवार्य नै थियो । यसैको परिणाम नै हुनुपर्छ समाजमा केही न केही सामाजिक कार्य गर्ने इच्छा हुन्थ्यो ।

क्षेत्रपाटीस्थित जेपी विद्यालयमा ७ कक्षामा अध्ययनरत रहँदा महिनाको ८ रुपैयाँ फी तिर्नुपर्नेमा मेरो आमा सो रकम तिर्न सक्ने अवस्थामा हुनुहुन्थेन । मेरो बुवा सानीआमासित अन्यत्रै बस्नुहुन्थ्यो । कक्षाको मनिटर म आफै थिएँ । प्रत्यक महिनाको पढाई फी तिर्न नसक्दा हाजिरीको बेला सजाय वापत बेञ्चमा उभिनु पर्थ्यो । म कक्षाको राम्रो विद्यार्थी थिएँ तर पनि घरको आर्थिक  परिवेसका कारण पढाई सुचारु राख्न कठिन हुँदै गयो । जेनतेन कक्षा ८ उत्तिर्ण गरें ।

त्यसबेला हाल टोखा नपाका मेयर प्रकाश अधिकारीको बुवा मदनबहादुर अधिकारी मेरो मिल्ने साथी हुनुहुन्थ्यो । जो गाविस सचिवमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई मेरो परिस्थिति थाहा थियो । उहाँले  आफ्नो बुवा त्यसबेला मेरो लागि तत्कालीन गोंगुबुँको प्रधानपञ्च बेनीबहादुर अधिकारीसँग कुरा गर्नु भएछ । तत्कालै उहाँले महाराजगञ्ज निवासी केसी थरका जिल्ला शिक्षा  निरिक्षक कहाँ लिएर जानु भयाे ।

सोही दिनको कार्यालय समयमा भद्रकालीस्थित जिल्ला शिक्षा कार्यालयका लगि गोंगबुँस्थित मनोहर प्राविको शिक्षक (अस्थायी)मा नियुक्ति दिलाइ दिनुभयो । तलब थियो मासिक रू. ८३ ।  नियुक्ति भए पश्चात दिउँसो पढाई हुने जेपी स्कूल छोडेर विहान पढाई हुने पकनाजोलस्थित नेपाल युवक माविमा भर्ना भएँ । र विहान अध्ययन गर्ने र दिनमा शिक्षक भई काम गर्न थालें । विद्यालयमा गणित, सामाजिक शिक्षा, नेपाली विषयमा अध्ययन गराउन थालें । सो विद्यालयमा कृष्ण बानियाँ(सबुज), त्यस्तै वडानम्बर १० का मचाकाजी (बाबुकाजी) महर्जन र हाल कर्णेल हुनुभएका विजयविक्रम थापा लयागत अध्ययनरत थिए ।

सरकारी जागीर

मनोहर प्राविमा शिक्षक भई कार्यरत रहँदाकै बखतमा स्वास्थ्य मन्त्रालय अन्तरगतको परिवार नियोजन शाखामा प्राविधिक पदमा नियुक्त भई तालिम पश्चात भक्तपुर अस्पतालमा कार्यरत रहें । त्यसपछि कान्ति बाल अस्पताल, प्रसुती गृह, गाम्चा हेल्थपोस्ट ठिमी हेपो र अन्तमा केन्द्रीय कार्यालय रामशाहपथमा कार्यरत रही ०५२ सालमा स्वैच्छिक अवकास लिए पश्चात विभिन्न सामाजिक संघ–संस्थाहरुमा रही सामाजिक सेवामा संलग्न भइ आएको छु ।

स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यरत रहेकै बखत पोखरा अस्पतालमा प्राविधिक अधिकृत पदमा दरखास्त खुल्यो । त्यसबेला सो अस्पतालका डाइरेक्टर डा. शोमतसिंह तुलाचन हुनुहुन्थ्यो । उहाँ परिचित व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई सोधेरै सो पदमा दरखास्त हालें । परिक्षा पनि दिएँ । नाम निस्कनेमा म ढुक्क् थिएँ । तर विडम्बना पञ्चायत कालमा जागिर खान र सरकारी सेवामा जानेहरुको प्रहरी रिपोर्ट बुझ्ने प्रचलन थियो । तत्कालीन गोंगबुँ गाउँ पञ्चायतका प्रधानपञ्च बाबुकाजी महर्जन थिए । उनले पूणर्नारायण मानन्धर कांग्रेसी हुन् भनेर महाराजगञ्जको थानामा लेखेर पठाएका रहेछन् ।

साे महाराजगञ्ज थानामा कार्यरत असई टंक कार्कीले पूणभाई तिम्रो नाम निस्कन्न होला भने । तब मैले नाम ननिस्कने ठोकुवा गरें । किन कि त्यो बेला सरकारले कांग्रेसीलाई अराष्ट्रिय तत्व मान्थ्यो । भनुँ भने त्यो बेला यो पार्टी, त्यो पार्टी भन्ने मलाई थाहा नै थिएन । न न म कुनै पार्टीमा संलग्न नै थिएँ । बिना कारण अप्रत्यासित रुपमा सजाय भोग्नु परेकोमा म मर्माहत भएँ । त्यसपछि बल्ल कांग्रेस भनेको के रहेछ भनेर कौतुहल भयो र मेरो मथिङ्गलमा गढ्यो । यताउता भौतारिइरहें । एकदिन म संलग्न रहेको संस्था राष्ट्रिय समाज सुधार तथा शान्ति संस्थाका केन्द्रीय अध्यक्ष मञ्जुर  वर्ल्ड (उहाँको मृत्यु भइसकेको छ ) थिए l

एउटा बैठकमा उहाँ सामू कुराहरु राखें । उहाँले भोलीपल्ट नै मलाई मित्रपार्कस्थित विपी कोइरालाको निवासमा लैजानु भयो । हामी पुगेको केहीबेरपछि सेतो कुर्ता–पाइजामा लगाएका र हातमा वेतको लट्ठी समाएर माथिबाट विपी कोइराला ओर्लनु भयो । र वेतकै कुर्सीमा बस्नु भयो । उहाँले नयाँ युवाहरुसित भलाकुसारीका साथ परिचय दिनु भयो र परिचय पनि लिनु भयो । त्यसको लगत्तै अन्तरकृयात्मक रुपमा एक एक जनालाई विभिन्न विषयमा बोल्न लगाउनु भयो । उहाँ आफैले बिचबिचमा सुझावहरु र आवश्यक स्थानहरुमा करेक्सन पनि गर्नुहुन्थ्यो ।

नरम बोली, दूरदर्शीताका साथ कांग्रेस पार्टीको विषयमा स्पष्ट पार्नु हुन्थ्याे । यो क्रम चलिरहँदा म नजानिँदो पाराले कांग्रेस भएर हिंड्न थालें । कांग्रेसको प्रशिक्षण, गोष्ठी, सभा र कार्यक्रमहरुमा भाग लिन थालें । यही समयको अन्तरालमा काभ्रेका राजेन्द्र खरेलमार्फत् चवन्नी सदस्यता पाएँ । नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि गोंगबुँ गाउँ समितिको सचिव भएर कार्य गरें । त्यही बेला मेरो सिफारिसमा हाल काठमाडौंको नेपाली कांग्रेसका सभापति सबुजकृष्ण बानियाँले सदस्यता प्राप्त गरेका थिए । स्मरणीय कुरा के छ भने हाल टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सोही गाउँ कमिटीको सहसचिव हुनुहुन्थ्यो भने टोखा नपा वडा नं ११ को अध्यक्ष घनश्याम खड्का नेवि संघ गोंगबुँको अध्यक्ष हुनुहुन्थ्यो ।

राजनीति

वीपीले बारम्बार भन्नुहुन्थ्यो,‘राजनीति भनेको समाजसेवा गर्नु हो ’ । मेरो मष्तिकमा पनि त्यही छाप बसेको थियो र छ । तर अहिले राजनीति गर्नको लागि पैसा, बाहुबल, चाकडी, (शक्ति केन्द्र धाउने)  गुटको पृष्ठपोषक बन्नु पर्ने बाध्यता छ । माथि उल्लेख गरिएका गुणहरु ममा पटक्कै छैनन् । त्यसो भएर नै होला मैले कुनै अवसर नै पाइन । अवसर पनि दिइएन तर म केही प्राप्त नगरेर, नभएर  पनि सन्तुष्ट नै छु । किन भने ब्रह्मले जे भन्छ त्यही गर्ने मेरो बानी छ । यो व्यवहार अरुलाई नपच्न सक्छ । यो पनि भन्दछु । यही स्वभावका कारण राजनीतिमा म सफल भइन । यो तितो यथार्थ हो ।

हुन त म पिपुल्स क्याम्पसमा नेविसंघमा निरन्तरताका साथ कृयाशील रहें । त्यो बेला बलबहादुर केसीले प्रोत्साहन गरिरहनु हुन्थ्यो । निरन्तर कांग्रेसी नेतृत्वमा मार्शल जुलुम शाक्य, तिर्थराम डंगोल, विरनाथ कर्माचार्य, दामोदर गौतम, राजेन्द्र खरेल आदी दाजूहरुको संगतमा पार्टीप्रति समर्पित थिएँ । माथि उल्लेख गरिएका नाममध्ये सबैभन्दा सालिन व्यक्ति विरनाथ कर्माचार्य हुनुहुन्थ्यो । अहिले पार्टीहरुमा इमान्दार, पुराना, जुझारु र समर्पित (दलहरुमा गुट, उपगुट मौलाइरहेको यो अवस्थामा) कार्यकर्ताहरु जेष्ठ नागरिक भैसक्दा पनि सकृय भएर पार्टी भनेर लागेका छन् । तर पनि कहिल्यै मूल्यांकन भएन भन्ने मेरो ठहर रहेको छ ।

रेडक्रस सोसाइटीमा संलग्न

काठमाडौंको पिपुल्स क्याम्पसमा अध्यनरतका बखत डा.यावदप्रसाद पन्त, लक्ष्मणप्रसाद उपाध्याय, माधव पाण्डेको उत्प्रेरणामा क्याम्सपमा युवा रेडक्रस स्थापना गरी उपाध्यक्ष भई रेडक्रस सम्बन्धि कृयाकलाप गरी कृयाशील रहें । २०५७ सालतिर रेडक्रसको आजीवन सदस्यता प्रप्त गरें । २०६० सालतिर उपशाखाको अवधारणा अनुरुप काठमाडौं जिल्लामा पनि उपशाखा स्थापना भयो । यसैक्रममा मध्येउत्तर तर्फ धापासी उपशाखा तदर्थ समिति पनि गठन भयो । सोही वर्ष रेडक्रसको निर्वाचन पनि भयो । सो निर्वाचनमा म उपाशाखाको सभापतिमा निर्वाचित भएँ । मैले ३ कार्यकालसम्म सभापति भै विभिन्न रचनात्मक कार्यहरु गरें ।

त्यसपछि जिल्ला सदस्य, युवा रेडक्रस संयोजक, विपद व्यवस्थापन संयोजक भई अन्त्यमा काठमाडौं जिल्लाको उपसभापति रही कृयाशील रहें । यसैक्रमममा मानवीय सेवा गर्ने संस्थामा ठेल्दै, घचेट्दै सँगै लगेका र संलग्न गराइएका रेडक्रस सम्बन्धि सिकाएका सहयोगी साथीहरु  पद पाउन जे पनि गर्न तम्सिने महत्वाकांक्षीहरूले विभिन्न हतकण्डा, तिकमड गरी मलाई जिल्ला शाखाबाट बाहीर राख्ने प्रपञ्च गरे । हाल म आफ्नो उपशाखा विष्णुमतिमा निरन्तर कृयाशील नै रहेको छु । अन्तमा रेडक्रस जस्तो मानवीय सेवा गर्ने संस्थामा विभिन्न राजनैतिक पार्टीमा संलग्नहरुलाई विधान बनाई संलग्न हुन नपाउने प्रावधान बनाउन माग पनि गर्दछु ।

पारिवारिक परिवेश

यसो भनिरहँदा मलाई बारम्बार एउटा घटनाको याद आइरहन्छ । जुनबेला म गाउँले परिवेशमा हुर्केको बच्चा जे.पी स्कूलमा पढिरहँदा महिनाको फी समयमा तिर्न नसक्दा वा ढिला हुँदा पटकपटक हाजिरीको बेला सजायका लागि बेन्चमा उभिनु पर्ने अवस्थाम थियो । यो समयमा राम्रो राम्रो स्कूलहरु छोड्नु परेको स्मरण मेरो मानस्पटलमा ताजै छ । मैले के भन्न खोजेको हो भने मैले मेरो आर्थिक अवस्थाको कारणले जे झेल्नु पर्यो, त्यो मेरो छोराछोरीले झेल्न नपरोस् भन्नका लागि हो । मैले आफ्नो कडा परिश्रमले उनीहरुलाई आजसम्म जेनतेन डिग्रीसम्म अध्ययन गराएको छु । हाल उनीहरु तिनैजना आआफ्ना काम र पेसामा व्यस्त छन् । यसमा मलाई गर्व लाग्छ ।

मलाई मन पर्ने व्यक्तित्व

आफूलाई मार्गनिर्देशन गर्ने, सद्भाव गर्ने व्यक्तिहरु सम्झनु पर्दा मेरो मनमा धेरै जनाको स्मरण आउँछ । तीमध्ये वीपी कोइराला नै सबभन्दा बढी स्मरणीय व्यक्ति हुनुहुन्छ । उहाँको व्यक्तित्व, कृतित्व र दूरदर्शी सोंचका बारेमा धेरै नजिकबाट संगत गर्न नपाएको भएपनि थोरै पढेको, जानेको र बुझेको हुनाले मलाई वीपी कोइराला नै मन पर्नुहुन्छ । यसो भनौं उहाँको सोंच र व्यक्तित्व मलाई मन पर्दछ । ममा वीपी कोइरालाको धेरै प्रभाव छ l

समाजमा प्राय स्वार्थी, महात्वाकांक्षी मानिसहरु हुने गर्दछन् । तर पनि यस्ताहरुको बिचमा काभ्रेको नालामा जन्मथलो भएपनि हाल काठमाडौंको गोंगबुँमा कार्यस्थल बनाई (घरबास पनि बनाई) व्यापार, साहित्य, संस्कृति, सहकारी र अन्य विधामा हरदम कृयाशील र परिश्रमी, अरुको सहयोगी बन्ने र साथ दिने, संसर्गमा आएका साथीहरुलाई विभिन्न विधामा प्राेत्साहित, उत्प्रेरित र सहयोग गर्दै आएका रत्नप्रसाद अनामणि श्रेष्ठ पनि मलाई मन पर्ने मान्छे हुनुहुन्छ । अन्तमा म र मेरो कर्तव्य के हो ? समाजमा कसरी बस्नु पर्दछ भन्ने ज्ञान नैतिक शिक्षाले दिने भएकोले स्कूल र कलेजमा नैतिक शिक्षा अनिवार्य गरिनु पर्दछ भन्ने धारणा पनि मेरो रहेको छ । आजलाई यत्ति ।
(हाल : गोंगबुँ, टोखा नगरपालिका–९ शिद्धेश्वर प्रगतिटोल ।)