• असार २० २०८१, बुधबार

बेसार ब्यापारमा किसानको सफलता

भाद्र २६ २०७९, आईतवार

नगदे बालीमा विश्वास बढ्दै गएपछि किसानहरूले धान मकै रोप्ने खेत बारीमा बेसारको खेती गर्न थालेका छन् । बेसारले राम्रो आम्दानी दिन थालेको पनि छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका– ११ चुकेतालका किसान बेसार खेतीमा अब्बल साबित हुँदै गएका छन् । त्यसो त नेपालका सबै ठाउँमा बेसार खेती गरिँदै आएको छ ।

बेसार खेती परम्परागत कृषिका रूपमा रहिआएको थियो । तर अहिले भने यसलाई नगदेखेतीका रूपमा गरिन थालिएको छ । त्यही खेती हो, तर पनि भिन्न सोच र लगानीका साथ गरिँदा त्यसले दिने प्रतिफल भिन्नै हुँदोरहेछ ।

बेसार खेती गर्दै आएका किसान अहिले निकै नै उत्साहित हुँदै आएका छन् । घर प्रयोगका लागि बेसार लगाउँदै आएका किसानहरू अब यसलाई नगदेबालीमा पाउन थालिसकेका छन् ।

रूखो र कम उब्जनी हुने माटोमा पनि बेसार खेती राम्रो गरी फस्टाउन सक्छ । यसको खेतीका लागि किसानले धेरै मेहनत पनि गरिरहनु पर्दैन । अन्य बालीजस्तो यो बालीलाई अति स्याहार सुसार पनि आवश्यक पर्दैन ।

नेपालमा धेरै किसान यसको व्यवसायिक खेतीमा जुटेका छन् । सरकारले पनि किसानका लागि केही सेवा सहयोगको हात बढाएपछि किसान उत्साहित हुन पुगेका छन् ।

थोरै मिहिनेत र कम लगानीबाट चाँडो फाइदा लिन सकिने भएकाले बेसार खेती थालेको किसानहरूको स्वीकारोक्ति पाइन्छ । कम मलिलो माटोमा पनि यसको खेती निकै फस्टाएर जान्छ ।

दलित समुदायको बाहुल्यता रहेको सुर्खेतको चुकेताल बस्ती पनि अहिले बेसार खेतीका लागि चर्चित छ । चुकेतालमा कृषक समुहले किसानलाई बेसारको बीउ उपलब्ध गराएको थियो ।

४० जना भन्दा बढी किसानले व्यवसायिक रूपमै बेसार खेती गर्न थालेपछि अति विपन्न किसानले मकै र घैयाधानभन्दा बेसारबाट धेरै आम्दानी लिन थालेका छन् । सुरूमै किसानले ३ हजारदेखि १० हजार रूपैयाँसम्म आम्दानी लिएको किसान स्वयम्कै दाबी छ ।

हिउँदमा बाँझै रहने जमिन अहिले बेसार खेतीले भरिएको छ । न्युन आय भएका किसानको जीविकोपार्जनका लागि बेसार खेती बरदान हुन पुगेको छ ।