शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा ‘डेंगी क्लिनिक’ स्थापना गरी सेवा दिन सुरू गरिएपछिका केही दिनमा डेंगी विरामीको संख्या कम हुन थालेको देखिएको छ । तथापि डेंगी रोगको संक्रमण भने बढेर गइरहेको छ ।
डाक्टरले विरामीलाई तपाईंलाई डेंगी भएको छ, यो वा त्यो गर्नुस् वा नगर्नुस् भने पनि यसको प्रभाव र विस्तार घटेर गएको छैन । दैनिक अस्पताल धाउने विरामीको संख्या सरदर उस्तैउस्तै देखिइरहेको छ ।
केही वर्ष पहिले चितवनमा देखा परेको डेंगी दुईचार वर्षको अन्तरालमा राजधानी सहर काठमाडौंमा केन्द्रित हुन थालेको छ । अहिले एकै वर्षमा डेंगीले दोस्रो पटक महामारीको रूप धारण गरिरहेको छ ।
राजधानी सहरमा यसको प्रभाव निकै बढी देखिए पनि यो देशव्यापी फैलिइसकेको छ । काठमाडौं वरपरका जिल्लाहरू त काठमाडौं जस्तै प्रभावित भइसकेका छन् ।
अझैं पनि डेंगीको लहर उत्कर्षमय देखिन्छ । डेंगी संक्रमित लक्षण घर–घरमा देखिएको छ । अर्कोतिर संक्रमण पुष्टिभएका सबैलाई अस्पताल भर्ना गर्न सकिने अवस्था पनि छैन ।
यो रोग कोभिडको संक्रमणका बेलाजस्तो घरघरमा आइसोलेसनमा राख्न सकिने अवस्था पनि होइन । यसमा स्वास्थ्यमा जटिलता डरलाग्दो हुन्छ ।
कोभिडमा झैं डेंगीमा पनि केही प्रारम्भिक संकेत देखिन्छन् । तर यसले संक्रमितलाई जटिल बनाएपछि मात्र अस्पताल देखिने चलन पनि उत्तिकै जिम्मेवार छ ।
निरन्तर वा पटक पटक बान्ता हुनु, अत्यधिक पेटमा पीडा हुनु, नाक, गिजा वा अरू अंगबाट रगत बग्नु, अत्यधिक अल्छी लाग्नु, वेचैनी महसुस हुनु डेंगी महामारीका संकेत हुन् ।
संक्रमितहरू ज्वरो घट्नासाथ डेंगी रोगले छाडेको अडकल गर्न थाल्छन् । यो अनुमान गलत हो । डेंगी महामारीमा ज्वरो घटेपछि ‘क्रिटिकल फेज’ सुरू हुन्छ ।
यस्तो लक्षण २४ देखि ४८ घण्टाभित्र देखिने गर्छ । यो बेलामा पेट वा फोक्सोमा पानी जम्न सक्ने सम्भावना अत्यधिक रहन्छ । अल्ट्रासाउन्ड गरेपछि मात्र यो कुरा पत्ता लाग्छ ।
यसै समयमा रक्तश्राव बढी हुन सक्ने संभावना हुन्छ । विरामी अचेत अवस्था पुग्ने तथा उस्तै परे संक्रमित विरामीको मृत्यु समेत हुने गर्दछ ।
त्यसैले डेंगी संक्रमणबाट बच्न कत्ति पनि लापरवाही नगरौं ।