• मंसिर ११ २०८१, मंगलवार

तिब्बतलाई हराएको खुशियालीमा मनाइकाे इन्द्रजात्रा

भाद्र २४ २०७९, शुक्रबार

इन्द्रको ध्वजा फहराएर विजय उत्सव मनाउन र स्वर्गका राजा इन्द्रको इन्द्रध्वजोत्थान गर्ने चलन चलि आएको हो । यस सन्दर्भमा लिच्छवि राजा गुणकाम देवले यिकंयुगलको अष्टको नारायण स्थान अगाडी इन्द्रध्वज ठड्याएर इन्द्र देवता प्रदर्शन गरी इन्द्रजात्रा मनाउने चलन चलाएका थिए भनिन्छ ।

पछि राजा प्रतापसिंह शाहले नेसं ८३५ मा तिब्बतलाई युद्धमा हराएको खुशीयालीमा दरबार नजिकै रहेको कालभैरवको सामुन्ने इन्द्रध्वज ठड्याएर मनाउन थालिएको हो ।

भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा शुरु गरिन्छ । इन्द्रध्वज ठड्याउन चाहिने ३२ हात लामो रुख भक्तपुर र काभ्रेको बीचमा रहेको चित्तपोलको जंगलबाट ल्याउनु पर्छ । कुन रुख काट्ने भनी निर्णय गर्न बलिदिन लगेको बोकालाई त्यहाँ छोडिन्छ । बोकाले जुन रुखलाई हान्छ त्यही रुखमा बोकाको बलि दिएर इन्द्रध्वको रुख भनी काटेर ल्याइन्छ । यो लिङ्गो ठड्याउँदा गुरुजुको पल्टनले तोप पड्काउँदछन् । व्याण्ड बाजा र मालश्री धुनले वातावरण नै रमाइलो पारिरहेको हुन्छ ।

इन्द्रको प्रतीकको रुपमा काठको मूर्ति बनाई इन्द्रचोक, मरु, नरदेवी, किलागल, ज्याबहाल, ब्रम्हटोल आदि स्थानमा प्रदर्शन गरिन्छ । भाद्र शुक्ल द्वादशीको दिन दिवंगतहरुका आफन्तले विभिन्न देवीदेवता र चैत्यहरुमा पालामा बत्ती बालेर बलेको धूप पनि समाई उपाक जाने भन्दै दिवंगतहरूको आत्मशान्तिका लागि प्रार्थना गरी नगर परिक्रमा गर्दछन् ।

यही दिन मध्यरातमा इन्द्रचोकका आजु द्यः आकाश भैरवलाई मन्दिर अगाडि मञ्च बनाई प्रदर्शनका लागि राखिन्छ । काठमाडौंमा इन्द्र ध्वजोत्थान गरिएपछि आठ दिवसम्म एकदम रमणीय वातावरणमा यो पर्व मनाइन्छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका टोल टोलमा हायुद्यः (भैरव) देवताका साथै विभिन्न देवताहरू पनि प्रदर्शन गरी राखिएको हुन्छ । घरघरका झ्यालहरूमा दलुमत (दियो) बालेर झुन्ड्याइएको हुन्छ । भक्तपुरमा पनि इन्द्रजात्रा मनाउने क्रममा विभिन्न किसिमका देवीका नाच र पुलुकिसी ऐराका हात्तीलाई नचाइएको हुन्छ ।

ललितपुरमा भने अलि बेग्लै किसिमले इन्द्रजात्रा मनाउने गरिन्छ । यहाँ टोलटोलमै हायुद्यः भैरवको प्रदर्शन गरी दलुमत (दियो) झ्याल झ्यालमा झुन्ड्याएर बालिइरहेको हुन्छ । पूर्णिमाका दिन सम्यपुन्हि भनी घरै पिच्छे समयबजी खाने र खुवाउने गरिन्छ ।

यो दिन केटाकेटीहरूले तिहारमा भैलो मागेजस्तै घरघरमा लांछकु वयेक सम्यबजी (छ्वयला मासु आउने गरी चिउरा देऊ) भन्दै माग्ने गर्दछन् । यही दिन ललितपुरको गाःबाहालस्थित पूर्णचण्डी मन्दिर अगाडि भुजा र भातवाट बनाएका विभिन्न देवीदेवताका मूर्तिहरु प्रदर्शन गरिएका हुन्छन् ।

ललितपुरको अर्को विशेषता भनेको च्यासल जाने स्थान भिद्यःलाछीमा रहेको मञ्चमा बेलुका ८–९ बजेतिर झ्यालिंचा नाच देखाउने भन्दै एउटा ठूलो सेतो पर्दामा यौनक्रीडाका विभिन्न आसनहरु छायाँको रूपमा प्रदर्शन गरिन्छ । यो परम्परा त्यतिबेलाका निरक्षर मानिसलाई यौनशिक्षा दिने उद्धेश्यले गरिएको हो तर जात्राका रूपमा हालसम्म पनि यथावत चल्दै आइरहेको छ । इन्द्रजात्राको विशेषता भनेको काठमाडौंमा जिवित देवी देवताहरुको रथयात्रा नै हो ।

यसपाली त झन यसलाई अन्तराष्ट्रियकरण गर्ने उद्देश्यले एसियाली र युरोपियन देशका करिव २५ जना नगर प्रमुखहरुलाई आमन्त्रित गरिएको छ । काठमाडौं नगरपालिकाका मेयरले गर्नु भएको यो प्रयास सराहनीय छ । भाद्र शुक्ल अनन्त चतुर्दशीका दिन अर्थात् जीवित कुमारी रथयात्राको पहिलो दिन बसन्तपुर गद्दी बैठकमा राष्ट्रप्रमुख, कुतनीतिक नियोगका प्रतिनिधि एवम् आमन्त्रित विदेशी विशिष्ट पाहुनाहरुको उपस्थितिमा कुमारीको रथयात्रा चलाइन्छ ।

साथै जीवित गणेश र भैरवको रथयात्रा पनि सँगै गरिन्छ । यही समयमा भजिया लाखे, कवि सवः भकु र दश अवतार, महालक्ष्मी र पुलुकिसी नाच पनि नचाइन्छ । यो दिन क्वःने या (तुल्ल्लो टोलको जात्रा) भन्दै कुमारी, गणेश र भैरवको रथ बसन्तपुरबाट अष्कोनारायण, चिकं मुंगल, लगन, गोफुल, ब्रम्हटोल, वन्दे, हिउमत, जैशीदेवल, कवः हिटि, भीमसेन टोल, मरु इलाछें तंहाबल हुँदै कुमारीघर बसन्तपुरमा फर्काए पछि त्यसदिनको रथयात्रा सकाइन्छ ।

यो क्वः ने याः को समयमा जैसीदेवलको डबलीमा देवीनाच नचाइरहेको हुन्छ । यही दिन कुमारीको रथयात्रा सकिए पछि दाँगीलाई थःने, क्वःने अर्थात् माथिल्लो टोल र तल्लो ढोल घुमाइन्छ । इन्द्रकी आमाको प्रतीकको रूपमा मरुटोलबाट सेतो मुकुट र सेतै जामा लगाएकी दाँगीलाई धिमे, भुस्या बाजा बजाई नगर परिक्रमा गराइन्छ । दाँगीको पछिपछि लाग्दै काठमाडौंका नेवारले सोही वर्षमा दिवंगत भएका आफन्तको नाममा ९ थरी गेडागुडी सहितको सत्बीज छर्दै हिंड्दछन् । यही दिन स्वर्ग जाने बाटो मानिएको थानकोटको इन्द्रदहमा मेला लाग्छ ।

कुमारी रथयात्राको दोस्रो दिन थःने याः मथिल्लो टोलको जात्रा मनाइन्छ । थी ते गरिंदा पनि कुमारीका साथै गणेश र भैरवको रथ तानेर बसन्तपुरबाट, फ्याफूल, याखा, नरदेवी, टेंगल न्हयःखा, बांगेमुढा, न्हय्वुं तल्ला, असन, केलटोल, इन्द्रचोक, मखनहुँदै बसन्तपुरमा पुर्याएर रथयात्रा सकाइन्छ । यसरी थःनेया माथिल्लो टोलमा रथयात्रा गरिरहेका बांगेमुनढा र इन्द्रचोकमा देवीनाच नचाइरहेको हुन्छ ।

आश्विण कृष्ण चौथीका दिन नानीचा याः भन्दै कुमारीको रथयात्रा गरिन्छ । नानीचाःलाई दयुयाः अर्थात् बीच टोलको यात्रा भनिन्छ । यो इन्द्रजात्राको अन्तिम दिन हो । यो दिन कुमारी, गणेश र भैरवको रथलाई बसन्तपुरघाट प्याफल, यटावा, नरदेवी, किलागल, भेडासिङ, इन्द्रचोक, मखन र हनुमानढोका दरवार हुँदै बसन्तपुर पुगेपछि नानीचा याः को समापन गरिन्छ ।

राजा जयप्रकाश मल्लले भित्रिनी रानीलाई देखाउन कुमारीको रथयात्रा किलागलसम्म पुर्याउने गरिएको हो भनिन्छ । यही दिन इन्द्रध्वज विसर्जन गर्ने भन्दै लिंगो ढालेर टेकु दोभानमा लगि विसर्जन गर्ने बित्तिकै इन्द्रजात्रा सकिन्छ ।