• असार २० २०८१, बुधबार

चार वर्षमा पनि सकिएन सडक चारलेन गर्ने काम, चौथो पटक म्याद थपिँदै

भाद्र २१ २०७९, मंगलवार

दाङ, २१ भदौ ।
घोराही-तुलसीपुर सडकखण्डको चारलेन सडक निर्माणका लागि पुन : म्याद थप हुँदैछ । १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकन डलर (नेपाली रकम झण्डै १ अर्ब २४ करोड) मा निर्माण हुन लागेको सडकको चौथो पटक म्याद थप हुन चारलेन सडक आयोजनाले जनाएको छ ।
पहिलो सम्झौता अनुसार ०७८ जेठ ३ गते म्याद सकिएपछि साउन २७ गते २०७८ पुस २८ गतेसम्मका लागि म्याद थप भयोे । तर त्यसपछि पनि काम अघि बढ्न नसकेपछि पुनः ०७९ वैशाख २९ गतेसम्म काम सक्नेगरी म्याद थपियो ।

तेस्रो पटक म्याद थप्दा पनि सडक निर्माणको कामले गति समेत लिन नसक्दा पुनः म्याद थप गर्ने प्रकृयामा छ । सडक आयोजनाले अब म्याद थप गरिपछि सडकको प्रगति आउँदो पुससम्म ३० प्रतिशत नभए ठेक्का तोड्ने आयोजनाले जनाएको छ ।

तत्काल भने बबई खोलादेखि तुलसीपुरसम्म सडकमा परेका खाल्डा पुर्नु पर्ने भन्दै ठेकेदारलाई निर्देशन दिएको छ । गत भदौ १७ गते चारलेन सडक निर्माणबारे सरकारवालाहरु सहितको बसेको बैठकले तत्काल सडकमा भएका खाल्डाहरु पुर्ने निणर्य थियो ।

त्यस्तै बैठकले सडक निर्माणका लागि समन्वय र सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ । जसको सदस्य सचिवमा चारलेन आयोजनाका प्रमुख रहने व्यवस्था गरेको छ ।

समितिको सदस्यमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायीहरू रहेका छन् । यो चार वर्षको बीचमा ७ पटक पेटी ठेकेदार फेरिएका छन् । सुरुमा सुभाष श्रेष्ठले चारलेन सडक निर्माणको जिम्मा लिएका थिए । उनले नसकेपछि अनुप पाण्डेको अष्टभैरव निर्माण कम्पनीले सडक निर्माणको जिम्मा लिएको थियो ।

त्यसपछि एकेन्द्र खड्का, विजय पाठक र हाल रोशन श्रेष्ठले सडक निर्माणको काम गर्ने जिम्मा लिएका छन् । यसबीचमा सात बढी पेटी ठेकेदार परिवर्तन हुँदा पनि सडक निर्माण कार्य जहाँको त्यही छ ।

बबई खोलादेखि तुलसीपुरसम्म २८ दशमलव १९ किलोमिटर सडक निर्माण हुने गरी सम्झौता भएको छ । जसमा कतै दुई लेन र कतै चारलेन सडक निर्माण हुनेछ । सम्झौता अनुसार १४ दशमलव ४६ किमी चारलेन र १३ दशमलव ७३ किमि दुईलेन सडक निर्माण हुनेछ ।

जसमा बबईदेखि घोराही ६ दशमलव ५३ किमी दुईलेन, घोराहीदेखि थापाचोक ४ किमी चारलेन, थापा चोकदेखि नारायणपुरमा ३ दशमलव ५ किमी दुईलेन, नारायणपुरदेखि खैरा २ दशमलव १ किमी चारलेन, खैरादेखि दूधरास ३ दशमलव ७ किमी दुईलेन र दुधरासदेखि तुलसीपुर ८ दशमलव ३१ किमि चारलेन हुने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार दुईलेन ११ मिटर चौडाई अन्तर्गत सात मिटर गाडी हिंड्ने र २/२ मिटर दुबै तिर फूटपाथ रहने छ । २१ मिटर चारलेनमा दुईतिर सात/सात मिटर गाडी हिंड्ने र दुई/दुई मिटर फूटपाथ तथा दुई मिटर सडकको बीचमा ग्रीन बेल्ट बनाउने सम्झौता छ ।

भालुबाङ-बाग्दुला-भीमगिठे, चन्द्रौटा-कृष्णनगर, लमही-घोराही-तुलसीपुर सडक आयोजना कार्यालयले निर्माण व्यवसायीले काम नगर्दा सडक निर्माण कार्यमा ढिलाई भएको जनाएको छ । सडक आयोजना प्रमुख अर्जुनकुमार बमले चारलेन सडक निर्माणमा ठेकेदारले ढिलाई गरिरहेको बताए ।

पटक-पटक म्याद थप गर्दा पनि सडक निर्माणको काम अघि बढ्न नसकेपछि ठेक्का नै रद्ध गर्ने निश्कर्षमा कार्यालय पुगेको उनले बताए । “सडक निर्माणका गर्न भनेर थुप्रै तीन-तीन पटक म्याद थप गरेर पनि हेर्र्यौं तर पनि काम अघि बढ्न सकेन, हालको निर्माण व्यवसायीबाट काम अघि बढ्न नसक्ने निश्कर्षमा पुगेका छौं” आयोजना प्रमुख बमले भने । तर तत्काल भने सोही ठेकेदालाई म्याद थप्नुको विकल्प नभएको उनको भनाई छ ।

“अब चौथो पटक म्याद थप हुँदै छ, यो चाहेर होइन, सरकारले नीतिमा गरेको १२औँ संशोधनले म्याद थप गर्न बाध्य बनाएको छ” उनले भने । सरकारको नीतिमा विगत ६ महिनामा काम गरेको भए म्याद थप गर्ने भनेको छ । यहाँ काममा सन्तुष्ट नभएपनि कागजपत्रका अनुसार काम भएकोले हामीले थप गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

घोराही-तुलसीपुर सडकखण्ड निर्माणको चार वर्ष पर्ख र हेरमै बितेको छ । सडक समयमै निर्माण नहुँदा यो चार वर्षमा नागरिकले सास्तीमात्रै खेप्नु परेको छैन, अकालमै ज्यान समेत गुमाउनु परेको छ । ४३ महिना बितिसक्दा पनि सरकार र प्रशासन मौन रहेका छन ।

ठेकेदारको लापर्वाहीका कारण २२ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । घोराही-तुलसीपुर चारलेन सडक निर्माण आयोजना शुरु भएदेखि हालसम्म सवारी दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका छन् भने ७८ जना घाइते भएका छन् । यो अवधिमा ६५ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांकमा छ ।