• मंसिर ७ २०८१, शुक्रबार

च्याउ बायोले ल्यायो यस्तो यन्त्र, जसले प्रदुषित हावा र पानी लिएर अक्सिजन फाल्छ

भाद्र २० २०७९, सोमबार

काठमाडौं । सहरी क्षेत्रको प्रदूषणलाई कसरी न्यूनिकरण गर्ने भनेर चिन्ता र चासो भइरहेका बेला ‘च्याउ बायो टेक’ले समाधानको उपाय ल्याएको छ ।

इन्जिनियर गुन्जन घिमिरेसहित पल्लभ श्रेष्ठ, सन्‍नी राजोपाध्यायको टोलीले ‘सोलुसन टू पोलुसन’ भनेर ‘अल्गी बायो रियाक्टर’ बनाएका छन् । रुखले जसरी कार्बनडाइअक्साइडलाई सोसेर अक्सिजन दिन्छ त्यसरी नै यो डिभाइसले पनि कार्बनडाइअक्साइड लिएर अक्सिजन दिन मिल्ने यन्त्र बनाएका छन् । सो कम्पनीले अहिले नेपालमा मात्रै नभइ विश्व बजारमा पनि यसको विस्तार गर्न सरकारको साथ खोजिरहेका छन् ।

करिब दुई महिनाअघि तयार पारिएको मसिन गत बिहीबार ललितपुर पुल्चोक स्थित सडकमा राखिएको छ । च्याउ बायो टेक्नोलोजीले माइक्रोएल्गाई (लेउ) प्रयोग गरेर विशेषगरी पानी, वायु तथा ठोस फोहोर प्रदुषण नियन्त्रण गर्ने विभिन्न प्रविधि विकास गरेको छ । कम्पनीले विकास गरेका यस्ता प्रविधिले लेउ प्रयोग गरी फोहोरलाई अक्सिजन तथा बायोमासमा परिणत गर्दछ । अल्गी बायो रियाक्टरमा हरित कण (क्लोरोफिल)युक्त बिरुवा(लेउ) लाई कृत्रिम वातावरण दिएर प्रकाश संश्लेषण प्रक्रिया गराइन्छ । यसमा उनीहरूले बिरुवाको रुपमा एउटा निश्चित प्रजातिको लेउको प्रयोग गरेका छन् ।

सहरी क्षेत्रमा स्वच्छ वायु पाउनै मुस्किल छ । घना बस्ती, सवारी साधन, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँ/धुलोले सहरमा प्रदूषण बढाइरहेका छन् । धुलो र धुँवामा मिश्रित स-सना कणले वायु प्रदूषण बढाएका छन् । सहरी क्षेत्रमा प्रदूषणको मात्रा बढिरहेको छ नै, मास्क नलगाइकन हिँडडुल गर्नसमेत हम्मेहम्मे हुने गर्छ । बिरुवा रोपेर, विद्युतीय सवारी साधनको प्रयोग सहरी क्षेत्रमा गर्न सरकारले प्रोत्साहन गर्छ तर कार्यान्वयन हुँदैन । बिरुवा रोप्दा हरियाली प्रबर्द्धन पनि हुने र स्वच्छ हावा पनि पाइने उद्देश्यले वृक्षारोपणका कार्यक्रमहरू हुन्छन् तर प्रभावकारी छैनन् ।

बायो रियाक्टरमा विभिन्न ४ वटा कम्पोनेन्टहरू छन्- कन्ट्रोलर, ट्यांक, लाइट सिस्टम र एलईडी स्क्रिन । एलईडी स्क्रिनमा कति मात्रामा अक्सिजन उत्पादन भइरहेको छ भन्ने देखाउनका लागि बनाइएको हो ।

रियाक्टरमा जडान गरिएको सक्सन पाइपले वायुमण्डलको हावालाई सोसेर तान्छ । धुलोलाई फिल्टर गरेपछि त्यो हावा पानीमा राखिएको लेउ भएको ठाउँमा छाडिन्छ । लेउले उक्त कार्बनडाइअक्साइडलाई सोस्छ । पानीमा नघुलिने ग्यासहरू भने पाइपकै माध्यमबाट बाहिर निस्कन्छन् ।

रियाक्टरले १ दशमलब ८ टन कार्बनडाइअक्साइड पठाउँदा १ दशमलब ५ टन अक्सिजन दिने उनले बताए । प्रयोगमा आएको ६ महिना नाघे पनि दुई साताअघि ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यसको उद्घाटन गरेका थिए ।