कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका बुंचीमा अवस्थित सिद्धार्थ क्याम्पसको २ वटा बसमा तोडफोड भएको छ ।
क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथि तोडफोड भएको क्याम्पस प्रशासनले जनाएको छ ।
बस तोडफोड भएकै ठाँउमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको पत्र भेटिएको छ । जसमा सिद्धार्थ क्याम्पसलाई जनकारवाही गराइएको जनाइएको छ ।
पत्रमा विद्यार्थीको मागप्रति क्याम्पस गम्भीर नभएको, पब्लिक क्याम्पस संघले बढाएको शुल्क फिर्ता नगरेको, विद्यार्थी आन्दोलनलाई बेवास्ता गर्दै जायज आन्दोलन विरुद्ध गतिविधि गरेको, विद्यार्थीका माग पूरा गराउन लगाइएको ताला तोडिएको, विद्यार्थीको जायज माग पूरा गर्न छोडेर मुठ्ठीभरका ब्यक्ति बोकेर हिंडेको उल्लेख गरिएको छ । यसैगरी आफ्ना माग पूरा नगरे थप शैक्षिक हड्ताल सहित जनकारवाही गर्ने जनाइएको छ ।
यता क्याम्पस प्रमुख खेमराज शर्माले बस तोड्फोड भएको स्थानमा प्रहरी आएर अनुसन्धान गरिरहेको बताएका छन् । उनले यसले शैक्षिक क्षेत्र जस्तो संवेदनशील पक्षमा विद्यार्थीहरुलाई पठनपाठनमा ठूलो नोक्सानी भएको बताए ।
तोडफोड भएको स्थानमा भेटिएको पत्र :