• मंसिर २० २०८१, बिहीबार

चिन्ताजनक शैक्षिक गुणस्तर

भाद्र १९ २०७९, आईतवार

अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष २०७८ को शैक्षिक गुणस्तर निकै घटेको छ । अघिल्ला वर्षहरूमा कोरोना महामारीका कारण एसइईसहित प्लस २ को परीक्षाको नतिजा पनि निकै सन्देहजनक नै थिए ।

अनलाइन क्लास चलिरहेको थियो । तर विद्यार्थीमा इन्टरनेट, ल्यापटप, डेस्कटप कम्प्युटरको पहुँच थिएन । साथै, इन्टरनेट कक्षा लिनका लागि सफ्टवेयरको ज्ञान पनि थिएन ।

अभिभावक यसका लागि तयार पनि थिएनन् । आफ्ना छोराछोरीका लागि कोरोना महामारीका कारण इन्टरनेट पढाइमा लाखौं रूपैयाँ खर्च गर्नसक्ने हैसियत पनि थिएन र छैन ।

यस वर्ष केही पढाइ त भयो । तर, परीक्षा नियन्त्रण कार्यालय अन्तर्गतको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले प्रकाशन गरेको माध्यमिक तह उत्तीर्ण परीक्षा कक्षा १२ को नतिजा पनि एसइई जस्तै ओरालो लागेको देखियो ।

एसइईमा यस वर्षको नतिजामा राम्रो मानिने ३.६देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या देशैभर जम्मा ९ हजार ६ सय ३३ जना भए । तर यस अघिको २०७७ मा ४ जिपिए ल्याउनेको विद्यार्थी संख्या ७२ हजार ८ सय ७१ देखिएको थियो ।

त्यसो त ग्रेडिङ र नन्ग्रेडिङ् छुट्याएर पनि विद्यार्थीको जीवन र योग्यता सक्षम र असक्षम भनी विभेद गरिएको छ । लेटर ग्रेडिङ पद्धतिअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक प्राप्त नगरे नन्ग्रेडिङ् मानिन्छ ।

नन्ग्रेडिङ् (एनजी) भनेको अनुुत्तीर्ण नै हो । यो अनुत्तीर्ण संख्या विद्यार्थी संख्याका हिसावले ५२ प्रतिशतभन्दा बेसी हुन आउँछ । उनीहरूलाई कक्षा १२ पढ्न त्यसै बञ्चित गरिएको छ ।

यसरी ५२ प्रतिशत भावी युवालाई बीचमा पढ्न नै नदिनु र अदक्ष बनाइनु उनीहरूको वैयक्तिक जीवन र सिंगो देशका लागि ठूलो घाटा र बर्बादी हो ।

अबका केही वर्षहरूमा देशभित्र यसको असर विकराल देखिने छ ।