• मंसिर १३ २०८१, बिहीबार

प्रतिनिधि सभाको शून्य समयको बैठकमाा डेङ्गु नियन्त्रणको माग

भाद्र १७ २०७९, शुक्रबार

काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल परेको अवस्था रहेको बताउनुभयो । सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा सरकार संवेदनशील हुन नसकेको गुनासो गर्नुभयो । सांसद रङ्गमती शाहीले स्वास्थ्य, शिक्षा र वृद्धवृद्धाको जिम्मा राज्यले लिनुपर्छ भन्नुभयो ।

सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार–पाँचथरको रविराँके सडक (एक सय एक किलोमिटर) बाटो निर्माण सुरु गरेको पाँच वर्ष भए पनि पूरा हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामवीर मानन्धरले शून्य समयमा बोलेको विषयको कुनै पनि सम्बोधन नहुने गुनासो गर्नुभयो ।

सांसद रेनुका गुरुङले नेपाल– भारत खुला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि अन्त्य गर्न सरकारसँग माग गर्नुभयो ।