कालिकोट । कालिकोटको बडिमालिका नेपालीको आस्थाको धरोहर हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण त्रिवेणी पाटन अनि ४ हजार २ सय मिटर उचाईमा रहेका अग्ला अग्ला फाँटहरु, पाटनहरु फुलेका रङ्गीविरङ्गी फुलहरु, हजारौँको संख्यामा देखिने भेडाका बथान र घोडाका बथानहरु । लाग्छ बडिमालिका त्रिवेणी पाटन पनि धर्तीको स्वर्गक एक टुक्रा नै हो ।
आँखाले नियाल्न समेत नसकिने त्रिवेणी पाटनका विशाल फाँटहरु, साउनको खेत जस्तै देखिने दृश्यहरु, कसैले हातले नै बनाइदिएका हुन जस्तो लाग्छन् । जति हेरेपनि नअघाउने त्रिवेणी पाटन, जति रमाउँदा पनि नपुग्ने, २२ पाटन क्षेत्रको घुम्दा पनि नथाक्ने, त्यहाँ पुग्नेहरुले स्वर्गको रुपमा नै लिन्छन् यसलाई । त्यहाँ पुग्न भने त्यति सजिलो छैन ।
त्रिवेणी गाउँपालिकावाट करिव २ दिनको पैदल यात्रापछि त्रिवेणी पाटन पुग्न सकिन्छ । करिव ३० किलोमिटर भन्दा बढी उकालो बाटोमा न आराम गर्न मिल्ने चौतारा छन्, न बास बस्नका लागि भौतिक संरचना निर्माण भएका छन् । बनाइएका भौतिक संरचना पनि भत्किसकेका छन् । शौचालय खानेपानी होटल बास त टाढाको कुरा हो । त्रिवेणी पाटन र बडिमालिका मन्दिरमा आगो बाल्नका लागि दाउरा समेत लिन निकै गाह्रो छ ।
तर जति दुःख भएपनि बडिमालिका मन्दिर पुग्दा र त्रिवेणी पाटन घुम्दा सबै दुःख हराउँछन् । प्रकृतिले भरिएको एक अनुपम सुन्दर धार्मिक आस्थाको धरोहर प्रसिद्ध पर्यटकीय स्थल त्रिवेणी पाटनको प्रचार प्रसारका लागि सान्नी त्रिवेणी गाउँपालिकाले वृत्तचित्र बनाउने भएको छ । बडिमालिका मेलाको अवसर पारेर गाउँपालिकाले त्रिवेणी पाटनमा पुगेर त्यहाँका हरेक विषय वस्तु तथा स्थलगत रुपमा भिडियो लिएको छ ।
त्रिवेणी पाटनलाई पर्यटयीक हव बनाउनका लागि र यसको देश विदेशमा प्रचार प्रसार गर्नका लागि वृत्तचित्र ( भिडियो डकुमेन्ट्री) बनाउने तयारी थालेको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी (महेश) ले बताउनु भयो । प्रसिद्ध पर्यटकीय स्थल बडिमालिका मन्दिर क्षेत्रमा पर्ने त्रिवेणी पाटन सान्नीत्रिवेणी गाउँपालिकाको हो भन्ने कुरा पनि आभाष दिलाएको उहाँले बताउनु भयो ।
बडिमालिका मेलाको अवसरमा सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो ठाउँको पहिचान दिनका लागि र त्यो भूमी सान्नी त्रिवेणी गाउँपालिकाको हो भनेर चिनाउनका लागि त्रिवेणी नदीमा कार्यक्रमको आयोजना गरेको थियो । त्रिवेणी पाटनलाई प्रचार प्रसार गरि पर्यटकीय हवको रुपमा प्रवद्धन गर्नका लागि गाउँपालिकाले वृत्तचित्र बनाउन लागेको के.सीले बताउनु भयो ।
उहाँले भन्नुभयो, धार्मिक, साँस्कृतिक, पर्यटकीय रुपमा पनि सम्पन्न छ । यसै क्षेत्रको पहिचान दिनका लागि र पर्यटकीय क्षेत्रको रुपमा प्रवद्धन गर्नका लागि हामीले वृत्तचित्र बनाउन लागेका हौँ । त्यहाँ पुगेपछि स्वर्ग पुगेको जस्तो आनन्द महशुस हुन्छ ।
त्यहाँको दृश्यले नै मनमा भएका दुःख पीडाहरु हराउँछन् । हामीले यस्तो क्षेत्रको पहिचान, प्रचार प्रसार गर्न सकैनौँ भने हामीले अरु के गर्न सकौँला ? यस क्षेत्रको विकास र प्रवर्द्धनमा स्थानीय सरकारले मात्र गर्न नसक्ने हुँदा प्रदेश सरकार र संघीय सरकारको ध्यानकर्षण गराउनका लागि वृत्तचित्र बनाउन लागेको अध्यक्ष के.सीले बताउनु भयो ।
कर्णाली प्रदेश सरकारको सहयोगमा त्रिवेणी नदीमा ७ करोडको लागतमा मन्दिर, शौचालय, धारा, र तलाउ र अन्य संरचना निर्माण हुन लागेको उहाँले बताउनु भयो । त्रिवेणी पाटनको सौन्दर्यलाई मात्र प्रचार प्रसार गर्न सकेमा सान्नीत्रिवेणी गाउँपालिकाले पर्यटकीय क्षेब नै राम्रो आम्दानी गर्न सक्ने उहाँको भनाई छ ।
सान्नीत्रिवेणी गाउँपालिकाले यस पटक त्रिवेणी नदीमा ४० वटा अस्थायी शौचालय निर्माण गरेको उपाध्यक्ष पार्वती सिंहले बताउनु भयो । सान्नीत्रिवेणी गाउँपालिकाले त्रिवेणी पाटनलाई पर्यटकीय क्षेत्रको रुपमा प्रवद्धन गर्नका लागि र यसको पहिचान केन्द्रसम्म पुर्याउनका लागि पालिकाको सिंगो टिम उक्त क्षेत्रमा पुगेको सिंहले बताउनु भयो ।
त्रिवेणी पाटन धार्मिक र पर्यरुीपमा पनि महत्वपूर्ण रहेको हुँदा यसको प्रचार प्रसार र यसको संरक्षणको जिम्मा सान्नीत्रिवेणी गाउँपालिकाको रहेको उहाँले बताउनु भयो । त्रिवेणी पाटनको संरक्षण गरेर त्यहाँ पाइने बहुमूल्य जडिबुटीलाई मात्र व्यवस्थापन गर्न सकेमा राम्रो आम्दानी हुने गाउँपालिकाका प्रवक्ता रंगलाल देवकोटाले बताउनु भयो । भेडाबाख्रा घोडा पालनका लागि पनि राम्रो स्थान रहेकाले व्यवसाय गर्ने कृषकहरुलाई प्रोत्साहन गरेर यस व्यवसायतर्फ उन्मुख गराउन सके आम्दानीको श्रोत बढ्ने देवकोटाले बताउनु भयो ।
त्रिवेणी पाटनको प्रचार प्रसार र पर्यटकीय स्थलको रुपमा विकास र प्रवद्धन गर्नका लागि सवै रजनीतिक दल एक भएर जानु पर्ने महिला नेतृ मिठ्ठु बमशाही‘शैलजा’ले बताउनु भयो । सबै राजनीतिक दलका नेता कार्यकर्ताले यस क्षेत्रको विकास र प्रवद्धनका लागि लाग्नु पर्ने उहाँको भनाई छ ।
त्रिवेणी पाटन र बडिमालिका मन्दिरलाई पर्यटकीय तथा धार्मिक स्थलको रुपमा विकास गर्न सकेमा यसको पहिचान समेत लोप नहुने कतिपय बताउँछन् ।
उक्त क्षेत्रसम्म पुग्नका लागि स्थानीय सरकार प्रदेसश सरकार र केन्द्रीय सरकारले गोरेटो बाटो, बस्ने व्यवस्थाका लागि भौतिक संरचना, खानेपानी र शौचालयको व्यवस्था गरिदिन माग गरेका छन् । बडिमालिका र त्रिवेणी पाटनलाई पर्यटकीय स्थलको रुपमा केन्द्रीय सरकारले घोषणा गर्नु पर्ने त्यहाँ पुग्ने भक्तजनहरुको माग छ ।