प्राचीन कालको द्वापर युगमा भएको कौरव र पाण्डवबिचको महाभारतको युद्धको चर्चा सुन्दा अहिले पनि मानिसहरु जिब्रो टोक्ने गर्दछन् । दुर्योधनले षडयन्त्र गरेर ५ पाण्डव पक्षको सर्वस्वहरण गरिदिएपछि आफ्नो राज्य फिर्ता लिने पाण्डव पक्षको प्रयासमा छेडिएको महाभारत युद्धमा थुप्रै धनजनको बिनास हुनुका साथै कौरव पक्षको वंश पनि बिनास भएको थियो ।
भनिन्छ, पृथ्वीमा प्राचीनकालदेखि हालसम्म साना र ठूला गरी ५ हजार पटक भन्दा बढी विनासकारी युद्धहरु भएका छन् । यसमा कतिपय युद्धहरुले मानवीय सभ्यता नै नष्ट गरेका थिए । मानव समाजमा व्यक्तिगत स्वार्थको जन्म भएदेखि नै द्वन्द्वको पनि सिर्जना भएको मानवशास्त्रीहरुले स्वीकारेका छन् । दार्शनिक कार्ल मार्क्सको विचारमा निजी सम्पति नै द्वन्द्वको कारण हो । यता सिद्धार्थ गौतमले पनि तृष्णा नै दुःखको कारण हो भनेका छन् ।
मानिसमा निजी सम्पतिको आशक्ति बढेपछि द्वन्द्वको सिर्जना हुने गर्दछ । अनि यसले ठूलो बिनासकारी रुप धारण गर्दछ । मानव समाजमा रहेका अमानवीय प्रवृतिले टाउको उठाएपछि मानवीय समाजमा अशान्तिले जन्म दिन पुग्दछ । यस प्रकारको असमझदारीले संस्थागत रुप धारण गर्दा यसले ठूला युद्धहरुको रुप धारण गर्न पुग्दछ । आधुनिक युग सुरु भएदेखि ई.स. १९१४ को २८ जुलाईमा अष्ट्रियाले सर्भियामाथि आक्रमण गरेपछि प्रथम विश्वयुद्धको प्रारम्भ भएको थियो । जुन मानवीय इतिहासमा भयानक बिनासकारी सावित भयो । जसका कारण जर्मन सम्राट कैजर विलियमले गद्दी छोडेर भाग्न पर्यो ।
साम्राज्यवादी होडबाजीका कारण भएको विश्वयुद्धले शक्ति राष्टहरुबिचको प्रतिष्पर्धालाई नै तिब्र बनाइदियो । र विश्वमा औपनिवेसिक क्षेत्रहरुको विस्तारमा झन् बढावा दिने काम गर्यो । झण्डै ८ लाख भन्दा बढी मानिसहरुले ज्यान गुमाउन परेको थियो भने ५८ हजार ५ सय करोड रुपैयाँको खर्च भएको थियो । विश्वको व्यापार व्यवसायमा पनि यत्तिकै नोक्सान पुर्याएको थियो । यसैगरी सेप्टेम्बर १, १९३९ मा जर्मनी शासक हिटलरको फौजद्धारा पोल्याण्डमाथि हमला गरेपछि सुरु भएको दोस्रो विश्वयुद्ध पनि उत्तिकै बिनासकारी सावित भयो ।
दोस्रो विश्वयुद्ध कालमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा खसालेको फ्याट म्यान र लिटिल ब्वाए नामका आणविक बमले लाखौं जापानीहरु मारिए । प्रथम र दोस्रो विश्वयुद्धपछि विश्वमा आर्थिक, राजनीतिक, भौगोलिक र साँस्कृतिक रुपमै ऐतिहासिक परिवर्तनहरु भए । प्रथम विश्वयुद्ध पछि रुसमा अक्टोबर क्रान्ति सम्पन्न भएको थियो भने दोस्रो विश्वयुद्धपछि विश्वका साम्राज्यवादी देशहरुको आकार परिवर्तन भई राष्ट्रहरुले स्वाधीनता प्राप्त गरेका थिए ।
युद्धले ल्याएको सकारात्मक र नकारात्मक दुवैखाले परिणामबाट वर्तमान विश्व परिवेश पनि प्रभावित भएको छ । विश्वमा हाल देखिएका कतिपय बिमतीहरु पहिलो र दोस्रो विश्वयुद्धमा रोपिएका विषयहरुबाट नै विकासहुँदै आएका हुन् । शक्ति राष्ट्रहरुबीचको आर्थिक, राजनैतिक, साँस्कृतिक र कुटनैतिक प्रतिष्पर्धाहरुकै कारण उब्जिएका समस्याहरुबाट वर्तमान विश्व पनि अशान्त बन्न पुगेको हो ।
विगतमा सोभियत संघको नेनृत्वमा रहेको ‘वार्सा प्याक्ट’ र अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक गठबन्धनबीचको द्वन्द्वले विश्वलाई गाँजेको थियो । सन् १९९० मा सोभियत संघको विघटनसँगै ‘वार्सा प्याक्ट’ पनि निष्कृय हुन पुगेपछि विश्वमा अमेरिकी नेतृत्वको ‘नेटो’को एकलौटी दादागिरी कायम छ । सोभियत संघबाट विघटित गणराज्यले आफूलाई पुनः शक्ति राष्ट्रको रुपमा विकसित गर्न थालेपछि अमेरिका निकट शक्तिहरुले रुसको राष्ट्रिय सुरक्षामाथी षडयन्त्रपूर्वक धावा बोल्ने कामका तिब्रता ल्याएको थियो ।
सोभियत संघबाट विघटित भएका कतिपय रुसका वरिपरीका मुलुकलाई नेटोको सदस्यता प्रदान गरेर रुस विरुद्ध परिचालित गरिरहेको घटनाले रुसलाई धक्का लाग्नु स्वभाविकै थियो । त्यसकार पनि रुसले आफ्नो देशको रक्षाको लागि कतिपय अप्रिय कदम चाल्न बाध्य भएको छ । हाल देखिएको युक्रेनमाथीको रुसको आक्रमण पनि नेटोको गलत हर्कतबाट सिर्जना भएको परिणाम नै हो ।
अमेरिकाले चीनको हकमा पनि यस्तै हर्कतहरु गरिरहेको छ । तिब्बती शरणार्थीलाई चीन विरुद्ध उचालेर चीनको राष्ट्रिय सुरुक्षामा खतरा पैदागर्ने काम अमेरिकाले गर्दै आएको छ । जसका कारण दक्षिण एसियामा नै युद्धको बादल मडारिन थालेको हो ।
अमेरिकाले विश्वमा विकसित साम्राज्यवादी शक्तिहरुको हस्तक्षेपकारी गतिविधिको कारण हरेक क्षेत्रलाई विषक्त बनाउने काम गरिरहेको छ । साम्राज्यवादी देशहरु आफ्नै तरिकाले प्रगति गर्दै अघि बढिरहेका देशहरुलाई मुख्य शत्रु मान्दछन् । अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धनका देशहरुले विश्वका परिवर्तनकारी आन्दोलनहरुमा बाधा खडा गर्ने काम गर्दै आएका छन् ।
आफ्नो प्रभुत्वलाई कायम राख्न र बढाउन साम्राज्यवादी देशहरु र तिनका मातहतका बहुराष्ट्रिय कम्पनीहरुद्धारा विश्वयापीरुपमा हस्तक्षेप, औपनिवेसिक युद्ध, आतंकवादी कार्यहरु, षडयन्त्र, राजनीतिक गुटहरुको गठन, सिआइए तथा अरु पश्चिमा गुप्तचर संस्थाका एजेन्टहरुद्धारा नेताहरुको हत्या, राष्ट्रिय तथा जातीय कलहहरु सल्काउने तथा सामाजिक द्वन्द्वहरु सिर्जना गर्न पैसाको दुरुपयोग गर्ने जस्ता हरेक प्रकारका दुष्कार्यहरु गरिरहेका छन् ।
हाल विश्वमा चलिरहेका युद्धहरुमा पनि अमेरिका, बेलायत, फ्रान्स लगायतका नेटो देशहरु प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न हुँदै आएका छन् । हरेक देशको प्रगतिशील शक्ति विरुद्ध प्रतिकृयावादी शक्तिहरुलाई अमेरिका लगायतका देशहरुले सघाउँदै आएका छन् । मध्यपूर्वमा प्यालेष्टिनी जनता विरुद्ध इजरायललाई, सिरीयाली जनता विरुद्ध कुर्दिसहरुलाई, रुस विरुद्ध युक्रेनलाई लडाएर युद्धमा नेटो देशहरुले हतियार बेचिरहेका छन् ।
साथै नगद पनि सहयोग गरिरहेका छन् । र युद्धलाई थप जटिल बनाइरहेका छन् । यता चीनको हकमा पनि चिनियाँ जनताको स्वाधिनताको आन्दोलनलाई थाम्न नसकेर च्याङ काइसेक भागेर शरण लिएको ताइवान चीनको अभिन्न अंग हो भन्ने जान्दा जान्दै ताइवानलाई आर्थिक तथा भौतिक सहयोग गरेर चीन विरुद्ध उकास्ने कार्य यिनै साम्राज्यवादी अमेरिका लगायतका देशहरुले गर्दै आएका छन् ।
चीनको राष्ट्रिय सुरक्षामाथी नै खतरा पैदा गर्नेगरी अमेरिकी सभामुख न्यान्सी पलोसीले चीनको चेतावनीका विरुद्ध ताइवानको भ्रमण गर्नु सरासर चीनको विरुद्ध युद्धको घोषणा हो । यो कार्य अमेरिकाले आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने उद्धेश्यले गरेको हो भन्नेमा दुईमत छैन । जसरी रुसलाई युक्रेन विरुद्धको युद्धमा फसाउन अमेरिका र नेटोका देशहरु सफल भए, त्यसरी नै चीनलाई पनि ताइवान विरुद्धको युद्धमा फसाउने अभ्यासमा अमेरिका लगायतका देशहरु लागि रहेका छन् ।
दोस्रो विश्वयुद्धपछि बेलायती साम्राज्यवादी शक्ति एसियाबाट पछि हटेपछि नै यसक्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्ने उद्धेश्यले अमेरिका यस क्षेत्रमा आएको हो । यसैबीच नेपालको पनि सन् १९४७ मा अमेरिकासित दौत्य सम्बन्ध कायम हुन गयो । दक्षिण एसियामा आफ्नो पकड बलियो बनाउन अमेरिकाले आइपीएस, एमसीसी जस्ता रणनीतिक महत्वका संस्थाहरुको जन्म दिएको छ भने अष्ट्रेलिया, जापान, अमेरिका र भारत सम्मिलित क्वाड जस्ता संगठन पनि बनाएको छ । दक्षिण एसियाको ठूलो भूगोल भएको मुलुक भारतसित अमेरिकाले आणविक सन्धि समेत गरेको छ ।
हालको विश्वमा रुस र चीन नयाँरुपमा आर्थिक र राजनीतिक शक्तिको रुपमा उदय हुँदै गरेको घटनाबाट आतंकित भएर अमेरिका र यसका सहयोगी देशहरुले विस्तारै आत्मनिर्भर बन्दै जान थालेका प्रगतिशील देशहरुलाई कसरी विकासको गतिबाट अवरुद्ध गर्न सकिन्छ भनेर रणनीतिबाट नै निर्देशित भएर यस्ता कार्यहरु गरेको कुरा सबैले बुझेका छन् । साम्राज्यवादीहरु आफना् कठपुतली देशहरुलाई सत्तामा पुर्याउन, प्रतिकृयावादी शासनलाई टिकाउन, पृथकतावादी आन्दोलनहरुलाई भड्काउन र प्रगतिशील सरकारहरु विरुद्ध अन्तरध्वंसात्मक क्रियाकलापहरु चलाउन बहुराष्ट्रिय कम्पनीहरुले एक शक्तिशाली संयन्त्र निर्माण गरेका हुन्छन् ।
जसमा तिनीहरुलाई आफ्नै प्रहरी र गुप्तचर सेवामा समावेश गरेका हुन्छन् । यिनीहरु विश्वका सबै प्रकारका प्रगतिशील आन्दोलन र सरकार विरुद्ध षडयन्त्रको तानाबाना बुनिरहेका हुन्छन् । र जे गरेर त्यस्ता शक्तिहरुलाई असफल बनाउन सकिन्छ ती सबै योजनाहरु तयार पार्न अघि बढिरहेका हुन्छन् । अहिले पनि चीन र रुस विरुद्ध साम्राज्यवादी शक्तिहरु एकमतका साथ अघि बढिरहेका छन् । हाल विश्वमा साम्राज्यवादी शक्तिद्धारा निर्माण गरिएका संस्थाहरु विश्व बैंक, बहुराष्ट्रिय कम्पनीहरु, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संघ जस्ता संस्थाहरुलाई प्रगतिशील शक्ति विरुद्ध परिचालन गरिरहेका छन् ।
जसले गर्दा प्रगतिशील शक्तिहरुलाई अलगथलग पार्न सकियोस् । अमेरिका र युरोपियन युनियन लगायतका देशहरुले नेपाललाई समेत चीन विरुद्धको गतिविधिमा संलग्न गर्नमा जोड दिएका छन् । तर नेपाली जनतामा जागेको साम्राज्यवाद विरोधी चेतना र राष्ट्रियताप्रतिको प्रेम तथा उत्तरदायी व्यवहारले गर्दा यो विषयमा अमेरिका र उसका पिछलग्गु देशहरु सफल हुन सकिरहेका छैनन् ।
नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई प्रत्यक्ष समर्थन र सहयोग गरेर नेपालको एक चीन नीतिलाई अमेरिकाले चुनौती दिँदै आएको छ । नेपाललाई चीनको सामिप्यताबाट टाढा लैजान अमेरिकीहरुले दिनरात प्रयास गरिरहेका छन् । यो कुरालाई नेपालको सत्ताधारी वर्गले गम्भीरताका साथ लिएर अमेरिकाको यो गलत उद्धेश्य पूरा हुन नदिने बाटो रोज्नुपर्दछ ।
अमेरिका अहिले विश्वमा युद्ध र अशान्तिको मुख्य स्रोत बनेको छ । इतिहासमा ल्याटिन अमेरिकी देश निकारागुवाको निर्वाचित सान्डानिस्टा सरकारलाई अपदस्त गर्न कोन्ट्रा विद्रोहीलाई सघायो । क्युवाको तत्कालीन नेता फिडेल क्यास्ट्रोको ज्यान लिने कोसिस गर्यो भने भेनेजुयलाको तत्कालीन राष्ट्रपति ह्यूगो चाभेजको हत्या गर्न विषको प्रयोग गर्यो । इराक र अफगानिस्तानमा सिधै सैनिक आक्रमण गर्यो । सिरियालाई द्वन्द्वमा फसाउन षडयन्त्र गर्यो । लिवियाका राष्ट्रपति कर्णेल गद्दाफीलाई अन्यायपूर्वक मृत्युदण्ड दियो । अहिले रुस विरुद्ध युक्रेनलाई पनि सघाउँदै छ । त्यसैगरी चीनलाई युद्धमा होम्न ताइवानलाई उक्साउँदैछ ।
विश्वभरीकै प्रगतिशील क्रान्तिकारी र समाजवादी आन्दोलन र त्यसको नेतृत्व विरुद्ध हरेक प्रकारको षडयन्त्र र लगानी गरी विश्वव्यापी रुपमा प्रतिकृयावादी जनविरोधी रक्तपिपासुहरुलाई पालनपोषण गर्ने कार्य अमेरिका र उसका सहयोगी देशहरुले गरिरहेका छन् । यी दुष्कार्यहरुका फेहरिस्त धेरै लामा छन् । विश्व अहिले आणविक युद्धको खतरामा छ । शक्तिराष्ट्रहरु आणविक हतियारको होडबाजी गरिरहेका छन् । जसको कारण विश्वमा मानवजाति मात्रै होइन प्राणी जगतकै अस्तित्व खतरामा परेको छ ।
वर्तमान विश्व मानव जगतले उत्तरदायीपूर्वक साम्राज्यवाद विरुद्धको गतिविधिलाई तिब्रता नदिने हो भने विश्वमा साम्राज्यवादीहरुको हस्तक्षेपकारी प्रवृतिको दादागिरीको तान्डव नृत्यले विश्व मानव जातिलाई हाहाकार बनाउनेछ । विश्वभरीकै प्राकृतिक साधन स्रोतका मालिक शक्तिराष्ट्रका केही धनाढ्य परिवार मात्रै हुनेछन् । जसका कारण विश्वव्यापी रुपमा अभाव र गरिवी बढ्नेछ । यो अवस्था विश्कै लागि दूर्भाग्यपूर्ण हुनेछ भन्ने सन्देश जनस्तरमा पुर्याउनु आवश्यक रहेको छ र साम्राज्यवादी खुनी कदमलाई रोक्न जनस्तरबाट नै प्रयास अघि बढाउन जरुरी भइसकेको छ ।
अमेरिकाले आज लोकतन्त्र र मानव अधिकारको संरक्षणको विश्वव्यापी ढोल पिटिरहेको छ । लोकतन्त्र र मानव अधिकार आफ्नो सरोकारको विषय हो भन्दै आफ्ना विरोधीहरुलाई आतंकवादी करार गरी विश्वभरीका प्रगतिशील शक्तिहरुलाई दमन गर्ने गरिरहेको छ । मानव अधिकारको संरक्षणको नाममा अमेरिकाले विश्वभरी नै अलोकतान्त्रिक र अमानवीय कार्यहरु गरिरहेको छ ।
आफ्नो पक्षमा नलाग्ने र आफ्नो कदमको विरोध गर्ने जो कोहीलाई भौतिकरुपमै आक्रमण गरेर सिध्याइदिने काम पनि अमेरिकाले गर्दै आएको छ र गरिरहेको छ । विश्वव्यापी रुपमा प्राकृतिक साधनमाथि प्रभुत्व जमाउने र विश्वकै नेतृत्व गर्ने साम्राज्यवादी उद्धेश्य पूरा गर्न अमेरिका र नेटो पक्षका देशहरु लागिरहेका छन् । यो विश्वभरीकै प्रगतिशील जनताको निम्ति घातक कुरा हो । यसको विरुद्ध विश्वव्यापी रुपमा आवाज उठाउन आवश्यक छ ।
यो देशभक्त, प्रगतिशील र क्रान्तिकारीहरुको अबको मुख्य कार्यभार हो । अमेरिकाले सदियौंदेखि विश्वव्यापीरुपमा हत्या, हिंसा, लुट, आतंक, षडयन्त्र र युद्ध भड्काउने कार्यहरु गर्दै आएको छ । उसको योजना विश्वव्यापीरुपमा देशभक्त, प्रगतिशील शक्तिहरु विरुद्ध विनासकारी घटनालाई ठोसरुपमा प्रदान गर्नु नै हो । अमेरिकाको नेतृत्वमा नेटोका देशहरुको खास उद्धेश्य विश्वका गरिव र विकासोन्मुख देशहरुको प्राकृतिक साधन र स्रोतको दोहन गर्नु र विश्वव्यापी रुपमा आतंकवादी गतिविधिलाई बढावा दिनु तथा विश्वका विभिन्न मुलुकहरुमा धार्मिक, जातीय र पृथकतावादी आन्दोलनहरु सिर्जना गरेर त्यस्ता शक्तिहरुलाई हतियार उपलब्ध गराउने हो ।
जसका कारण यस्ता मुलुकहरुमा आर्थिक, राजनीतिक, सामाजिकरुपमा अस्थिरता पैदा भइरहोस् । र यस्तै घटनाहरुलाई आधार बनाएर साम्राज्यवादी खुनी पञ्जा उक्त स्थानहरुमाथी फिँजाउन सकियोस् । विश्वमा उत्पन्न यस्तै दंगाको आगोमा घिऊ थप्ने र त्यसप्रकारका दंगाहरुलाई उत्कर्षमा पुर्याएर त्यस मुलुकलाई तहसनहस बनाउने काम अमेरिका लगायतले गर्दै आएका छन् ।
यस्तै समस्याको समाधानका लागि सहयोगको नाममा त्यस्ता देशहरुमा आर्थिक, राजनीतिक स्वार्थसिद्ध गर्ने र आफ्नो उपनिवेस खडा गर्ने कार्यलाई मुर्तरुप प्रदान गर्ने गर्दछ । साम्राज्यवादी शक्तिले विश्व मानवलाई शान्तिको सास फेर्न कहिल्यै दिँदैन । त्यसैले यस्ता शक्ति विरुद्धको संघर्षलाई अझ तिब्र बनाउनु पर्दछ ।